
काठमाडौं । हजारको लगानी लाखौं हुने एसआईपीमा आकर्षण बढ्दो छ । थोरै पैसा हुनेले पनि लगानी गर्नसक्ने एसआईपीबाट कसरी हुन्छ फाइदा ? के हो त एसआईपी ? आउनुहोस्, आज एसआईपी अर्थात् सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानबारे जानौं, बुझौं ।
कुनै बेला सहकारीमा बचत गर्नेहरुको भिड लाग्थ्यो । बैंकहरुमा भन्दा उच्च ब्याजको लोभले सहकारीमा बचकर्तालाई तान्ने गरेको थियो । तर अहिले सहकारीमा समस्या बढ्दै जाँदा सहकारीमा हुने बचत पनि निरुत्साहित भएको छ । अर्कातर्फत बैंकहरुले निक्षेपमा दिने घट्दो ब्याजले आम नागरिकले उपयुक्त प्रतिफलका लागि लगानीको विकल्प खोज्न लागेका छन् । जसमध्ये एउटा पर्फेक्ट विकल्प हो, ‘सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान’ अर्थात् एसआईपी । यसैगरी आम सर्वसाधारणका माझ एसआईपी लोकप्रिय बनेको छ ।
विशेष गरी जो लगानी गर्न चाहन्छन् तर ठूलो रकम हुँदैन । एसआईपी प्रति उनीहरुको चासो बढिरहेको छ । त्यसो भए एसआईपीमा किन र कसरी लगानी गर्ने ? यसबाट के फाइदा हुन्छ ?
सुरूमा यो के हो भन्ने जान्न जरुरी हुन्छ । एसआईपी कुनै लगानी उपकरण नभई लगानी विधि मात्रै हो । एसआईपी भनेको म्युचुअल फन्डमा लगानी गर्ने एउटा प्रणालीगत (नियमित) तरिका हो । यो बैंकहरुले ल्याउने ‘रिकरिङ निक्षेप’ को स्किम जस्तै हो । एसआईपीमा पूर्वनिर्धारत रकम बजारमा नियमित अन्तराल (सामान्यतया हरेक महिना) लगानी गरिन्छ ।
सेयर बजारमा लगानी गर्न चाहने तथा बजारको जोखिम विश्लेषण गर्न नसक्ने साना लगानीकर्ताका लागि सेयर तथा म्युचुअल फन्डमा लगानी गर्न एसआईपी एउटा उपयुक्त उपाय हुन सक्छ ।
एसआईपी अर्थात् सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भैपरी आउने समस्याको समाधान हो । यसमा बचत र लगानी दुवै हुन्छ । यसमा एउटा निश्चित समयमा पैसा लगानी गरिन्छ । र, भविष्यमा यस्को प्रतिफल आर्जन गरिन्छ । एसआईपीमा १ महिना, ३ महिना, ६ महिना वा १ वर्षमा आफ्नो निश्चित समय निर्धारण गरी लगानी गरिन्छ । न्यूनतम ५ वर्षदेखि अनिश्चित समयका लागि यसमा लगानी गर्न सकिन्छ ।
आज एसआईपीमा गरेको हजारको लगानी भोलि लाखौं हुनसक्छ । त्यसैले एसआईपीमा पैसा बचत गर्नु साना लगानीकर्ताका लागि उपयोगी छ भन्दा त्यति फरक नपर्ला ।
यदि तपाईंले कुनै एसआईपी लगानी योजनामा वार्षिक १० हजार रुपैयाँ लगानी गर्नु भएको छ र प्रत्येक वर्ष १५ प्रतिशत प्रतिफल अथवा लाभांश पाउनु हुन्छ भने १० हजारको १५ प्रतिशत १५०० रूपैयाँ भए जस्तै तपाईंले जति लगानी गर्नुभएको छ त्यही अनुसार प्रतिफल बढ्छ । यो प्रतिफल अथवा लाभांश पनि लगानीकै रूपमा राखिराख्दा अर्को वर्ष आफ्नो लगानी १० हजारको मात्र हुँदैन, पहिलो वर्ष कमाएको प्रतिफल अर्थात् लाभांशलाई मूल लगानीमा जोड्दा ११ हजार ५ सय रूपैयाँ हुन्छ । यसरी नै प्रत्येक वर्ष लगानीससँगै प्रतफिल पनि त्यसमा पुन लगानी हुँदै जान्छ । एसआईपीमा निश्चित समय निर्धारण गरी गरेको लगानी अनुसार प्रतिफल पाइने छ ।
लगानी अनुसारको राम्रो प्रतिफल दिने स्रोत बनेको एसआईपीमा लगानी गर्नका लागि उमेरको पनि कुनै सीमा छैन । जुनसुकै उमेर समूहकाले पनि यसमा लगानी गर्न सकिन्छ ।
म्युचुअल फन्ड र प्रकार
