उद्योगीहरूलाई अर्थमन्त्रीले भनेः हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौं तर छाडा हुन दिन्नौं

140
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगीहरूलाई ढुक्क भएर लगानी गर्न र विदेशी लगानी भित्र्याउने वातावरण बनाउन आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघसँग भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रप्रति पूर्ण रूपमा उदार र सहयोगी रहेको स्पष्ट पारे ।

भेटमा मन्त्री वाग्लेले वर्तमान सरकार बलियो आधारमा बनेको र जनताको ठूलो आशा रहेकाले यो समयलाई देशको उन्नतिका लागि सदुपयोग गर्ने बताए । निजी क्षेत्रले लामो समयदेखि खोजेको राजनीतिक स्थिरता प्राप्त भएको उल्लेख गर्दै उनले अबको मुख्य लक्ष्य आर्थिक समृद्धि हुनुपर्नेमा जोड दिए ।

आफ्नो कार्यभार सम्हालेकै दिन सरकारले १५ वटा कानुन खारेज गरेर निजी क्षेत्रमैत्री वातावरण बनाउन खोजेको उनले स्मरण गराए । ‘हामी निजी क्षेत्रप्रति कति उदार र सहयोगी छौं भन्ने सन्देश पहिलो दिनकै निर्णयबाट दिइसकेका छौं,’ उनले भने, ‘हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौं, तर उदारताको अर्थ नियमनविहीन छाडापन भने होइन । इमानदारीपूर्वक उद्योग र व्यापार गर्नेहरूलाई सरकारले दिल खोलेर सहयोग गर्छ ।’

अर्थमन्त्री वाग्लेले आगामी बजेटमार्फत निजी क्षेत्रका समस्या र अपेक्षालाई फरक ढंगले सम्बोधन गर्न लागिएको संकेत गरे । उनले निजी क्षेत्रमैत्री आर्थिक वातावरण निर्माण गर्नु नै सरकारको प्राथमिकता रहेको बताए ।

नमूना औद्योगिक पार्क निर्माणका लागि निजी क्षेत्रले राखेको मागका सम्बन्धमा मन्त्री वाग्लेले सकारात्मक प्रतिक्रिया दिए । कुनै ठूला बहुराष्ट्रिय कम्पनी वा ठूलो लगानी भित्र्याएर लगानीमैत्री वातावरण बनाउन पहल थाल्न उनले व्यवसायीहरूलाई सुझाव दिए । ‘स्वदेशी, ठूला र बहुराष्ट्रिय कम्पनीको लगानीको सुरक्षामा सरकार पूर्ण प्रतिबद्ध छ। तपाईंहरू उत्साहित भएर लगानी गर्नुस् र विदेशी लगानी ल्याउने वातावरण बनाउनुस्, सरकारले सबैखाले सहयोग र सहजीकरण गर्नेछ,’ उनले भने ।

भेटमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूले निजी क्षेत्रका विद्यमान चुनौती र औद्योगिक वातावरण सुधारका लागि चाल्नुपर्ने कदमबारे अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको नेतृत्वको परिसंघको प्रतिनिधिमण्डलमा निवर्तमान अध्यक्ष राजेश अग्रवाल, पूर्वअध्यक्षहरू विष्णुकुमार अग्रवाल हरिभक्त शर्मा, सदस्य शशिकान्त अग्रवाल, विदुषी राणालगायत सहभागी थिए ।