अर्थमन्त्रीसँग करोडौंको सम्पत्ति, ग्लोबल आईएमई बैंकलाई १ करोड ५ लाख, अरूलाई अढाई करोड तिर्न बाँकी

2k
Shares

काठमाडौं । अर्थमन्त्री तथा तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको विवरण अनुसार वाग्लेसँग काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा घरजग्गा, बहुमूल्य सुन, विभिन्न बैंकमा मौज्दात र जलविद्युत कम्पनीहरूमा ठूलो लगानी रहेको देखिएको छ ।

डा. वाग्लेको नाममा ललितपुरमा दुईवटा अपार्टमेन्ट र धुलिखेलमा एउटा घर रहेको छ । ललितपुरको अपार्टमेन्टको खरिद मूल्य २ करोड र अर्कोको ५ करोड रुपैयाँ उल्लेख गरिएको छ । त्यस्तै, धुलिखेलमा ३ करोड ७५ लाख मूल्यको घर रहेको छ भने तनहुँको बन्दीपुरमा २ करोडको घर रहेको देखाइएको छ । यी सम्पत्तिहरूको स्रोतमा अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री र बैंक ऋण उल्लेख गरिएको छ ।

जग्गा तर्फ काठमाडौँको चन्द्रागिरिमा २० लाख मूल्यमा खरिद गरेको ३ रोपनी, चितवनको रत्ननगरमा ८० लाख मूल्यको ५ कठ्ठा र तनहुँको भानुमा ८ लाख ५० हजार मूल्यको ६ रोपनी जग्गा रहेको छ । गोरखामा पनि उनको पैतृक र खरिद गरिएको गरी विभिन्न कित्ता जग्गाहरू रहेका छन् ।

वाग्लेको जलविद्युत क्षेत्रमा उल्लेख्य लगानी देखिएको छ । उनले अपर मादी हाइड्रोमा ३ करोड, ठूलो खोलामा ६० लाख र नेसनल फण्ड म्यानेजमेन्टमा करिब ९० लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै सानिमा मिडिल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता र सांग्रिला विकास बैंकमा २५ हजार ७ सय बढी कित्ता सेयर रहेको छ ।

गहना तर्फ वाग्लेसँग ४५ तोला सुन रहेको छ । विभिन्न बैंकहरू (हिमालयन, सानिमा र स्ट्याण्डर्ड चार्टर्ड) मा गरी उनको करिब १ करोढ ९० लाख रुपैयाँ बचत रहेको विवरणमा उल्लेख छ ।

डा. वाग्लेले ९४ लाख रुपैयाँमा खरिद गरेको ‘सुबारु एक्सभी’ गाडी चढ्ने गरेका छन् । सो गाडी खरिदका लागि अन्तर्राष्ट्रिय रोजगारीको कमाइ र आफू मानार्थ अध्यक्ष रहेको संस्था आईआईडीएसको सहयोग रहेको उनले खुलाएका छन् ।

ऋण तर्फ उनले विभिन्न समयमा राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र ग्लोबल आइएमई बैंकबाट ऋण लिएको र कतिपय चुक्ता गरिसकेको उल्लेख छ । हाल उनको व्यक्तिगत सापट र बैंक ऋण गरी करिब २ करोड ५० लाख रुपैयाँ दायित्व रहेको देखिन्छ ।

अन्तर्राष्ट्रिय अर्थशास्त्रीका रूपमा ख्याति कमाएका वाग्लेले आफ्नो अधिकांश सम्पत्तिको स्रोतमा विश्व बैंक, यूएनडीपी लगायतका अन्तर्राष्ट्रिय निकायहरूमा गरेको रोजगारीबाट प्राप्त आयलाई मुख्य आधार मानेका छन् ।