विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको दोस्रो वाकाथन सम्पन्न

21
Shares

काठमाडौं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ‘ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ । विश्व पानी दिवसको अवसरमा गत वर्ष सुरु गरिएको वाकाथन कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्ष पनि उक्त कार्यक्रम आयोजना गरेको हो ।

हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसले स्वच्छ पानीको महत्वलाई उजागर गर्दै पानी स्रोतको दिगो व्यवस्थापनका लागि विश्वव्यापी रूपमा सचेतना फैलाउने लक्ष्य राखेको छ । सन् २०२६ को नारा ‘वाटर एन्ड जेन्डर‘ले सुरक्षित पानी, सरसफाइ तथा लैङ्गिक समानता प्रवद्र्धन गर्न पानीको पहुँच र व्यवस्थापनमा समान सहभागिता र अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ । यस विश्वव्यापी नारासँग ऐक्यबद्धता जनाउँदै सिद्धार्थ बैंकले पनि सुरक्षित पानी र सरसफाइको पहुँच सुनिश्चित गर्नुका साथै लैङ्गिक समानता प्रवद्र्धन गर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त वाकाथन कार्यक्रम आयोजना गरेको हो ।

सुरक्षित पिउने पानीमा सर्वसाधारणको पहुँच सुनिश्चित गर्ने उद्देश्यले विश्व पानी दिवसको अवसरमा चालु आर्थिक वर्ष भित्र देशभरका सार्वजनिक स्थानहरूमा ९ वटा पानी शुद्धीकरण (वाटर प्युरिफायर) प्रणालीहरू स्थापना गर्नुका साथै जलस्रोत वरपर सरसफाई अभियान सञ्चालन गर्नेयोजना रहेको बैंकले जनाएको छ । यस पहलमार्फत सर्वसाधारणलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउँदै जनस्वास्थ्य प्रवद्र्धनमा योगदान पुर्याउने तथा नाराले जोड दिएको समावेशी पहुँचलाई सुदृढ बनाउने लक्ष्य बैंकले राखेको छ ।

यस कार्यक्रममा बैंकले पानीको सदुपयोग, सरसफाइ र लैङ्गिक समानताबको महत्व झल्काउने प्लेकार्डसहित नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालसम्म ५ किलोमिटरसम्मको प्रभातफेरी (वाकाथन) आयोजना गरेको हो । बैंकले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई वाकाथनमा सहभागिताका लागि आह्वान गरेको थियो । ६९७ भन्दा बढी व्यक्ति सहभागी भएका यस कार्यक्रममा २६४ जना महिला र ४३३ जना पुरुषहरु रहेका थिए ।