
एजेन्सी । ४० दिन चलेको अमेरिका इरान युद्धका क्रममा ठूलो धनराशी खर्च भएको पाइएको छ ।
अमेरिकाको हाउस आर्म्ड सर्भिसेज कमिटीको सुनुवाइका क्रममा अमेरिकी रक्षा विभाग (पेन्टागन) ले इरानसँगको युद्धमा हालसम्म भएको खर्चको जानकारी दिएको छ ।
कमिटीमा डेमोक्रेट सदस्य एडम स्मिथले इरानसँगको युद्धमा अहिलेसम्म अमेरिकाको कति खर्च भएको छ र सांसदहरूलाई छिट्टै पूर्ण लागतको अनुमान दिइनेछ कि दिइने छैन भनेर प्रश्न गरेका थिए ।
सुनुवाइमा उपस्थित पेन्टागनका वित्त प्रमुख जुल्स हर्स्टले यो खर्च ‘झण्डै २५ अर्ब डलर’ (करिब ३८ खर्ब नेपाली रुपैयाँ) रहेको बताएका छन्, जसमा अधिकांश खर्च हतियारमा भएको छ ।
‘तपाईंले यो प्रश्नको उत्तर दिनुभएकोमा म खुशी छु, किनकि हामीले लामो समयदेखि यो सोधिरहेका थियौं र कसैले पनि हामीलाई यो तथ्यांक दिएको थिएन,’स्मिथले भने ।
त्यसपछि उनले रक्षा मन्त्री पीट हेगसेथसँग सरकारले इरानसँग सम्बन्धित आणविक खतरा कसरी अन्त्य गर्ने योजना बनाएको छ भनेर सोधे।
हेगसेथले अघिल्ला सरकारहरूले ‘खराब सम्झौता’ गरेको आरोप लगाउँदै सन् २०१६ मा तत्कालीन राष्ट्रपति बराक ओबामाको समयमा भएको ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्शन (जेसीपीओए) को उल्लेख गरे, जसलाई इरान आणविक सम्झौता पनि भनिन्छ ।
यसमा स्मिथले आपत्ति जनाउँदै भने, ‘त्यो अतीत हो, भविष्य के हो ?’ उनले कुनै तत्कालीन आणविक खतरा रहेका कारण कारण इरानसँग युद्ध आवश्यक भएको हो भनेर प्रश्न गरे । हेगसेथले इरानले ‘आफ्नो आणविक कार्यक्रमको महत्वाकांक्षा त्यागेको थिएन,’ त्यसैले अमेरिकाले इजरायलसँग मिलेर कारबाही गरेको बताए ।









प्रतिक्रिया