हाजिरी जमानीमा छुट्दै ओली र लेखक

126
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानीमा छाड्ने भएको छ ।

सर्वोच्च अदालतको परमादेश र सरकारी वकिलको कार्यालयको निर्णयअनुसार उनीहरूलाई ‘खोजी भएको बेला उपस्थित हुने गरी’ हिरासतमुक्त गर्न लागिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले सरकारी वकिलको कार्यालयबाट कसैको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र प्राप्त भएको र त्यसअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

भदौ २३ र २४ गते काठमाडौंको बानेश्वरमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको घटनामा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रहरीले चैत १४ गते ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।

पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतबाट तीन पटकसम्म म्याद लिएर उनीहरूलाई हिरासतमा राखिएको थियो । स्वास्थ्य समस्याका कारण पूर्वप्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने पूर्वगृहमन्त्री लेखक महाराजगञ्जस्थित सशस्त्र प्रहरीको नम्बर–२ गणमा छन् ।

ओली र लेखकलाई छोड्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले चैत २३ मा उनीहरूलाई हिरासतमुक्त गर्न परमादेश जारी गरेको थियो। अदालतले चैत २५ पछि थप म्याद नथप्न र यदि अनुसन्धान पूरा नभएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ बमोजिम हिरासतमुक्त गरेरै बाँकी अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतले दिएको तेस्रो पटकको ५ दिनको म्याद बुधबार सकिएपछि सर्वोच्चको आदेशअनुसार उनीहरूलाई रिहा गर्न लागिएको हो ।

Skip This