
काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छाविरूद्ध अनुसन्धान गर्न थप ३ दिनको म्याद दिएको छ ।
अदालतले बिहीबार गोल्छालाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो।
व्यवसायी गोल्छा वैशाख १० गते पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्छालाई नक्सालबाट पक्राउ गरेको थियो ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा सीआईबीले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई पक्राउ गरेसँगै अदालतबाट पहिलो पटक ४ दिनका लागि म्याद पाएको थियो । त्यसपछि गत सोमबारलाई पुन: गोल्छामाथि अनुसन्धानका लागि थप ३ दिनको अनुमति अदालतले दिएको थियो ।
पक्राउ परेपछि गोल्छाको रिहाइको माग गर्दै उनकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिटसमेत दायर गरेकी थिइन्।
मंगलबारको इजलासले रिहाको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना पाएको मितिले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । तर, बुधबार न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको थियो भने बिहीबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी तोकिए पनि उक्त मुद्दा हेर्न नमिल्नेमा परेको छ ।
हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा १ र दफा ९८ बमोजिम कसुरमा उक्त ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्यूरोमा प्राप्त भएपछि वैशाख १० गते काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि गोल्छालाई पक्राउ थियो ।
के हो आरोप ?
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको सेयर कारोबारको विषयमा सहयोग गरेको अभियोगमा गोल्छालाई प्रहरीले पक्राउ गरेको हो ।
हिमालय रि इन्स्योरेन्सको रकम दुरुपयोग गरि दीपक भट्ट, सुलभकी श्रीमती सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरको व्यक्तिगत नाममा सेयर किनेर त्यसलाई राफसाफ गर्ने कार्यमा सहयोग गरेको आरोप गोल्छामाथि नेपाल धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले लगाएको थियो ।
गोल्छा हिमालयन रि इन्स्योरेन्सका तत्कालीन अध्यक्ष हुन् । हिमालय रि इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ बक्यौता रहेको अनुसन्धानमा देखिएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)को ‘दिपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ले दीपक भट्टलाई गैरकानुनी काम गर्न गोल्छाले सहयोग गरेको भनेर उल्लेख गरेको थियो । ‘शेखर गोल्छा, रोहित गुप्ता, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रि, हिमालयन क्यापसर्वले भृकुटी स्टकबाट रकम लिन बाँकी भएको अवस्थामा समेत थप रकम जम्मा गरेको तथा धितोपत्र बिक्री बापतको रकम नलिएको देखिन्छ,’ धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनमा भनिएको छ ।









प्रतिक्रिया