
काठमाडौं । बूढानीलकण्ठमा रहेको ‘लेमन ट्री प्रिमियर’ले एकै वर्ष साढे २३ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो । कम्पनीले सन् २०२४ को ४ महिनामा ४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०१८ मा बूढानीलकण्ठ हेरिटेजको नाममा दर्ता भएको कम्पनीले लक्जरियस होटल सञ्चालनमा ल्याएको हो । सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत गरिएको होटल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा १०२ वटा कोठाको सुविधा छ ।
सन् २०२४ को मार्चबाट सामान्य सञ्चालनमा आएको होटल सन् २०२४ को सेप्टेम्बरबाट पूर्ण रूपमा सञ्चालनमा ल्याइएको थियो । कम्पनीले हालसम्म भने नाफा कमाउन सकेको छैन ।
कम्पनीअनुसार गत आवमा १३ करोड ७० लाख रुपैयाँ ब्याज भुक्तानी गरेकाले नाफामा प्रभाव परेको जनाएको छ । साथै, कम्पनीले गत आवमा २० करोड ६० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ८७ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीमा बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डष्ट्रिज, नेपाल अपर्च्युनिटी फन्ड–१, स्काई टच इन्भेष्टमेन्ट एन्ड कन्सल्टेन्ट प्रालि र सानिमा लाइफ इन्स्योरेन्सको स्वामित्व छ । कम्पनीले विदेशी कम्पनी लेमन ट्री होटल्स लिमिटेडसँग सम्झौता गरी फ्रेन्चाइज भित्र्याएको हो ।









प्रतिक्रिया