पूर्व अर्थमन्त्री खनालले खोजे मन्त्रीहरूको करचुक्ता प्रमाणपत्र, तर ६ मन्त्रीसँग प्यान कार्ड नै छैन

2.9k
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर प्रसाद खनालले प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणबारे टिप्पणी गर्दै ती विवरण मात्र पर्याप्त नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै खनालले सार्वजनिक गरिएको सम्पत्ति विवरण कम विश्वसनीय हुने उल्लेख गरेका हुन् । सम्पत्ति विवरणभन्दा पनि आन्तरिक राजस्व कार्यालयमा पेश गरिने आम्दानी विवरण र ट्याक्स क्लियरेन्स (कर चुक्ता) प्रमाणले मात्र व्यक्तिको वास्तविक आर्थिक अवस्थालाई दर्शाउने उनको भनाइ छ । यसले व्यक्तिको इमानदारीतालाई प्रमाणित गर्ने आधार दिन सक्ने उनको दाबी छ ।

तर, पूर्व अर्थमन्त्रीले यस्तो भनिरहँदा आइतबार मात्रै सम्पत्ति विवरण सार्वजनिक गरेका केही मन्त्रीहरूको भने स्थायी लेखा नम्बर अर्थात् प्यान नम्बर नै नभएको पाइएको छ।

चैत १३ गते गठित बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्का आधा दर्जन मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउँदा प्यान नम्बर नै उल्लेख गरेका छैनन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल, उद्योग मन्त्री गौरी कुमारी यादवले बुझाएको सम्पत्ति विवरणमा प्यान नम्बर उल्लेख छैन ।

सरकारलाई आय र कर विवरण बुझाउन प्यान नम्बर चाहिन्छ । तर प्यान नम्बर उल्लेख नगर्दा मन्त्रीहरूसँग पारदर्शिताको आधार नै नभएको देखिन्छ ।

एकातर्फ पूर्व अर्थमन्त्री खनालले सम्पत्ति विवरणभन्दा पनि कर प्रणालीसँग जोडिएका अभिलेखलाई सार्वजनिक गर्नु उचित रहेको उल्लेख गरिरहँदा अर्कोतर्फ मन्त्रीहरूको भने प्यान नम्बर नै नहुनुले गम्भीर प्रश्न उठाएको छ ।