
काठमाडौं । नेपाली बजारमा लगानीको वित्तीय उपकरणका रुपमा सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)ले राम्रै किसिमको लोकप्रियता पाइसकेको छ । थोरै तर, निरन्तर आम्दानी गरिरहने व्यक्तिले योजनाबद्ध तरिकाले लगानी गर्न सक्ने भएकाले एसआईपी छोटो समयमा धेरैको रोजाईमा परेको छ ।
एसआईपीले एक तहसम्मको लोकप्रियता कमाइसकेपछि लगानीको अर्को वित्तीय उपकरणको रुपमा सिस्टमेटीक ट्रान्स्फर प्लान (एसटीपी) पनि नेपालमा सुरु हुन लागेको छ ।
एसटीपी एसआईपी जस्तै म्युचुअल फन्डकै एक योजना हो, तर यसमा एउटा म्युचुअल फन्डमा रहेको रकमलाई योजनाबद्ध तरिकाले अर्को म्युचुअल फन्डमा सार्न सकिन्छ ।
यो विशेषगरी दीर्घकालीन सम्पत्ति व्यवस्थापन र लगानीमा जोखिम न्यूनीकरण गर्नका लागि डिजाइन गरिएको नयाँ वित्तीय लगानीको योजना हो । लगानीकर्ताको दीर्घकालीन सम्पत्ति व्यवस्थापनलाई लक्षित गर्दै लगानी कम्पनीहरूले यो सुविधा उपलब्ध गराउने योजना अगाडि बढाएका हुन् ।
नेपालमा पहिलो पटक सुरु हुन लागेको यस योजनमा लगानीकर्ताले एउटै कम्पनी अन्तर्गत रहेका दुई फन्डबीच आफ्नो रकमलाई नियमित र योजनाबद्ध तरिकाले स्थानान्तरण गर्न सक्नेछन् ।
किन गर्ने लगानी ट्रान्सफर ?
लगानीकर्ताले आफैंलाई कुनै इक्विटी फन्डमा गरेको लगानी उच्च जोखिमयुक्त लाग्यो भने, सो रकमलाई निश्चित अन्तरालमा (१ महिना, ३ महिना वा १ बर्षमा) स्थिर र सुरक्षित मानिने डेब्ट फन्डमा सक्छन् । यसले लगानीकर्तालाई आफ्नो सम्पत्ति व्यवस्थित गर्न, सुरक्षित राख्न र दीर्घकालमा आम्दानी बढाउन मद्दत पु¥याउँछ ।
अर्को शब्दमा भन्नु पर्दा कुनै एउटा ओपन इन्डेड म्युचुअल फन्डमा गरेको लगानी जोखिम जस्तो देखिएमा त्यो फन्ड एसटीपीको माध्यमबाट अर्को फन्डमा ट्रान्सफर गर्न सकिन्छ ।
कसरी गर्ने ट्रान्सफर ?
अहिले एसटीपी योजना एनआईसी एशिया क्यापिटलले सुरु गर्न लागेको छ । जसमा यो योजना एनआईसी एशिया क्यापीटलका दुईवटा फन्डमा सञ्चालन हुनेछ ।
क्यापिटलका अनुसार एउटा इक्वीटी लिङ्कड इनभेष्टमेण्ट स्किम (ईएलआइएस) र डाइनामिक डेप्ट फन्ड गरी दुई वटा फन्डमा यो योजना सञ्चालन हुनेछ । एसआईपीमा गरेको लगानी डाइनामिक डेप्ट फन्डमा हुन्छ ।
यी दुइओटा दुईवटा म्युचुअल फन्डमध्ये कुनै एकमा लगानी छ भने सो रकम एक अर्कामा ट्रान्सफर गर्न सकिन्छ ।
इएलआईएस र डाइनामिक डेप्ट फन्ड के हो?
