वाणिज्य बैंक बन्ने तरखरमा रहेको मुक्तिनाथको नाफा ९४ करोड, ३ वाणिज्य बैंकभन्दा धेरै

3.7k
Shares

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा मुक्तिनाथ विकास बैंकले ९४ करोड २६ लाख रुपैयाँ नाफा गरेको छ । वाणिज्य बैंक बन्ने प्रक्रियामा रहेको मुक्तिनाथले २२ करोड रुपैयाँ बढी नाफा कमाएको हो ।

बैंकको मुख्य आम्दानीका रूपमा रहेको खुद ब्याज आम्दानी बढे पनि खुद फी एण्ड कमिसन भने घटेको छ । यता नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम पनि घट्दा बैंकको नाफा बढेको हो ।

आव २०८२/८३ को चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ४४ करोड र खुद फी एण्ड कमिसन आम्दानी ३९ करोड रुपैयाँ छ । यता गत आवको चैत मसान्तसम्म १ अर्ब २३ करोड रुपैयाँ प्रोभिजन गरेको बैंकले चालु आवको सोही अवधिमा मात्रै ९२ करोड रुपैयाँ प्रोभिजन गरेको हो ।

नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७१ पैसाबाट बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ ।

९ महिनामा बैंकले निक्षेप करिब १ अर्बले बढाएर १ खर्ब १८ अर्ब ११ करोड र कर्जा पौने २ अर्बले बढाएर ९८ अर्ब २२ करोड रुपैयाँ पुर्‍याएको छ ।

९ महिनामा गरेको नाफाबाट नियामकीय समायोजन पछि बैंकको वितरणयोग्य नाफा ३७ करोड हुँदा गत आवसम्मको रिटेन्ड अर्निङका आधारमा कुल सञ्चित नाफा करिब ४४ करोड रुपैयाँ रहेको छ । यो सञ्चित नाफाका आधारमा बैंकको वार्षिकीकरण गरिएको लाभांश क्षमता ७.०१ प्रतिशत हुन्छ ।

मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा केही बढेर ४.८८ प्रतिशत, बेस रेट घटेर ५.८३ प्रतिशत, ब्याजदर स्प्रेड पनि घटेर ४.४८ प्रतिशत पुग्दा आरओई १०.३८ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा र पीई रेसियो २४.१३ गुणा कायम भएको छ ।