सामान्य भाषामा भन्नुपर्दा एसआईपी गर्ने भनेको सामूहिक लगानी योजना (म्युचुअल फन्ड)मा लगानी गर्नु हो । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर (क्यापिटल) लाई म्युचुअल फन्डको योजना व्यवस्थापकको इजाजत दिएको हुन्छ । म्युचुअल फन्डले केही आफ्नो लगानी र केही कोष प्रबर्द्धको रुपमा पनि लगानी जुटाउँछन् भने बाँकी लगानी सर्वसाधारणलाई इकाइ निष्काशन मार्फत जुटाउँछन् ।
म्युचुअल फन्डको योजना व्यवस्थापकले लगानीकर्ताको रकम संकलन गर्न संकलन गरिने रकम के–कस्तो धितोपत्र औजारमा लगानी गर्ने, कुन क्षेत्रमा लगानी गर्ने, लगानी गर्दाको जोखिम के कस्तो हुन्छ, आदि जस्ता विवरणहरु समावेश गरी तयार गरेको कार्यक्रमको खाकालाई योजना (स्किम) भनिन्छ । यस्तो योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्छ । म्युचुअल फन्डमा गरिने लगानीलाई साधारण सेयरमा गरिने लगानी भन्दा सुरक्षित मानिन्छ ।
म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने योजनाहरु बन्दमुखी योजना र खुलामुखी योजना गरी दुई प्रकारका हुन्छन् । योजनाले गर्ने लगानीको क्षेत्र, लगानी जोखिम, यसको लक्षित प्रतिफल आदिका आधारमा यी योजनालाई अन्य विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।
योजनाबाट संकलन गरिने रकमको मात्रा तथा समय सीमा नतोकी कुनै पनि समयमा लगानीकर्तालाई इकाइ बिक्री गर्न सकिने गरी जारी गरिने सामूहिक लगानी योजनालाई खुलामुखी योजना भनिन्छ । यस प्रकारको योजनामा योजना व्यवस्थापकले जति पनि संख्यामा योजना इकाईहरु बिक्री गर्न सक्छन् र लगानीकर्ताले इकाई बिक्री गर्न आएको खण्डमा पुनः खरिद पनि गरिदिन सक्छ । यस प्रकारको योजनामा तरलता बढी हुन्छ । खुलामुखी योजना धितोपत्र बजारमा सूचीकृत नहुने भएकोले दोस्रो बजारमा कारोबार हुँदैन ।
कुनै निश्चित रकम र अवधि तोकी लगानीकर्तालाई इकाईहरु बिक्री गरिने सामूहिक लगानी योजनालाई बन्दमुखी योजना भनिन्छ । यस प्रकारको योजनामा एकपटक इकाई जारी गरेपश्चात तोकिएको समयावधिभर सो योजना अन्तर्गत थप इकाइहरु जारी गरिँदैन र तोकिएको समयावधि भुक्तान भएपछि लगानीकर्तालाई रकम फिर्ता गरिन्छ । बन्दमूखी योजना नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुन्छ ।
खुलामुखी योजनामा लगानी गर्ने एउटा विधि नै एसआईपी हो । एसआईपी पुँजी बजारसँग निर्भर हुन्छ । जहाँ स–साना लगानीकर्ताहरुको संकलित कोष आफ्नो इच्छा अनुसारको नियमित रुपमा स-सानो लगानी गर्दै जान सकिन्छ । नेपालमा हालसम्म ४० भन्दा बढी म्युचल फन्ड सञ्चालनमा भए पनि खुलामुखी म्युचुअल फन्डको संख्या भने सीमित मात्रै छ ।
खुलामुखी योजनाहरू
अहिले नेपालमा ९ वटा खुलामुखी सामूहिक लगानी योजना (म्युचुअल फन्ड) सञ्चालनमा छन् । ती हुन्:
१. एनआईएमबी एस क्यापिटलको एनआईबीएल सहभागिता फन्ड
२. एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डाइनामिक डेब्ट फन्ड
३. सिद्धार्थ क्यापिटलको सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम
४. एनएमबी क्यापिटलको एनएमबि सरल बचत फन्ड ई
५. लक्ष्मी सनराइज क्यापिटलको शुभ लक्ष्मी कोष
६. नबिल इन्भेस्टमेन्ट बैंकिङको नबिल फ्लेक्सी क्याप फन्ड
७. कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना
८. सानिमा क्यापिटलको सानिमा फ्लेक्सी फन्ड
९. प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम
कसरी गर्ने त एसआईपीमा लगानी ?
