
काठमाडौं । काठमाडौं उपत्यकामा वायुप्रदूषणको अवस्था ‘घातक’ तह पार गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार हाल कुल एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २४७ पुगेको छ भने पीएम २.५ को स्तर १७२ पुगेको छ, जुन स्वास्थ्यका दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिन्छ।
उनका अनुसार यस्तो प्रदूषण दैनिक झण्डै १२ वटा चुरोट सेवन गरेसरह हानिकारक हुने गर्दछ । विशेषगरी शारीरिक व्यायाम गर्ने व्यक्तिहरूले बढी सास फेर्ने भएकाले उनीहरूमा यसको असर झन् बढी पर्ने उनले बताए।
वायुप्रदूषणका प्रमुख स्रोतहरूमा काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधन, तिनको कमजोर इन्जिन गुणस्तर, भत्केका सडक, इँटाभट्टा, आसपासका जंगलमा लाग्ने डढेलो तथा सीमापारिबाट आउने धुलो र कोइला जलाउँदा निस्किने धुवाँ रहेको उनको भनाइ छ ।
उपाध्यायले ‘एयर कन्डिसनर’ र ‘एयर प्युरिफायर’ जस्ता उपकरण प्रयोग गर्दा कोठाभित्रको प्रदूषण करिब ८० प्रतिशतसम्म घटाउन सकिने र त्यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने बताए।
उनले स्थानीय तहको भूमिका पनि कमजोर देखिएको टिप्पणी गर्दै नगरपालिकाले सडक मर्मत र धुलो नियन्त्रणमा ध्यान दिए मात्रै पनि प्रदूषणको स्तर उल्लेख्य रूपमा घटाउन सकिने धारणा राखे । ‘क्यान्सरपीडितलाई उपचार खर्च दिने घोषणा गर्नु भन्दा क्यान्सर गराउने मुख्य कारक वायुप्रदूषण नियन्त्रणमा ध्यान दिनु जरुरी छ,’ उनले भने।









प्रतिक्रिया