
काठमाडौं । व्यवसायी विष्णु अग्रवालको एमएडब्लू हायर पर्चेजले १ रुपैयाँ पुँजी राखेर ४.२८ रुपैयाँ ऋण चलाइरहेको पाइएको छ । यामाहा मोटरसाइकल, हेभि इक्विपमेन्ट जेसीबी तथा स्कोडा, जिप जस्ता विश्वप्रशिद्ध र दीपाल, नामी, सेरेस जस्ता विवादित चिनियाँ ब्रान्ड बेचेर आफूलाई गाडी व्यापारीका रुपमा पहिचान बनाएका अग्रवालको हायर पर्चेज कम्पनीले व्यापार निरन्तर बढाए पनि उच्च ऋणका कारण कम्पनी आर्थिक दबाबमा पर्ने देखिएको हो ।
अग्रवालको एमएडब्लू हायर पर्चेज सवारी साधन र विद्युतीय सामाग्री खरिदमा फाइनान्सको सुविधा दिँदै आएको छ । तर, यो कम्पनी आफ्नो व्यवसाय विस्तार गर्न आफ्नै पैसाभन्दा बैंकहरूबाट लिएको ऋणमा बढी भर परेको देखिन्छ । सन् २०२४ अक्टोबरमा कम्पनीको गियरिङ २.९ गुणा रहेकोमा २०२५ अक्टोबरसम्म आइपुग्दा यो बढेर ४.३ गुणा पुगेको छ । यसको अर्थ के हो भने, कम्पनीले १ रुपैयाँ आफ्नो पुँजी राखेर ४.२८ रुपैयाँ ऋण चलाइरहेको छ । यदि बजारमा ब्याजदर बढ्यो वा असुलीमा समस्या आयो भने यस्तो उच्च ऋणले कम्पनीलाई आर्थिक दबाबमा पार्न सक्छ ।
कम्पनीले गत वर्षमै करिब ४८ प्रतिशत र चालु आवको ३ महिनामा थप ३४ प्रतिशतले आफ्नो लगानी (पोर्टफोलियो) बढाएको छ । जब कुनै कम्पनीले यति छिटो ऋण लगानी बढाउँछ, सुरुवाती चरणमा खराब कर्जा कम देखिन सक्छ । नयाँ ऋणहरू तुरुन्तै खराब नहुने भएकाले कम्पनीलाई भावी दिनमा थप जोखिम बढ्ने देखिएको छ । भर्खरै लगानी गरिएको यो ठूलो रकम (विशेषगरी मोबाइल र कमर्सियल गाडीमा) भविष्यमा कसरी असुल हुन्छ भन्ने कुरा अग्रवालको कम्पनीका लागि मुख्य चुनौतीको रूपमा देखिन्छ ।
पछिल्लो समयको पोर्टफोलियो विस्तारका कारण पनि कम्पनीको गियरिङ रेसियो बढेको हो ।
यता कम्पनीले फाइनान्स गर्ने ग्राहकहरू प्रायः त्यस्ता हुन्छन् जसको आम्दानीको स्रोत अलि अस्थिर हुन सक्छ वा जसलाई ठूला वाणिज्य बैंकहरूले सजिलै ऋण दिँदैनन् । विशेषगरी दुई पांग्रे सवारी र मोबाइल फोन लिने ग्राहकहरूको आर्थिक अवस्था सानातिना आर्थिक उतारचढावले पनि प्रभावित हुन सक्छ । यसले गर्दा कर्जा नउठ्ने जोखिम सधैं अग्रवालको कम्पनीमा रहन्छ ।
यता विकास बैंक र वित्त कम्पनीहरूको तुलनामा हायर पर्चेज कम्पनीहरूलाई ब्याजदर अन्तरमा कम सीमा तोकिएको छ । यसले गर्दा कम्पनीले धेरै नाफा कमाउन सक्ने क्षमता सीमित हुन्छ ।
कम्पनीको सम्पत्ति र दायित्वको सन्तुलन मिलाउने प्रक्रिया अझै पूर्णरूपमा परिपक्व भइनसकेका कारण भविष्य थप जोखिमपूर्ण देखिन्छ । कम्पनीले कति अवधिको लागि ऋण लिएको छ र कति अवधिको लागि ग्राहकलाई ऋण दिएको छ भन्ने कुराको ग्याप एनालाइसिस अझै सुधार गर्नुपर्ने देखिएको छ । यदि यो सन्तुलन मिलेन भने भविष्यमा कम्पनीलाई तरलताको समस्या पर्न सक्ने रेटिङ एजेन्सी इक्राले जनाएको छ ।
एमएडब्ल्यू हायर पर्चेजले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा ४५ करोड २० लाख रुपैयाँ, सन् २०२४ मा ४३ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ४४ करोड रुपैयाँको व्यापार गरेको थियो । सन् २०११ मा स्थापना भएको कम्पनी नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त कम्पनी हो । एमएडब्ल्यू ग्रुपद्धारा सञ्चालित कम्पनीले सवारी साधन तथा विद्युतीय सामाग्रीको खरिदका लागि फाइनान्सको सुविधा दिँदै आएको छ ।
