विद्यार्थीलाई गाडी भाडामा अनिवार्य ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन


काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

हालै यातायात व्यवसायी तथा सरोकारवाला निकायलाई परिपत्र गर्दै विभागले उक्त सहुलियत कडाइका साथ लागू गर्न ताकेता गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ तथा साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीहरूले पाउने कानुनी अधिकारको पूर्ण पालना गर्न विभागले स्मरण गराएको छ ।

इन्धनको मूल्य वृद्धि भएसँगै कतिपय सार्वजनिक सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढ्दै गएको विभागले जनाएको छ । ‘हेलो सरकार’ तथा गुनासो पेटिकामार्फत विद्यार्थीहरूले तोकिएको ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरीहरू आइरहेको उल्लेख गरिएको छ ।

सार्वजनिक सवारीका चालक तथा सहचालकले विद्यार्थी परिचयपत्र देखाउँदा समेत सहुलियत दिन अस्वीकार गर्ने र दुर्व्यवहार गर्ने घटनाहरू बढेपछि विभागले पुनः ध्यानाकर्षण गराएको हो ।

विभागले आफ्नो पत्रमा सरकार र यातायात व्यवसायीबीच २०६५ फागुन २० गते भएको सहमतिलाई स्मरण गराउँदै सोही निर्णयअनुसार विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत छुट पाउँदै आएको जनाएको छ ।

विभागका अनुसार, परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन आनाकानी गर्ने कुनै पनि सवारी साधनमाथि कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।