
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्नका लागि वार्ता यसै हप्ताभित्र पुनः सुरु हुन सक्ने संकेत गरेका छन् ।
गत शनिबार इस्लामाबादमा भएको वार्ता कुनै नतिजाविहीन टुङ्गिएपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गरेको थियो ।
ट्रम्पले ‘न्युयोर्क पोस्ट’लाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘तपाईं त्यहीँ (इस्लामाबाद) बसिरहनुहोस्, किनकि आगामी दुई दिनमा केही हुन सक्छ, र हाम्रो झुकाव पनि त्यतै फर्कनेतर्फ बढी छ।’
उनको यो टिप्पणी त्यतिबेला आएको हो जब अमेरिकी सेनाले होर्मुजमा नाकाबन्दी लागू गरेको पहिलो २४ घण्टामा कुनै पनि जहाज त्यहाँबाट बाहिरिएका थिएनन्। यस गतिरोधले आगामी साता सकिने दुई हप्ते युद्धविराममाथि पनि प्रश्न उठाएको छ।
इरानको तर्फबाट ट्रम्पको टिप्पणीमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन, तर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘अत्यधिक सम्भावना’ रहेको बताएका छन्।
तेल बजारलाई केही राहत
खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूका अनुसार अमेरिका र इरानका टोलीहरू यस हप्ताको अन्त्यतिर फेरि पाकिस्तान फर्कन सक्छन्। यद्यपि, वार्ताको निश्चित मिति तय भइनसकेको रोयटर्सले जनाएको छ।
दुवै पक्षबीच वार्ताको सम्भावनाले तेल बजारलाई केही राहत दिएको छ, जसका कारण मंगलबार बेन्चमार्क तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरेको थियो।
२८ फेब्रुअरीमा अमेरिकी र इजरायली हवाई आक्रमणपछि इरानले विश्वका लागि अत्यन्त महत्त्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्ग ‘होर्मुज’लाई प्रभावकारी रूपमा बन्द गरिदिएको छ।
एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १० हजार अमेरिकी सैनिकले इरानी बन्दरगाहतर्फ जाने वा त्यहाँबाट फर्कने जहाजहरूमा नाकाबन्दी लागू गरिरहेका छन्, जसले इरानको अर्थतन्त्रमा गम्भीर असर पारेको छ।
यस कदमको उद्देश्य इरानमाथि दबाब सिर्जना गर्नु हो, जसका लागि उसका दुई मुख्य आम्दानी स्रोतलाई लक्षित गरिएको छ। युनाइटेड स्टेट्स सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार नाकाबन्दीको पहिलो २४ घण्टामा ६ वटा व्यापारिक जहाजले अमेरिकी निर्देशन मानेर फर्किएका थिए।
तर बीबीसीको विश्लेषणअनुसार, नाकाबन्दीका बाबजुद इरानसँग सम्बन्धित कम्तीमा ४ वटा जहाजले होर्मुज पार गरिसकेका छन्, जसमा दुई जहाज पहिले नै इरानी बन्दरगाहमा थिए। बीबीसीका अनुसार इरानसँग प्रत्यक्ष सम्बन्ध नभएका थप ३ जहाजले पनि नाकाबन्दी सुरु भएपछि होर्मुज पार गरेका थिए।
परमाणु कार्यक्रम: वार्ताको मुख्य अवरोध
शनिबार र आइतबार इस्लामाबादमा भएको प्रारम्भिक उच्चस्तरीय वार्तामा कुनै सहमति जुट्न सकेन। अमेरिकाले इरान आफ्ना सर्तहरूमा सहमत नभएको जनाएको छ।
इरानको परमाणु महत्त्वाकांक्षा नै वार्ताको मुख्य अवरोध बनेको छ। एक अमेरिकी अधिकारीले सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम संवर्धन पूर्ण रूपमा रोक्न प्रस्ताव गरेको थियो। अन्य अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानले भने केवल ५ वर्षका लागि मात्र युरेनियम संवर्धन रोक्ने प्रस्ताव गरेको छ।
यसैबीच, इन्टरनेसनल मोनेटरी फन्ड (आईएमएफ) ले यो युद्धले विश्व अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने चेतावनी दिएको छ। यस विषयमा अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले दीर्घकालीन शान्ति र सुरक्षाका लागि “थोरै आर्थिक पीडा” स्वीकार्य हुन सक्ने उल्लेख गरेका छन्।
मंगलबार चीनले भने यो नाकाबन्दीलाई “खतरनाक र गैर-जिम्मेवार” भन्दै आलोचना गरेको छ र यसले तनाव थप बढाउने चेतावनी दिएको छ। चीनका अनुसार पहिले नै कमजोर रहेको युद्धविराम अमेरिकी नाकाबन्दीले अझ सङ्कटमा पर्नेछ।
इजरायल–लेबनानबीच वार्ता सुरु
यसैबीच इजरायल र लेबनानले वासिङ्टन डीसीमा भएको वार्तापछि प्रत्यक्ष संवाद सुरु गर्न सहमति जनाएका छन्। यो पहल इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि भएको हो, जसको लक्ष्य इरान समर्थित समूह हिज्बुल्लाह थियो।
अमेरिकी विदेश मन्त्रालयमा भएको यो बैठक सन् १९९३ पछि दुवै देशका अधिकारीबीचको पहिलो प्रत्यक्ष वार्ता हो। लेबनानी राजदूतले यसलाई “सकारात्मक” भनेका छन् भने इजरायली राजदूतले “शान्तिको नयाँ युग सुरु हुन सक्ने” बताएका छन्।
एक अमेरिकी अधिकारीले भने इस्लामाबादमा भएको अमेरिका–इरान वार्ता र वासिङ्टनमा भएको इजरायल–लेबनान वार्ताबीच कुनै प्रत्यक्ष सम्बन्ध नभएको स्पष्ट पारेका छन्।










प्रतिक्रिया