कम्पनीले चालु आवको तीन महिना अन्त्यमा हुँदा ४ अर्ब १ करोड २० लाख रुपैयाँ पोर्टफोलियोको व्यवस्थापन गरेको छ । सन् २०२५ सम्म ३ अर्ब ६९ करोड ३० लाख रुपैयाँ मात्रै पोर्टफोलियो व्यवस्थापन गरेको थियो । त्यसैगरी, कम्पनीले चालु आवको तीन महिनाको अन्त्यसम्म ४ अर्ब १० करोड ९० लाख रुपैयाँको कुल सम्पत्ति व्यवस्थापन गरेको छ । गत आवसम्म ३ अर्ब ७७ करोड ५० लाख रुपैयाँको सम्पत्ति व्यवस्थापन गरेको थियो ।
कम्पनीका अनुसार गत आवमा ४८ प्रतिशतलले पोर्टफोलियो वृद्धि भएकामा चालु आवको तीन महिनाको अवधिमै ३४ प्रतिशतले बढिसकेको छ । गत आवमा उक्त पोर्टफोलियो ४८ प्रतिशतले वृद्धि भएको थियो । कम्पनीले ऋण सञ्चालन विस्तार गर्दा पोर्टफोलियोको आकार बढेको उल्लेख छ ।
कम्पनीले चालु आवमा व्यवस्थापन गरेको पोर्टफोलियोमा सबैभन्दा बढी हिस्सा दुई पाङ्ग्रे सवारी साधनको छ । जसमा यामाहा र रोयल इन्फिल्ड ब्रान्डको सवारी साधनको हिस्सा बढी देखिएको छ । तीन महिनाको अवधिमा दुई पाङ्ग्रे सवारी साधनमा ४६ प्रतिशत पोर्टफोलियोको हिस्सा रहेको छ । गत आवमा ३६ प्रतिशत मात्रै थियो । गत आवमा मोबाइफोनको हिस्सा बढिरहेको कम्पनीको भनाइ छ ।
पोर्टफोलियोको आकार उल्लेख्य बढिरहेकामा त्यसको गुणस्तर पनि कमजोर छ । कम्पनीको निष्क्रिय कर्जा १.९५% छ । त्यसवातप प्रोभिजनिङ गरेपछिको खुद निष्क्रिय कर्जा भने ०.०७% मात्र देखिन्छ ।
यता नेट इन्ट्रेस्ट मार्जिन चालु आवको पहिलो त्रैमासमा ७.२६% छ ।
कम्पनीले प्रवाह गर्ने कर्जाको औसत आकार १ लाख ४० हजार रुपैयाँ छ । यसले कम्पनीको जोखिम थोरै पोर्टफोलियो मान्छेमा केन्द्रित नभई धेरै साना ग्राहकहरूमा बाँडिएको छ । कम्पनीको कुल पोर्टफोलियोको करिब २०% हिस्सा बैंक ग्यारेन्टी वा नगद ग्यारेन्टीले सुरक्षित गरिएको छ । बाँकी ८० प्रतिशत पोर्टफोलियोको ग्यारेन्टी नागरिकता वा सवारी आफैं रहेकाले विष्णु अग्रवालको यो कम्पनीमा जोखिम देखिन्छ । मोबाइल फोन फाइनान्स (विशेषगरी साओमी ब्रान्ड) मा भने प्रविधिमा आधारित नियन्त्रण गर्ने गरेकाले यो क्षेत्रमा प्रवाह भएको फाइनान्स कम जोखिमपूर्ण छ ।
एमएडब्लू हायर पर्चेजमा एमएडब्ल्यू इन्टरप्राइजेजको ४० प्रतिशत, एमएडब्ल्यू अर्थमुभरको ३० प्रतिशत, विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रनानाथ भट्टराईको ०.५ प्रतिशत स्वामित्व छ । विष्णुकुमार अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ८९ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ७७ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १२ करोड रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले यसअघि २ अर्ब ७९ करोड रुपैयाँको रेटिङ गराएकामा कर्जा थप बढाउन लागेको हो । जोखिमका बीच कम्पनीले ऋण थप्न लागेको हो ।








प्रतिक्रिया