एसआईपी योजनामा लगानी गर्न विभिन्न मर्चेन्ट बैंकर (क्यापिटल)को वेबसाइटमा गई एसआईपी रजिष्टर गर्नुपर्ने हुन्छ । त्यहाँ आफूलाई अनुकूल पर्ने एसआईपी योजना खरिद गर्न सकिन्छ । त्यसपछि आफूले गर्ने लगानी अनुसारको म्युचुअल फन्ड छनोट गर्नुपर्ने हुन्छ । जहाँ लामो समय लगानी गर्न मिल्ने र छोटो समयमका लागि पनि लगानी गर्न मिल्ने फन्ड हुन्छन् । तीमध्ये एकलाई छनोट गर्नुपर्ने हुन्छ । लगानी रकम र अवधि निर्धारण गरी मासिक, त्रैमासिक वा अन्य निश्चित समयमा कति रकम लगानी गर्ने भनेर निर्णय गरेर राख्नु पर्छ ।
यसको समयवाधिमा ५ देखि १० वा २० वर्ष वा आफ्नो आवश्यकता अनुसार योजना बनाउन सकिन्छ । यसबाहेक समयावधि अनिश्चित गरि ‘अनलिमिटेड’ पनि राख्न सकिन्छ । एसआईपीका लागि डिम्याट र मेरो सेयरमा खाता भने अनिवार्य खोलिसकेको हुनुपर्छ ।
यसरी आफूले रोजेको म्युचुअल फन्डको योजना व्यवस्थापक कम्पनीको वेबसाईटमा गई त्यहाँ दिए अनुसारको प्रक्रिया पूरा गरि एसआईपीमा सहभागी हुन सकिन्छ ।
एसआईपीको फारम भर्दा बैंक खाता पनि लिंक गर्नु पर्दछ । लिंक गरिएको बैंक खातामार्फत आफूले इच्छाएर राखेको रकम समय अनुसार नियमित रूपमा काटिन्छ । यसमा सामान्यतः मासिक १ हजार देखि लगानी गर्न सकिन्छ । यसरी लगानी गरेको रकम समयसँगै कम्पाउन्डिङको नियमअनुसार बढ्दै जान्छ ।
एसआईपीका केही नकारात्मक पक्ष पनि छन् । जसका बारेमा हामीले जानी राख्न आवश्यक छ ।
एसआईपी बजारको उतार–चढावमा निर्भर हुन्छ । तर, एसआईपीमा लगानी गर्ने लगानीकर्ताहरू प्रायः बजारको व्यापक अध्ययन गर्दैनन् । यो एक ठूलो गल्ती हुन सक्छ ।
सेयर बजारमा गिरावट आउँदा लगानीको मूल्य घट्न सक्छ, जसले गर्दा नोक्सान हुने सम्भावना रहन्छ। एसआईपी विशेष गरी ती लगानीकर्ताका लागि चुनौतीपूर्ण हुन्छ जो बजारको उतार–चढावको सामना गर्न तयार हुँदैनन् । त्यसैले बजारको बारेमा बुझी राख्यो भने लगानीकर्तालाई बजारको सही अवस्था र भविष्यको सम्भावना बुझ्न मद्दत गर्छ । बजारको अध्ययन नगर्दा गलत निर्णयहरू लिन सकिन्छ ।
त्यस्तै एसआईपीमा लगानी गर्दा प्रतिफलको ग्यारेन्टी नहुन सक्छ । बजारको पर्फर्मेनस अनुसार नै प्रतिफल मिल्छ, जसले गर्दा कहिलेकाहीँ अपेक्षित लाभ प्राप्त नहुन सक्छ । यो अनिश्चितताले नयाँ लगानीकर्ताहरूका लागि समस्या उत्पन्न गर्न सक्छ ।
