
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा भएको भनिएको सम्भावित आर्थिक अनियमितता र कम्पनीको समग्र ‘वित्तीय स्वास्थ्य’बारे अध्ययन गर्न संस्थापक (प्रोमोटर) हरूले एक आन्तरिक टोली गठन गरेका छन् । विशेष गरी मर्जरपछिको चार वर्षको अवधिमा भएका खर्च र बिलहरूको सुक्ष्म अध्ययन गर्न चार्टर्ड एकाउन्टेन्टको टोली परिचालन गरिएको हो ।
संस्थापकहरूले कम्पनीमा कुनै पनि प्रकारको घोटाला भएको हुन सक्ने आशंका गर्दै त्यसलाई स्पष्ट पार्न यो कदम चालेका हुन् । अध्ययन टोलीले मुख्यतया मर्जरपछिका सबै फाइलहरू, खर्चका बिलहरूको समेत अध्ययन गर्नेछ।
कम्पनीका संस्थापकहरूबीच भएको छलफलमा मुख्यतः आर्थिक अनियमितताको अध्ययन, अनुसन्धान र कम्पनीको वित्तीय स्वास्थ्यलाई कसरी सुदृढ बनाउने भन्ने बारे चर्चा भएको थियो । ‘आर्थिक मितव्ययिता अपनाइएको छ कि छैन र कतै अनियमितता त छैन भन्ने शंका निवारण गर्न यो जाँच आवश्यक देखिएको छ,’ कम्पनीका एक संस्थापकले क्लिकमान्डुसँग भने ।
यो अध्ययन पूर्ण रूपमा आन्तरिक हुने उनी बताउँछन् । अध्ययनको जिम्मा चार्टर्ड एकाउन्टेन्ट एसआर पाण्डेलाई दिइएको छ । पाण्डेको टिमले सोमबारदेखि काम थालेको छ ।
पछिल्लो समय हिमालयन लाइफमा व्यवसायी सुलभ अग्रवालले आफ्नो स्वार्थअनुसार काम गराउँदै आएको आरोप सञ्चालकहरूले लगाएका छन् । हिमालयन लाइफको रकमबाट सेयर किन्न नपाएपछि उनले एचएलआई लार्ज क्याप फन्ड खोलेका थिए । तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज कुमार कर्ण सुलभकै कम्पनीको कर्मचारी भएकाले उनीमार्फत् सुलभले हिमालयन लाइफमा रकम अपचलन गरेको हुन सक्ने संस्थापकहरूको आशंका छ ।
यतिसम्मको हिमालयन लाइफको सञ्चालक समिति अध्यक्ष रहँदा सुलभले राजीनामा दिइसकेका कर्णलाई २ करोड २६ लाख रूपैयाँ र गाडी उपहार दिने निर्णय गरेका थिए । कम्पनीमा अरू पनि धेरै प्रकारका घोटाला गरेको हुन सक्ने संस्थापकहरूको आशंका छ ।
पछिल्लो समय अग्रवाल र पावर ब्रोकर दीपक भट्टबीचले विवाद सार्वजनिक भइरहेको छ भने दुवै जना सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न प्रहरी हिरासतमा छन् ।








प्रतिक्रिया