
काठमाडौं । नेपालमा चार दशकसम्म दुईवटामा मात्रै सीमित रहेको चारतारे होटलको संख्या पछिल्लो १० वर्षमै ४५ पुगेको छ । नेपालमा पर्यटनको प्रवर्द्धन बढ्दै जानु, व्यवसायीहरूले पर्यटन क्षेत्रमै सम्भावना देख्नु र बढ्दो पर्यटक संख्यासँगै चारतारे वा सोभन्दा माथिका होटलमा लगानी बढ्नु यसको मुख्य कारण हो ।
पर्यटन व्यवसायमा बढेको लगानीकै कारण नेपालको होटल उद्योगमा पछिल्लो एक दशकमा उल्लेखनीय परिवर्तन आएको छ । करिब चार दशकसम्म चारतारे होटल भनेकै लाजिम्पाटको शंकर र कुपन्डोलको हिमालय मात्र भनेर चिनिने अवस्था थियो । तर अहिले हिमालयन होटल स्तरोन्नति भएर २०८२ को सुरुवातदेखि नै पाँचतारेमा उक्लिएको छ भने त्यसको सट्टामा अन्य ४४ वटा चारतारे होटल थपिएका छन् ।
चार दशकसम्म जम्मा दुईवटामा सीमित रहेको चारतारे होटलको संख्या पछिल्लो एक दशकमै ४५ पुग्नुले पर्यटन क्षेत्रमा निजी क्षेत्रको बढ्दो आकर्षण र लगानी स्पष्ट देखिन्छ ।
क्लिकमान्डुले पर्यटन विभागबाट प्राप्त गरेको पछिल्लो तथा अद्यावधिक तथ्यांक अनुसार हाल देशभर ४० वटा होटलहरूले चारतारे स्तरको वर्गीकरण पाएका छन् । यसबाहेक थप ५ वटा बुटिक तथा हेरिटेज होटल पनि चारतारे श्रेणीमै रहेका छन् ।
विसं २०३४ सालमा होटल शंकरले चारतारे मान्यता पाएपछि लामो समयसम्म यो श्रेणीप्रति आकर्षण सुस्त रह्यो । तर पछिल्लो १० वर्षमा भने व्यवसायीहरूले चारतारे र सोभन्दा माथिल्लो स्तरका होटलमा अर्बौं लगानी गरेका छन् ।
काठमाडौं र पोखरामा मात्र सीमित रहेका यस्ता स्तरीय होटलहरू अहिले लुम्बिनी, भैरहवा, नेपालगञ्ज, विराटनगर, चितवन र पर्सा जस्ता व्यापारिक केन्द्रहरूमा समेत विस्तार भएका छन् ।
व्यवसायीहरूले पछिल्लो समय चारतारेभन्दा माथिका होटलमा लगानी बढाएसँगै यो क्षेत्र लगानीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
नेपालका वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा गर्ने लगानी पनि वार्षिक रूपमा बढ्दै गएको नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार २०८२ माघसम्म आइपुग्दा पर्यटन सेवा कर्जामा ४.१२ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१ को माघ महिनाको तुलनामा नेपालका वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा कुल २ खर्ब १६ अर्ब ७४ करोड रुपैयाँ प्रवाह गरेका थिए भने २०८२ माघसम्म आइपुग्दा यो रकम बढेर २ खर्ब २५ अर्ब ६६ करोड पुगेको छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंकहरूलाई पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने सूचीमा समावेश गरेपछि यस क्षेत्रमा लगानी बढेको देखिएको छ । तथ्यांक अनुसार हाल नेपालमा पाँचतारे होटलको संख्या ३४ पुगेको छ । यसमध्ये तीन वटा पाँचतारे डिलक्स छन् भने तीन वटा पाँचतारे स्तरका बुटिक तथा हेरिटेज होटल छन् ।
