
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ९६ करोड १९ लाख रुपैयाँ नाफा गरेको बैंकले नाफा ३५.८२ प्रतिशतले बढाएको हो ।
सिटिजन्स बैंकले आम्दानीमा गरेको उल्लेख्य वृद्धि र खर्च व्यवस्थापनका कारण आफ्नो नाफामा राम्रो सुधार ल्याएको देखिन्छ । बैंकको आधार दर र निक्षेपको लागतमा गिरावट आएसँगै वित्तीय स्वास्थ्य थप सुदृढ देखिएको छ । यद्यपि, बैंकको निष्क्रिय कर्जामा भने केही दबाब देखिएको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ रहेको छ, जुन गत वर्ष ४ अर्ब ७४ करोड ९० लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानीमा सामान्य गिरावट आउँदा खुद फि एन्ड कमिसन आम्दानी पनि घटेको छ । गत आवको चैतसम्म बैंकको यस्तो आम्दानी ९३ करोड ६१ लाख रुपैयाँ रहेकामा चालु आर्थिक वर्ष ९१ करोड ७३ लाख रुपैयाँ छ । यसैगरी बैंकको सञ्चालन नाफा १ अर्ब ३३ करोड रुपैयाँबाट उल्लेख्य सुधार हुँदै १ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
बैंकले ९ महिनाको अवधिमा निक्षेप र कर्जा विस्तारमा सन्तुलित वृद्धि गरेको छ । गत असार मसान्तसम्म २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चैत मसान्तसम्म बढाएर २ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै कर्जा प्रवाह करिब स्थिर छ । असार मसान्तसम्म १ खर्ब ६८ अर्ब ८६ करोड रूपैयाँ कर्जा प्रवाह गरेकामा चैत मसान्तमा १ खर्ब ६९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको आधार दर गत वर्षको ६.६२ प्रतिशतबाट घटेर ५.२७ प्रतिशत कायम भएको छ भने निक्षेपको लागत ३.५४ प्रतिशतमा झरेको छ । यसैगरी बैंकको स्प्रेड दर गत आवको ३.८३ प्रतिशतबाट घटेर ३.५५ प्रतिशत कायम भएको छ ।
सिटिजन्स बैंकको निष्क्रिय कर्जाको अनुपात भने ५.७१ प्रतिशतबाट बढेर ६.८२ प्रतिशत पुगेको छ । जसकारण नोक्सानी व्यवस्थाका लागि १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब १६ करोड ४१ लाख रूपैयाँ नोक्सानी व्यवस्था गरेको थियो । बैंकको ‘टोटल लोन लस प्रोभिजन टु टोटल एनपीएल’ ८८.२६ प्रतिशत रहेको छ ।
नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी बढेर ११.४२ रुपैयाँ पुगेको छ, जुन गत आवमा ८.९५ रुपैयाँ थियो । बैंकको पुँजी पर्याप्तता अनुपात १२.४५ प्रतिशत, प्राथमिक पुँजी अनुपात ८.९३ प्रतिशत र सीडी रेसियो ८२.१८ प्रतिशत रहेको छ, जसले बैंकसँग थप कर्जा विस्तारका लागि पर्याप्त तरलता रहेतापनि पुँजीको दबाबले कर्जा विस्तारको क्षमता कम भएको संकेत गर्छ । बैंकको प्रतिसेयर नेटवर्थ १५५.९९ रुपैयाँ रहेको छ ।
नियामकीय समायोजन र विभिन्न कोषहरुमा छुट्याइएको रकमपछि बैंकको चालु आवको ९ महिनाको वितरणयोग्य मुनाफा ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । यद्यपि, गत आवसम्मको सञ्चित मुनाफा र लाभांश वितरणपश्चात बैंकको सञ्चित घाटा ५० करोड ४४ लाख रूपैयाँ छ । १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको लाभांश क्षमताबारे भने आगामी त्रैमासको व्यवसायले थप प्रभाव पार्ने देखिन्छ ।









प्रतिक्रिया