न्युयोर्क विमान दुर्घटनामा भाग्यले बाँचेकी एयर होस्टेस, सिटमै बाँधिएको अवस्थामा परिन् फेला

700
Shares

एजेन्सी । न्युयोर्कको ला गार्डिया विमानस्थलमा फायर ट्रकसँग ठोक्किएको एयर क्यानाडाको विमानबाट बाहिर फालिएकी एक उडान परिचारिका (एयर होस्टेस) आफ्नो सिटमै बाँधिएको अवस्थामा जीवितै फेला परेको उनकी छोरीले सोमबार जानकारी दिएकी छन् ।

‘यो पूर्ण रूपमा चमत्कार हो,’ सारा लेपाइनले क्यानेडियन समाचार स्टेशन टीभीए नुभेलेसलाई बताइन् ।

आमा सोलान्ज ट्रेम्बलेको एउटा खुट्टाका धेरै ठाउँमा हड्डी भाँचिएको छ र शल्यक्रिया गर्नुपर्नेछ तर अन्य अवस्था भने सामान्य छ, साराले भनिन् । उड्डयन सुरक्षा विज्ञका अनुसार, चालक दलका सदस्यहरूले प्रयोग गर्ने फो–प्वाइन्ट सुरक्षा पेटीसहितको सिटमा भएकाले उनी जोगिन मद्दत पुगेको हुन सक्छ ।

‘यो सबै कसरी भयो भनेर म अझै बुझ्ने प्रयास गरिरहेकी छु,’ लेपाइनले भनिन्, ‘तर पक्कै पनि उनलाई रक्षा गर्ने कुनै दैवी शक्ति उनीसँगै थियो ।’

७० भन्दा बढी यात्रु बोकेको उक्त जेट आइतबार राति अवतरण गर्ने क्रममा अर्को विमानको समस्या समाधान गर्न जाँदै गरेको फायर ट्रकसँग ठोकिएको थियो । एयर क्यानडा विमानको अगाडिको भाग पूर्ण रूपमा ध्वस्त भएको थियो र पाइलट तथा को–पाइलटको मृत्यु भएको थियो ।

उड्डयन सुरक्षाविज्ञ जेफ गुज्जेटीले पनि विमानको अगाडिको भागको विनाशलाई हेर्दा ट्रेम्बलेको जीवन जोगिनुलाई चमत्कार नै भनेका छन् ।

‘उडान परिचारिकाको सिट एक प्रकारको जम्प सिट हो जुन खुम्च्याउन मिल्छ र भित्तामा बोल्टले कसिएको हुन्छ जुन भित्ता ककपिटले पनि प्रयोग गर्छ,’ पूर्व संघीय दुर्घटना अनुसन्धानकर्ता गुज्जेटीले भने ।

उनले थपे, ‘यो निकै बलियो सिट हो । यसलाई सम्भवतः यात्रुको सिटभन्दा बढी दुर्घटनाको भार थेग्न सक्ने गरी डिजाइन गरिएको हुन्छ किनभने दुर्घटनापछि यात्रुहरूलाई विमानबाट बाहिर निकाल्न मद्दत गर्न उडान परिचारिकाको आवश्यकता पर्छ ।’

सन् २०१३ मा सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा समुद्री पर्खालमा ठोक्किएर दुर्घटना भएको एसियाना एयरलाइन्सको विमानबाट बाहिर फालिँदा कम्तीमा दुईजना उडान परिचारिका घाइते भएका थिए । एसियाना उडान २१४ मा २९१ जना सवार थिए र उक्त घटनामा तीनजना बालिकाको मृत्यु भएको थियो ।