पर्यटन विभागमा दर्ता भएका ४५ चारतारे होटलहरूको पूर्ण सूची
| सि.नं. | होटलको नाम र ठेगाना | स्तर वर्गीकरण मिति | पछिल्लो नवीकरण | म्याद समाप्त हुने मिति |
| १ | होटल शंकर प्रा. लि., लाजिम्पाट, काठमाडौँ | २०३४/०१/१६ | २०७१/०३/१४ | २०८४/०३/१६ |
| २ | होटल ओपेरा प्रा.लि., भीमदत्त, कञ्चनपुर | २०७३/१२/२८ | २०७७/०१/१९ | २०८१/११/१० |
| ३ | होटल कृष्णा, नेपालगन्ज, बाँके | २०७४/०५/२९ | २०७४/०५/२९ | २०७९/०५/२९ |
| ४ | होटल मिस्टिक माउन्टेन प्रा.लि., नगरकोट, काभ्रे | २०७४/१२/०५ | २०८०/०१/२८ | २०८५/१२/०३ |
| ५ | न्यू होटल सिद्धार्थ प्रा.लि., नेपालगन्ज, बाँके | २०७५/०६/०९ | २०७५/०६/०९ | २०८०/०६/०८ |
| ६ | होटल सरोवर प्रा.लि., पोखरा, कास्की | २०७५/१०/०७ | २०८०/१२/०९ | २०८५/१०/०६ |
| ७ | ग्रान्ड होटल प्रा.लि., ताहाचल, काठमाडौँ | २०७५/१२/२४ | २०७९/१२/२५ | २०८५/१२/२२ |
| ८ | ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, मणीग्राम, रुपन्देही | २०७५/१२/२८ | २०८०/१२/०९ | २०८५/१२/०७ |
| ९ | होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौँ | २०७६/०३/१३ | २०८१/०५/०५ | २०८६/०३/११ |
| १० | होटल निर्वाण, सिद्धार्थनगर, रुपन्देही | २०७६/०६/१८ | २०७२/०३/०१ | २०८७/०२/३१ |
| ११ | होटल बाराही प्रा.लि., पोखरा, कास्की | २०७७/०३/२३ | २०७७/०३/२३ | २०८२/०३/१८ |
| १२ | होटल साङ्ग्रिला भिलेज प्रा.लि., पोखरा, कास्की | २०७७/०३/२५ | २०७७/०३/२५ | २०८२/०३/२४ |
| १३ | होटल ल्याण्डमार्क पोखरा प्रा.लि., कास्की | २०७७/०८/१२ | २०७७/०८/१२ | २०८२/०८/११ |
| १४ | नान्स होटल प्रा.लि., सिद्धार्थनगर, रुपन्देही | २०७७/११/१९ | २०७७/११/१९ | २०८२/११/१८ |
| १५ | होटल स्नेहा प्रा.लि., नेपालगन्ज, बाँके | २०७७/१२/०५ | २०७७/१२/०५ | २०८२/१२/०४ |
| १६ | होटल स्टारलाईट नीलदेवी, नेपालगन्ज, बाँके | २०७८/०४/०४ | २०७८/०४/०४ | २०८३/०४/०३ |
| १७ | कलपतरु होटल एण्ड कोशिकी ब्याङ्क्वेट, नेपालगन्ज | २०७८/०६/१९ | २०७८/०६/१९ | २०८३/०६/१८ |
| १८ | मौर्य होटल प्रा.लि., सिद्धार्थनगर, भैरहवा | २०७८/०६/१८ | २०७८/०६/१८ | २०८३/०६/१७ |
| १९ | होटल माउन्ट कैलाश प्रा.लि., पोखरा, कास्की | २०७८/०६/१० | – | २०८३/०६/१६ |
| २० | होटल सिटी प्यालेस नेपालगन्ज प्रा.लि., बाँके | २०७८/०७/०९ | – | २०८३/०७/०९ |
| २१ | होटल सिराईचुली प्रा.लि., भरतपुर, चितवन | २०७८/०९/०८ | – | २०८३/०९/०७ |
| २२ | हिमाल वाटरपार्क एण्ड भिलेज प्रा.लि., वीरगन्ज | २०७८/०९/२० | – | २०८३/०९/१९ |
| २३ | हेरिटेज होटल स्वीट्स एण्ड स्पा, पोखरा, कास्की | २०७८/०९/२५ | – | २०८३/०९/२४ |
| २४ | बिग होटल विराटनगर, मोरङ | २०७८/१२/०५ | – | २०८३/१२/०५ |