एसआईपीमा विभिन्न प्रकारका शुल्क र लागत लाग्छ । जस्तै व्यवस्थापन शुल्क, प्रवेश शुल्क, निकासी शुल्क आदि । यी अतिरिक्त लागतहरूले कुल प्रतिफलमा कमी ल्याउन सक्छ । लगानीकर्ताले यी शुल्कको बारेमा पूर्ण जानकारी राख्न जरुरी छ ।
एसआईपीमा लामो समयसम्म नियमित लगानीको प्रतिबद्धता चाहिन्छ । यदी कुनै कारणवश यो प्रतिबद्धता निभाउन सकिँदैन भने लगानीको योजना असफल हुन सक्छ । विशेष गरी ती व्यक्तिहरूका लागि चुनौतीपूर्ण हुन सक्छ जो लामो समयसम्म नियमित रुपमा लगानी गर्न सक्दैनन् ।
त्यस्तै धेरै लगानीकर्ताहरू एसआईपीमा सबै पैसा लगानी गर्छन् र आपतकालीन फन्ड राख्न बिर्सन्छन् । यसले आपतकालमा समस्या उत्पन्न गर्न सक्छ । आर्थिक संकटको समयमा तरलता अभावले अन्य समस्याहरू निम्त्याउन सक्छ । एसआईपीमा लगानी गर्दा ब्याज दरमा आउने परिवर्तनले पनि प्रभाव पार्न सक्छ । ब्याजदर घट्दा प्रतिफलमा कमी आउन सक्छ । यसले लगानीकर्तालाई वित्तीय लक्ष्य प्राप्त गर्न कठिनाइ उत्पन्न गर्छ ।
एसआईपी योजनाबाट कसरी बाहिरिने ?
खुलामुखी म्युचुअल फन्डमा लगानी सधैं गरिरहनु पर्छ भन्ने हुँदैन । आकस्मिक दायित्व सिर्जना हुँदा, कमाइ घट्दा, बेरोजगार हुँदा, बजारमा उच्च जोखिम हुँदा, लगानीले अपेक्षित प्रतिफल नदिँदा वा वित्तीय लक्ष्य पूरा भएपछि एसआईपी रद्द गर्न सकिन्छ ।
सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान रद्द गर्नुपरे फन्ड म्यानेजरकहाँ सम्पर्क गरी आवश्यक विवरणसहित एउटा फारम भरेर रद्द गर्न सकिन्छ । यसैगरी खाता लिंक गरिएको बैंकलाई सम्पर्क गरी स्वचालित रकम काट्ने व्यवस्था हटाउन अनुरोध गर्नुपर्छ । यसरी एसआईपी रद्द गर्दा कुनै शुल्क भने लाग्दैन ।
खुलामुखी म्युचुअल फन्डले नाफा कसरी दिन्छ र प्रतिफल कति हुन्छ ?
खुलामुखी म्युचुअल फन्डले स–सानो मात्रामा संकलन गरेको रकम पुलमा जम्मा गर्छ । सो रकम फन्ड म्यानेजरले इक्विटी (सेयर), डेब्ट (ऋणपत्र तथा बोन्डहरु) वा मिश्रित लगानीमा गर्छन् ।
यी औजारमा गरिएको लगानीबाट फन्ड म्यानेजरले पुँजीगत लाभ, लाभांश, ब्याज वा अन्य आम्दानीबाट नाफा गर्छन् । यसरी प्राप्त नाफालाई फन्ड म्यानेजरले स–साना मात्रामा लगानी गर्नेलाई लाभांशका रुपमा वितरण गर्छ । ती साना लगानीकर्ताले लाभांशका रुपमा पाएको रकम पुनः लगानीकै रुपमा गणना हुन्छ । अर्थात् फन्डको न्याभ (नेट एसेट भ्यालु) बढ्छ । फन्डको न्याभ बढ्नु भनेको लगानीको मूल्य पनि बढ्नु हो । उदाहरणका लागि यदी सुरुमा न्याभ १० थियो र पछि १५ भयो भने तपाईंको लगानी ५०% ले बढेको बुझिन्छ ।







प्रतिक्रिया