महालक्ष्मी विकास बैंकको नाफा २ करोडले बढ्यो

126
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा आव २०८२/८३ को चैत मसान्तसम्म २ करोड रुपैयाँ बढी नाफा गरेको विवरण प्रकाशन गरेको हो ।

महालक्ष्मी विकास बैंकले आव २०८१/८२ को तेस्रो त्रैमास अन्त्यसम्म ४३ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेकामा आव २०८२/८३ को चैत मसान्तसम्म ४५ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र खुद फि एन्ड कमिसन बढेका छन् । तर, नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी १० करोडले बढेर १ अर्ब ६३ करोड र खुद फि एन्ड कमिसन आम्दानी ३ करोडले बढेर १८ करोड रुपैयाँ छ । यता गत आवको चैत मसान्तसम्म २६ करोड रुपैयाँ प्रोभिजन गरेको बैंकले चालु आवको सोही अवधिमा ३३ करोड रुपैयाँ प्रोभिजन गरेको हो ।

नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ ।

चैत मसान्तको तथ्यअनुसार बैंकले ५३ अर्ब २२ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४२ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले निक्षेप घटाएर कर्जा विस्तार गरेको हो ।

९ महिनामा गरेको नाफाबाट नियामकीय समायोजन पछि बैंकको वितरणयोग्य नाफा १० करोड ९९ लाख छ । यो सञ्चित नाफाका आधारमा बैंकको वार्षिकीकरण गरिएको लाभांश क्षमता ३.२५ प्रतिशत हुन्छ ।

महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा ४.९९ प्रतिशतबाट बढेर ६.५९ प्रतिशत, बेसरेट घटेर ५.८३ प्रतिशत, ब्याजदर स्प्रेड पनि घटेर ४.२४ प्रतिशत पुग्दा आरओई ८.५२ प्रतिशत, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ १ पैसा र पीई रेसियो २७.६१ गुणा कायम भएको छ ।