
काठमाडौं । बलात्कारको आरोप लागेका कलाकार सागर लम्साल ‘बले’ सुटिङ भइरहेको फिल्मबाट निष्कासित भएका छन् । बिहीबार राति अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बलात्कारको आरोप लगाएकी थिइन् ।
उक्त आरोपपछि कर्णाली फिल्म्स प्रालिले निर्माण गरिरहेको चलचित्र ‘पाँच पाण्डव’बाट लम्साललाई निष्कासन गरेको घोषणा गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा एक युवतीले कलाकार लम्सालमाथि अनुचित व्यवहार गरेको आरोप लगाएकी छन् । युवतीले लम्सालसँग पारिवारिक चिनजान रहेका कारण लम्साल अमेरिका पुगेका बेला उनले भेट गरेकी थिइन् ।
भेटमा लम्सालले आफ्नो बसोबासको ठाउँ हेर्ने अनुरोध गरे । अपार्टमेन्ट पुगेपछि आफ्नो स्वास्थ्य, व्यक्तिगत संघर्ष र मानसिक अवस्थाबारे खुलेर कुरा गरेको बेला लम्सालले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।
सो आरोप सार्वजनिक भएपछि निर्माण टिमले आपतकालीन बैठक बसी कलाकारलाई फिल्मबाट हटाउने निर्णय गरेको जनाएको छ । कम्पनीले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र पीडित भनिएकी युवतीको न्याय सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ। निर्माण पक्षका अनुसार चलचित्रमा लम्सालको ९० प्रतिशत दृश्य छायांकन सम्पन्न भइसकेको छ ।
तर अब उपरान्त उनी ‘पाँच पाण्डव’को हिस्सेदार रहने छैनन् । उनी समावेश कुनै पनि दृश्य पनि चलचित्रमा समावेश नहुने बताइएको छ । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठले कुनै पनि प्रकारका आरोपमा संलग्न व्यक्तिलाई टिममा राख्न नसकिने स्पष्ट पारेका छन् ।
उनले कानुनी प्रक्रिया प्रभावित नहोस् भन्ने उद्देश्यले आरोपित कलाकारसँगको सहकार्य तत्कालका लागि अन्त्य गरिएको जानकारी दिए । कम्पनीले पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
कलाकार लम्साल ‘भद्रगोल’, ‘सक्किगोनी’ लगायतका चर्चित टेलिभिजन सिरियलमार्फत दर्शकमाझ लोकप्रिय छन् । उनले यसअघि ‘लाज शरणम्’ चलचित्रमा पनि अभिनय गरेका छन् ।









प्रतिक्रिया