| २५ | होटल दियालो, वीरगन्ज, पर्सा | २०७९/०२/१३ | – | २०८४/०२/१२ |
| २६ | रत्ना होटल विराटनगर, मोरङ | २०७९/०२/२३ | – | २०८४/०२/२२ |
| २७ | ठमेल प्लाजा होटल एण्ड स्वीट्स, काठमाडौँ | २०७९/०३/१५ | – | २०८४/०३/१४ |
| २८ | होटल ओरियन, सुनवल, नवलपरासी | २०७९/०४/०३ | – | २०८४/०४/०२ |
| २९ | एशियन होटल, सिद्धार्थनगर, रुपन्देही | २०७९/१०/०६ | – | २०८४/१०/०५ |
| ३० | होटल भोटेकोशी, सिन्धुपाल्चोक | २०७९/१२/०५ | – | २०८४/१२/०४ |
| ३१ | रोम रेजेन्सी होटल, पोखरा, कास्की | २०८०/०३/२६ | – | २०८५/०३/२५ |
| ३२ | लुम्बिनी ग्रीन रिसोर्ट, चन्द्रौटा, कपिलवस्तु | २०८०/१२/०८ | – | २०८५/१२/०७ |
| ३३ | होटल आइकावा इन, रत्ननगर, चितवन | २०८०/१२/१२ | – | २०८५/१२/११ |
| ३४ | होटल लो मुस्ताङ प्रा.लि., ठमेल, काठमाडौँ | २०८१/०१/१४ | – | २०८६/०१/१३ |
| ३५ | श्री सिद्धार्थ सनी रिसोर्ट प्रा.लि. | २०८१/०१/२० | – | २०८६/०१/१९ |
| ३६ | भैरहवा गार्डन होटल | २०८१/०३/२७ | – | २०८६/०३/२६ |
| ३७ | स्काईलाईन इन्फ्रा लि., पर्सा | २०८१/०८/०१ | – | २०८६/०८/३० |
| ३८ | होटल सेंभेन लि., रत्ननगर, चितवन | २०८१/०९/०५ | – | २०८६/०९/०४ |
| ३९ | बोधी रेडसन होटल प्रा.लि., रुपन्देही | २०८१/०९/२१ | – | २०८६/०९/२० |
| ४० | गौतमबुद्ध एयरपोर्ट होटल, भैरहवा, रुपन्देही | २०८१/०९/२९ | – | २०८६/०९/२८ |
| ४१ | होटल पवेरा (पवेरा बुटिक होटल), बुढानीलकण्ठ | २०७८/०४/१२ | – | – |
| ४२ | होटल मनास्लु प्रा.लि., लाजिम्पाट, काठमाडौँ | २०७८/०६/०८ | – | – |
| ४३ | होटल मनाङ प्रा.लि., ठमेल, काठमाडौँ | २०७९/०४/०६ | – | – |
| ४४ | टि.डि.आर. स्क्वायर प्रा.लि., ललितपुर | २०८१/०१/१६ | – | २०८६/०१/१५ |
| ४५ | श्री टेम्पल बेल बुटिक होटल एण्ड स्पा, पोखरा | २०८२/०८/२१ | – | २०८७/०८/२० |
(सि.नं. ४१ देखि ४५ सम्मका होटलहरू ‘डिलक्स हेरिटेज बुटिक’ श्रेणीका हुन् ।)
तारे होटल र रिसोर्ट दर्ता ३४९ पुग्यो
पर्यटन पूर्वाधारमा निजी क्षेत्रको लगानी विस्तार भएसँगै पर्यटन विभागमा दर्ता हुने तारे होटल र रिसोर्टहरूको संख्या ३४९ पुगेको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म दर्ता भएका यी होटल तथा रिसोर्टहरूमा कुल १६ हजार ३५० कोठा र २५ हजार ८८१ बेड (शय्या) क्षमता रहेको छ ।
विभागको विवरण अनुसार तारे होटलतर्फ सबैभन्दा बढी दुई तारा स्तरका होटलहरूको संख्या ४९ रहेको छ, जसमा १ हजार ८७१ कोठा र ३ हजार २४१ बेड उपलब्ध छन् ।
यसैगरी, ४४ वटा एकतारा स्तरका, ४० वटा चारतारा स्तरका र ३७ वटा तीनतारा स्तरका होटलहरू सञ्चालनमा रहेका छन् ।
विदेशी पर्यटकहरूको रोजाइमा पर्ने पाँचतारा स्तरका होटलहरूको संख्या २८ पुगेको छ । यी होटलहरूमा ५ हजार ३४० बेड क्षमता रहेको छ ।
