
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले राजनीतिमा आश्वासन र धोका सामान्य विषय बनेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदका लागि सरस्वती लामाको उम्मेदवारी प्रस्ताव गर्दै सांसद शाहीले राजनीतिको नयाँ पाठ सिकेको बताएका हुन् ।
संसद्मा सम्बोधन गर्दै शाहीले भने, ‘युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भन्ने त पढेको र सुनेको थिएँ । तर, अहिले राजनीतिमा आश्वासन दिनु र धोका दिनु पनि जायज हुने रहेछ भन्ने कुरा प्रत्यक्ष भोग्ने मौका पाएँ ।’
सांसद शाहीले यो अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति लक्षित गर्दै दिएका हुन् । बिहीबार लामिछानेले उपसभामुखमा राप्रपा उम्मेदवारलाई समर्थन गर्ने आश्वासन दिएकै कारण सरस्वती लामाले उम्मेदवारी दिएको शाहीको दाबी थियो । तर, अन्तिम समयमा रास्वपाले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि शाहीले संसद्को रोस्टमबाटै असन्तुष्टि पोखेका हुन् ।
सोही क्रममा शाहीले राप्रपाको संसद्मा सङ्ख्यात्मक उपस्थिति कम भए पनि वैचारिक रूपमा आफूहरू सशक्त रहेको दाबी गरे । उनले सङ्ख्याभन्दा विचारको राजनीति ठुलो हुने उल्लेख गर्दै राप्रपा आफ्ना एजेन्डामा अडिग रहेको प्रस्ट पारे ।








प्रतिक्रिया