इएलआईएस इक्विटीमा आधारित योजना हो, जसले सेयर बजारमा लगानी गर्छ । यो एनआईसी एशिया क्यापीटलले भर्खर सुरु गरेको योजना हो ।
यसले बजार अनुसार नाफा र घाटा दुवै दिन सक्छ, त्यसैले यो जोखिमयुक्त हुन्छ । जोखीम मोल्न सक्ने लगानीकर्ताले यसमा लगानी गर्न सक्छन् ।
यस्तै डाइनामिक डेब्ट फन्ड सुरक्षित र स्थिर प्रतिफल दिने योजना हो । यो डिबेन्चरमा आधारित फन्ड भएकाले बजारको उतारचढावको असर पर्दैन र हरेक वर्ष लाभांश दिने प्रावधान हुन्छ ।
जोखिम कम गर्न चाहने लगानीकर्ताको रोजाइ डेब्ट फन्डमा हुने गर्दछ । यी दुवै फन्ड एनआईसी एशिया क्यापिटल अन्र्तगत पर्दछन् ।
एसटीपीले यी दुई योजनाबीच रकम ट्रान्सफर गर्ने सुविधा दिन्छ । यदि लगानीकर्ताले इएलआइएसमा गरेको लगानी घटेको अवस्थामा सो लगानीलाई सुरक्षित गर्न चाहे भने नियमित अन्तरालमा किस्तामा डाइनामिक डेब्ट फन्डमा सार्न सक्छन् । त्यसैगरी, स्थिर फन्डबाट बढी प्रतिफल लिन चाहेको अवस्थामा भने सो लगानीलाई फेरि इक्विटी–आधारित इएलआइएसमा ट्रान्सफर गर्न सकिन्छ ।
उदाहरणको लागि एनआईसी एशिया क्यापिटलले संचालन गर्न लागेको यस योजना एनआईसी एशिया इक्वीटी लिङ्कड इनभेष्टमेण्ट स्किम (इएलआइएस) मा आवद्ध सयेर होल्डरको एक लाख बराबरको लगानी छ र सो सेयर होल्डरलाई एनआईसी एशिया क्यापिटलबाट नै सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको ईकाई खरिद गर्न उपयुक्त लागेमा सिस्टमेटीक ट्रान्स्फर प्लान (एसटीपी) को सुविधाबाट उक्त समयमा कायम भएको खुद सम्पत्ति मुल्यमा डेप्ट फन्डको इकाई खरिद गर्न सक्नेछन् । एसटीपी लिने लगानीकर्ताले यी दुवै म्युचुअल फन्डमा दर्ता गरेको हुनु पर्नेछ ।
यो योजना कुन कुन मर्चेन्ट बैंकमा लागु छ ?
अहिले यो योजना एनआईआईसी एशिया क्यापीटलले मात्र सुरु गर्न लागेकाले यी दुई फन्डहरुबिच ट्रान्स्फर गर्ने सुविधा उपलब्ध गराईँदैछ । यो सुविधा अन्य मर्चेन्ट बैंकहरुले पनि विस्तारै सुरु गर्ने बताइएको छ ।
यो योजना असोजको पहिलो साताबाट सुरु हुने एनआईसी एशिया क्यापिटलका सूचना अधिकारी दामोदर रायमाझीले जानकारी दिए ।
उनले भने, ‘यो योजनाले लगानीकर्तालाई जोखिम कम गर्दै योजनाबद्ध तरिकाले स्थिर आम्दानी सुनिश्चित गर्न मद्दत गर्नेछ ।’
रायमाझीका अनुसार हाललाई एनआईसी एशिया क्यापिटलबाट एसआईपी सुचारु लिएका इकाईधनीहले सोही क्यापिटलबाटै संचालित इएलआइएसमा ट्रान्स्फर गराउन सक्नेछन् ।
यसमा लगानी गरेको सबै रकम ट्रान्स्फर गर्नुपर्र्छ भन्ने हुँदैन । आफुले इच्छाएको ईकाई मात्र ट्रान्स्फर गर्न सकिन्छ । यस योजनाले योजनाबद्ध रुपमा किस्तामा रकम सारेर जोखिम कम गर्दै स्थिर आम्दानी सुनिश्चित गर्न मद्दत गर्छ । यसमा समयावधि तोकिएको छैन । आफुले इच्छाएको समयमा सार्न सकिन्छ ।






प्रतिक्रिया