हायरको क्षेत्रीय डिलर मिट सम्पन्न, उत्कृष्ट डिलरहरू सम्मानित

133
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले पूर्व क्षेत्रका आफ्ना व्यवसायिक साझेदारहरूलाई समेटेर ‘क्षेत्रीय डिलर मिट’ सम्पन्न गरेको छ। मोरङको विराटचोकस्थित होटल नेपालइरिकामा आइतबार आयोजित उक्त कार्यक्रममा पूर्वका विभिन्न जिल्लाबाट डिलर प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कम्पनी र डिलर नेटवर्कबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र आगामी व्यावसायिक लक्ष्यहरू तय गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा हायर ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता नियोटेरिक नेपालका जनरल म्यानेजर भास्कर मुनानकर्मीले कम्पनीको परिचय दिँदै गोल्छा अर्गनाइजेशन अन्तर्गत हायरले हासिल गरेका उपलब्धिहरूका बारेमा जानकारी दिए । उनले ब्रान्डलाई स्थापित गर्न डिलरहरूको भूमिका अतुलनीय रहेको भन्दै आगामी दिनमा सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, कम्पनीका स्ट्राटेजिक बिजनेश हेड शैलेन्द्र झाले नेपालमा हायरको वर्तमान बजार अवस्था, प्रतिस्पर्धा र आगामी रणनीतिको विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले पछिल्लो समय नेपालमा स्मार्ट होम र आधुनिक उपकरणहरूको माग बढ्दै गएकाले हायरले आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै लैजाने बताए ।

बिक्रीपछिको सेवालाई प्राथमिकता दिँदै कम्पनीका सर्भिस हेड शुभाष खड्काले ग्राहक सन्तुष्टि नै ब्रान्डको सफलताको कडी भएको बताए । उनले डिलरहरूसँगको प्रभावकारी समन्वयमार्फत सेवालाई अझ गुणस्तरीय बनाउन सकिने धारणा राखे ।

कार्यक्रममा हायरका नवीनतम तथा लोकप्रिय उत्पादनहरूको विशेष प्रदर्शनी गरिएको थियो । यसले डिलरहरूलाई कम्पनीका नयाँ प्रविधि र उपकरणहरूबारे प्रत्यक्ष जानकारी लिने अवसर प्रदान गरेको थियो ।

यसका साथै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन विभिन्न नृत्य तथा सांगीतिक प्रस्तुतिहरू समावेश गरिएको थियो । उत्कृष्ट कार्य गर्ने डिलरहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो भने लक्की ड्रमार्फत सहभागीहरूलाई विभिन्न उपहारहरू समेत प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै नियोटेरिक नेपालका प्रबन्ध निर्देशक सञ्जय गोल्छाले डिलरहरूको निरन्तर सहयोग र विश्वासका कारण हायरले नेपालमा सफलता पाएको बताए ।