श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गर्ने श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त

2.9k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले श्रममन्त्री दीपकुमार साहलाई बर्खास्त गरेका छन् । श्रीमतीलाई बिमा बोर्डमा नियुक्त गर्ने श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले बर्खास्त गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्ना तर्फबाट सरकारमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई मन्त्री पदबाट फिर्ता बोलाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।

पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पत्र लेख्दै साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै उनलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेका हुन् ।

पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनले मन्त्री साहले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा आफ्नै श्रीमतीलाई नियुक्ति दिलाउन सक्रिय भूमिका खेलेको फेला पारेको पत्रमा उल्लेख छ । यस कार्यले पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा आँच पुगेको रास्वपाको ठहर छ ।

प्रधानमन्त्रीलाई पठाइएको पत्रमा पार्टी विधानको धारा २५ (४) (क) र धारा ६९ को प्रावधान उल्लेख गरिएको छ । रास्वपाको विधानमा पदको दुरुपयोग भएको अवस्थामा पार्टीले आफ्नो प्रतिनिधिलाई जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम साहलाई मन्त्री पदबाट हटाउन भनिएको थियो ।

यसैगरी, रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउन सिफारिस गरेको छ । यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै पार्टीले मेहतालाई सचेत गराउन प्रधानमन्त्रीसँग माग गरेको हो।

पार्टी सभापति लामिछानेले अनुशासन आयोगबाट प्राप्त पत्रको प्रतिलिपि समेत प्रधानमन्त्रीलाई बुझाउँदै यो निर्णय कार्यान्वयनका लागि आग्रह गरेका छन् । यो कदमलाई रास्वपाले आफ्नो पार्टीभित्रको ‘सुशासन र अनुशासन’ प्रतिको प्रतिबद्धताका रूपमा व्याख्या गरेको छ ।

Skip This