सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा सुधार, ९ महिनामा ४८ करोड खुद नाफा

77
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आव २०८२/८३ को तेस्रो त्रैमास अन्त्यसम्म ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत आवको भन्दा २ करोड रुपैयाँ बढी नाफा गरेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र खुद फि एन्ड कमिसन बढेका छन् । यसैगरी नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम पनि घट्दा बैंकको नाफा बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६२ करोड र खुद फि एन्ड कमिसन आम्दानी १८ करोड रुपैयाँ छ । यता गत आवको चैत मसान्तसम्म २५ करोड रुपैयाँ प्रोभिजन गरेको बैंकले चालु आवको सोही अवधिमा मात्रै १८ करोड रुपैयाँ प्रोभिजन गरेको हो ।

नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ ।
चैत मसान्तको तथ्यअनुसार बैंकले ५५ अर्ब ११ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५४ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

९ महिनामा गरेको नाफाबाट नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा १९ करोड ७० लाख छ । यो सञ्चित नाफाका आधारमा बैंकको वार्षिकीकरण गरिएको लाभांश क्षमता ७.०४ प्रतिशत हुन्छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा ४.९७ बाट बढेर ७.८७ प्रतिशत, बेसरेट घटेर ५.७६ प्रतिशत, ब्याजदर स्प्रेड पनि घटेर ४.३२ प्रतिशत पुग्दा आरओई ११.०९ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा र पीई रेसियो २४.५७ गुणा कायम भएको छ ।