नाकाबन्दी छल्न खोज्ने इरानी जहाजलाई अमेरिकाले नियन्त्रणमा लियो


एजेन्सी । अमेरिकाले आइतबार आफूले लगाएको नाकाबन्दी तोड्न खोजेको एक इरानी मालवाहक जहाज नियन्त्रणमा लिएको बताएको छ । इरानले यसको बदला लिने चेतावनी दिएको छ ।

यसले दुई देशबीचको युद्धविराम लागू हुने भनिएको दुई दिन पनि टिक्न नसक्ने सम्भावना बढाएको छ ।

यसैगरी यस क्षेत्रमा थप स्थायी शान्ति निर्माण गर्ने प्रयासहरू पनि धरमराएको देखिएका छन् । इरानले मंगलबार युद्धविराम समाप्त हुनुअघि अमेरिकाले सुरु गर्न चाहेको दोस्रो चरणको वार्तामा सहभागी नहुने बताएको छ ।

हप्तौंदेखि जारी जहाज आवतजावतको नाकाबन्दीले विश्वव्यापी तेलको मूल्य बढाएको छ । त्यो अझै कायम रहन सक्ने देखिएको छ ।

अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ भने इरानले हर्मुज जलयोजकबाट हुने समुद्री यातायातमा आफ्नो नाकाबन्दी हटाउने र फेरि लगाउने गर्दै आएको छ । यस जलयोजकबाट सामान्यतया विश्वको तेल आपूर्तिको करिब पाँच भागको एक भाग ओसारपसार हुन्छ ।

अमेरिकी सेनाले आइतबार इरानको बन्दर अब्बास बन्दरगाहतर्फ जाँदै गरेको इरानी झण्डावाला मालवाहक जहाजमाथि गोली चलाएको बताएको छ । ‘हामीले उनीहरूको जहाज पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छौं र त्यहाँ के छ भनेर हेर्दैछौं !’ राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

इरानी सेनाले उक्त जहाज चीनबाट आइरहेको बताएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार एक सैन्य प्रवक्ताले भने, ‘हामी चेतावनी दिन्छौं, इस्लामिक रिपब्लिक अफ इरानका सशस्त्र बलहरूले अमेरिकी सेनाको यस सशस्त्र डकैतीको चाँडै जवाफ दिनेछन् र बदला लिनेछन् ।’

इरानी सरकारी सञ्चारमाध्यमले जारी नाकाबन्दी, धम्कीपूर्ण भाषा, र वाशिङटनको बदलिँदो अडान र अत्यधिक मागहरूलाई उद्धृत गर्दै तेहरानले नयाँ शान्ति वार्तालाई अस्वीकार गरेको रिपोर्ट पनि गरेको छ ।

‘अरूका लागि स्वतन्त्र सुरक्षाको अपेक्षा गर्दै इरानको तेल निर्यातमा प्रतिबन्ध लगाउन मिल्दैन । विकल्प स्पष्ट छः कि त सबैका लागि स्वतन्त्र तेल बजार हुनुपर्छ, कि त सबैका लागि ठूलो क्षतिको जोखिम हुनेछ,’ इरानका प्रथम उपराष्ट्रपति मोहम्मदरेजा अरेफले सामाजिक सञ्जालमा लेखेका छन् ।

ट्रम्पले यसअघि इरानलाई चेतावनी दिँदै तेहरानले उनका शर्तहरू अस्वीकार गरेमा अमेरिकाले इरानका सबै पुल र पावर प्लान्टहरू नष्ट गरिदिनेछ । युद्धभरि उनले यस्तै प्रकारका धम्कीहरू दिँदै आएका छन् ।

अमेरिकाले यसका नागरिक पूर्वाधारहरूमा आक्रमण गरेमा उसले खाडीका अरब छिमेकीहरूका पावर स्टेशनहरू र नुन हटाउने (डिसेलिनेशन) प्लान्टहरूमा आक्रमण गर्ने इरानले बताएको छ ।

लगानीकर्ताहरूले युद्धका बारेमा विरोधाभासी सन्देशहरू सामना गरिरहँदा एसियाली व्यापारको सुरुवाती समयमा ब्रेन्ट क्रुड आयलको मूल्य करिब ७ प्रतिशतले बढेर प्रति ब्यारल ९६.८५ डलर पुग्यो र डब्ल्यूटीए ५०० फ्युचर्स करिब ०.९ प्रतिशतले घट्यो ।

