
काठमाडौं । जगदम्बा इन्टरप्राइजेजको व्यापार १० करोड रुपैयाँले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १० करोड रुपैयाँले घटेको हो ।
कम्पनीले सन् २०२४ मा १४ अर्ब ६९ करोड रुपैयाँको कारोबार गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले १४ अर्ब ५९ लाख ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १५ अर्ब ६ करोड रुपैयाँको व्यापार गरेको थियो ।
गत आवमा निर्माण क्षेत्रमा आएको सुस्तताले मागमा कमी आएको छ । साथै, मूल्य पनि घटेको कारणले केही मात्राले कारोबार घटेको छ । कम्पनीको नाफा मार्जिन २०२४ मा ९.०५ प्रतिशतबाट घटेर गत आवमा ६.४२ प्रतिशतमा सीमित भएको छ ।
सन् २००१ मा स्थापना भएको कम्पनीले स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ । एम एस ब्ल्याक एन्ड ग्याल्भनाइज्ड पाइप उत्पादन उद्योग रहेको कम्पनीले २० वर्षदेखि स्टिलजन्य सामग्रीको कारोबार गर्दै आएको छ । कम्पनीले सन् २०२२ देखि स्टिल मेल्टिङ र सन् २०२३ देखि हट स्ट्रिप मिलबाट कारोबार सुरु गरेको थियो । उक्त उद्योग सञ्चालन गर्नका लागि २ अर्ब २४ करोड ६१ लाख रुपैयाँ खर्च भएको थियो । कम्पनीले गत आवमा गरेको कारोबारमध्ये ९१ प्रतिशत हिस्सा कच्चा पदार्थको छ ।
कम्पनीको दैनिक कारोबार निर्देशक अनिलकुमार रुंगटा र विशाल पाटवरीले हेर्दै आएका छन् । कम्पनीले डण्डी, एमएस ब्ल्याक पाइप, ग्याल्भनाइज्ड आइरन पाइप, हट रोल्ड स्ट्रिप्स, सटर प्रोफाइल, सटर गाइड, सटर स्ट्रिङ, लक प्लेट, प्रिफ्याब्रिकेटेड बिल्डिङ कम्पोनेन्ट, डब्ल्यू बम र अन्य विभिन्न स्टिल पोल उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको सामग्री जगदम्बा र जागशक्ति ब्रानडमा बिक्री वितरण गर्दै आएको छ ।
९ लाख २० हजार ६ सय मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १५ अर्ब ८० करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १३ अर्ब ९२ करोड रुपैयाँको रेटिङ गराएको हो ।
जगदम्बा इन्टरप्राइजेज शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल र कांग्रेस नेतासमेत रहेका व्यवसायी अनिल रुंगटाको मुख्य लगानी छ। कम्पनीमा अग्रवालको ४० प्रतिशत र रुंगटाको २४ प्रतिशत लगानी छ । कम्पनीका अन्य सेयरधनीहरु रेणु अग्रवाल, क्याम्पर फाइनान्स (भारत) र रमेश अग्रवाल हुन् ।
सुलभ यतिबेला सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा प्रहरी थुनामा छन् ।









प्रतिक्रिया