
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्नेमा जोड दिएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अव्यवस्थित बस्ती हटाउने बहानामा गरिएको बल प्रयोगका कारण सर्वसाधारणको ज्यान समेत गएको बताए।
नेता आङ्देम्बेले सरकार अभिभावकीय भूमिकामा रहनुपर्ने औँल्याए।
विद्यालयमा डोजर लगाउँदा सयौँ विद्यार्थीको भविष्य अन्योलमा परेको उल्लेख गर्दै उनले सरकारलाई मानवीय संवेदनशीलता अपनाउन आग्रह गरे। सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट नीति, प्रक्रिया र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
मुलुकलाई व्यवस्थित र सुन्दर बनाउने विषयमा प्रतिपक्षको कुनै विमति नरहेको स्पष्ट पार्दै नेता आङ्देम्बेले भने, ‘हाम्रा खोलानाला र राजधानी सुन्दर बनोस् भन्ने सबैको साझा चाहना हो, तर राज्य सञ्चालनको शैली लोकतान्त्रिक हुनुपर्छ।’
बल प्रयोगमार्फत गरिने व्यवस्थापनले नागरिकमा त्रास सिर्जना गर्ने र त्यसले विद्रोह निम्त्याउन सक्ने चेतावनी उनले दिए।
सरकारले जनमतको विश्वास नगरेर संसद्लाई बन्धक बनाएको र अध्यादेशमार्फत चोर बाटोबाट देश चलाउन खोजेको आरोप उनले लगाए।
‘चोर बाटोबाट हिँड्नेहरूले मुलुकलाई दिगो शान्ति र विकासतर्फ डोर्याउन सक्दैनन्,’ उनले भने।
जेठ १५ गते बजेट ल्याउनुपर्ने र नीति तथा कार्यक्रममा छलफल गर्नुपर्ने समयमा संसद्लाई निष्क्रिय राख्न नहुनेमा उनले जोड दिए।









प्रतिक्रिया