व्यवसायी गोल्छाको मुद्दा हेर्न नभ्याइनेमा

679
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याइनेमा परेको छ।

बुधबार न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

यसअघि मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको थियो ।

गोल्छाको पक्षबाट उनकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

मंगलबारको इजलासले रिहाको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना पाएको मितिले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

यसअघि सोमबार काठमाडौं जिल्ला अदालतले गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

गोल्छालाई सीआईबीको टोलीले वैशाख १० गते नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।

नेपाल धितोपत्र बोर्डले को प्रतिवदेनका आधारमा व्यवसायी दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३मा जोडिएपछि गोल्छा पक्राउ परेका हुन् ।