नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि औषधिको मूल्य बढ्छ: महानिर्देशक बस्नेत

98
Shares

काठमाडौं । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्य स्वाट्टै बढ्न सक्ने बताएका छन् ।

हाल अल्पविकसित राष्ट्रको सूचीमा रहेकाले नेपालले औषधि र खोप उत्पादन गर्दा बौद्धिक सम्पत्तिको प्याटेन्ट अधिकार लिनु नपर्ने विशेष सुविधा उपभोग गरिरहेको भए पनि भविष्यमा त्यो अवस्था नरहने उनले स्पष्ट पारे ।

महानिर्देशक बस्नेतका अनुसार स्तरोन्नतिपछि नेपालले प्याटेन्ट अधिकार भएका अन्तर्राष्ट्रिय कम्पनीहरूलाई अनिवार्य रूपमा रोयल्टी तिर्नुपर्ने हुन्छ । यसले गर्दा नेपालमै उत्पादन भइरहेका औषधिको उत्पादन लागत बढ्ने र उपभोक्ताका लागि मूल्य महँगो हुने उनले बताए। यो चुनौती औषधि क्षेत्रमा मात्र सीमित नभई अन्य थुप्रै क्षेत्रमा पनि देखिने उनको भनाइ छ।

‘मेडिसिन र भ्याक्सिनमा अहिले हामीले सुविधा पाएका छौँ । नेपालमा उत्पादन भएका औषधिहरू अहिले प्याटेन्ट नलिईकन पनि उत्पादन गर्न पाउने सुविधा हामीले एलडीसीमा रहँदा पाएका रहेछौँ,’ उनले भने, ‘अब त्यो सुविधा हामीले पाउने छैनौँ र प्याटेन्टवालालाई रोयल्टी तिरेर मात्रै उत्पादन गर्नुपर्ने हुन्छ। अब यसो गर्दा नेपालमा उत्पादन भइरहेको औषधिको मूल्य स्वाट्टै बढ्न सक्ने अवस्था छ।’

व्यापारिक सहुलियतहरू हट्दा र उत्पादन लागत बढ्दा हालको कर प्रणालीमा समेत परिवर्तन ल्याउनुपर्ने स्थिति आउने उनले बताए । नेपालले भारत र अन्य तेस्रो मुलुकसँगको व्यापारमा पाउँदै आएका सुविधाहरू पनि एलडीसी ग्रजुएसनपछि गुम्ने उनले उल्लेख गरे। यसको सबैभन्दा ठूलो असर निजी क्षेत्र र औषधि व्यवसायमा संलग्न उद्यमीहरूलाई पर्ने उनको ठहर छ। ‘यसले सबैभन्दा बढी असर निजी क्षेत्रलाई गर्छ। सम्बन्धित व्यवसायमा अकस्मात् परिवर्तन आउँदा हाम्रो ट्याक्स रिजाइन (कर प्रणाली) मा पनि त्यसले परिवर्तन ल्याउँछ। त्यसैले यसको मिटिगेसन (न्यूनीकरण) का लागि हामीले रिस्क मिटिगेसन स्ट्राटेजी नै बनाएर अगाडि बढ्नुपर्नेछ,’ उनले भने ।

महानिर्देशक बस्नेतले भविष्यमा आउन सक्ने यस्ता जोखिमहरूलाई सम्बोधन गर्न सरकारले अहिले नै ठोस रणनीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । यस्ता परिवर्तनले व्यावसायिक वातावरण र उपभोक्ताको क्रयशक्तिमा समेत गम्भीर प्रभाव पार्ने भएकाले बेलैमा सचेत हुनुपर्ने उनको भनाइ छ ।