ट्रम्पले दुई हप्ताको युद्धविराम समाप्त हुनु एक दिनअघि सोमबार साँझ आफ्ना दूतहरू इस्लामाबाद आइपुग्ने बताए ।
ह्वाइट हाउसका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भ्यान्सले गर्ने बताएका थिए । उनले एक हप्ताअघि युद्धको पहिलो शान्ति वार्ताको नेतृत्व गरेका थिए ।

उक्त टोलीमा ट्रम्पका दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नर पनि समावेश हुने भनिएको थियो । तर, ट्रम्पले एबीसी न्यूज र एमएस नाउलाई छुट्टाछुट्टै अन्तर्वार्तामा भ्यान्स नजाने बताएका थिए ।

मुख्य मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तान वार्ताको तयारीमा रहेको देखिन्थ्यो । दुई पाकिस्तानी सुरक्षा स्रोतका अनुसार, अमेरिकी प्रतिनिधिमण्डलको आगमनको तयारीका लागि सुरक्षा उपकरण र सवारीसाधन बोकेका दुईवटा विशाल अमेरिकी सी–१७ कार्गो विमानहरू आइतबार दिउँसो एक हवाई अड्डामा अवतरण गरेका छन् ।

राजधानी इस्लामाबादका नगर अधिकारीहरूले शहरमा सार्वजनिक यातायात र भारी सामान ढुवानी गर्ने सवारीसाधनहरू रोकेका छन् । गत साताको वार्ता भएको सेरेना होटल नजिकै काँडेतार लगाइएको थियो । होटलले सबै पाहुनाहरूलाई होटल छोड्न भनेको थियो ।

यो स्पष्ट कूटनीतिक असफलताले सप्ताहान्तपछि बजार खुल्दा तेलको मूल्यमा फेरि भारी वृद्धि गराउने वातावरण सिर्जना गर्न सक्छ ।

अहिले आठौं हप्तामा पुगेको यस युद्धले विश्वव्यापी ऊर्जा आपूर्तिमा इतिहासकै सबैभन्दा गम्भीर धक्का दिएको छ । जलयोजक बन्द भएका कारण तेलको मूल्य आकाशिएको छ ।

फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि इरानमाथि भएका अमेरिकी–इजरायली आक्रमण र लेबननमा समानान्तर रूपमा भएको इजरायली आक्रमणमा हजारौं मानिस मारिएका छन् । इरानले यी आक्रमणको जवाफमा अमेरिकी अड्डाहरू रहेका आफ्ना अरब छिमेकी देशहरूमा मिसाइल र ड्रोन प्रहार गरेको थियो ।

वार्तामा इरानको पक्षबाट नेतृत्व गरेका इरानी संसद्का सभामुख मोहम्मद बाकर कालिबाफले यसअघि दुवै पक्षले प्रगति गरेको भए पनि आणविक मुद्दा र जलयोजकका विषयमा अझै ठूलो मतभेद रहेको बताएका थिए ।

अमेरिकी युद्ध प्रयासमा सहयोग नगरेको भन्दै ट्रम्पबाट पटक–पटक आलोचना खेपेका युरोपेली सहयोगीहरू वाशिङटनको वार्ता टोलीले छिटो र सतही सम्झौताका लागि दबाब दिइरहेकोमा चिन्तित छन् । त्यसले भविष्यमा महिनौं वा वर्षौंसम्म प्राविधिक रूपमा जटिल वार्ताहरूको माग गर्नेछ ।

इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले शनिबार जलयोजक पार गर्न खोज्ने दुईवटा लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) ट्यांकरहरूलाई इरानी सशस्त्र बलले फर्काएको रिपोर्ट गरेको छ ।

मरिनट्राफिकको जहाज ट्य्राकिङ तथ्यांक अनुसार, तीमध्ये एक ट्यांकर एंगोलाको झण्डा भएको एलपीजी ट्यांकर जी समर पछि दोस्रो प्रयासमा खाडीबाट बाहिर निस्किएको थियो ।