यसका अतिरिक्त नेपालमा ३ वटा पाँचतारा डिलक्स र ३ वटा लक्जरी बुटिक/हेरिटेज (पाँचतारा स्तर) होटलहरूले सेवा प्रदान गरिरहेका छन् । डिलक्स र हेरिटेजतर्फ चार र तीनतारा स्तरका थप ६ वटा होटलहरू पनि विभागमा दर्ता छन् ।
पछिल्लो समय रिसोर्ट संस्कृतिको विकास भएसँगै विभागमा दर्ता हुने रिसोर्टहरूको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । तथ्यांक अनुसार १२७ वटा साधारण रिसोर्ट दर्ता भएका छन्, जसले ४ हजार ७४८ बेड क्षमता ओगटेका छन् । यसैगरी, ९ वटा ‘डिलक्स रिसोर्ट’ र ३ वटा ‘लक्जरी रिसोर्ट’ मार्फत पनि सेवा प्रवाह भइरहेको छ ।
नेपालमा बढ्दो पर्यटकीय आकर्षण र आगामी दिनमा भित्रिने पर्यटकको चाप धान्न सक्ने गरी होटलहरूको संख्या र क्षमतामा वृद्धि हुँदै जानुलाई सकारात्मक रूपमा लिइएको छ । विभागमा दर्ता भएका यी होटलहरूले गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय मापदण्ड पालना गरे/नगरेको विषयमा नियमित अनुगमन पनि हुँदै आएको छ ।
ग्रिन हस्पिटालिटीसहित नयाँ मापदण्डको तयारीमा सरकार
नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र वातावरणमैत्री बनाउन सरकारले होटल वर्गीकरणको नयाँ मापदण्ड तर्जुमा गर्ने प्रक्रिया अघि बढाएको छ ।
हाल कार्यान्वयनमा रहेको ‘होटल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एण्ड ब्रेकफास्ट (बी एण्ड बी) हरूको होटल वर्गीकरण मापदण्ड, २०७६’ लाई समयसान्दर्भिक रूपमा परिमार्जन तथा संशोधन गर्दै ग्रिन हस्पिटालिटीको अवधारणा अनुरूप नयाँ मापदण्ड ल्याउन लागिएको हो ।
विश्व पर्यटन बजारमा बढ्दो वातावरणीय सचेतना र दिगो विकासको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय स्तरका सूचकहरू समावेश गरी नयाँ मापदण्ड तयार गर्ने तयारी गरेको छ ।
प्रस्तावित नयाँ मापदण्डलाई थप व्यावहारिक, वस्तुपरक र अन्तर्राष्ट्रिय स्तरको बनाउन पर्यटन विभागले सम्बन्धित क्षेत्रका विज्ञ, व्यवसायी, प्राज्ञिक वर्ग, सञ्चारकर्मी तथा सरोकारवालाहरूबाट राय–सुझाव माग गरेको छ । विभागले विशेषगरी नेपालमा कायम गर्नुपर्ने मौलिक विशेषताहरू, हरित आतिथ्यता (ग्रिन हस्पिटालिटी) का मापदण्डहरू तथा हालको मापदण्डमा सुधार गर्नुपर्ने पक्षहरूबारे सुझाव दिन आह्वान गरेको छ ।
विभागले इच्छुक व्यक्ति वा संस्थाहरूलाई यो सूचना प्रकाशित भएको मिति २०८२ चैत ९ गतेदेखि १५ दिनभित्र विभागको होटल शाखामा आफ्ना सुझावहरू उपलब्ध गराउन आग्रह गरेको छ । मौजुदा मापदण्डमा सुधार, हरित आतिथ्यताका सूचकहरू तथा होटलको भौतिक पूर्वाधार एवं सेवाको गुणस्तर वर्गीकरणलाई सुझावका मुख्य क्षेत्रका रूपमा तोकिएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिएका छन् ।








प्रतिक्रिया