
काठमाडौं । सोमबार (मार्च २३ मा) अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा गर्ने भनिएको सैन्य आक्रमणमा पाँच दिनको रोक लगाउने घोषणा गरेपछि विश्वले राहतको सास फेरेको छ ।
त्यसअघि ट्रम्पले इरानलाई ४८ घण्टाको अल्टिमेटम दिँदै हर्मुज जलयोजक नखोले इरानको विद्युत् ग्रिड पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिएका थिए । उक्त अल्टिमेटमको समय घर्किनै लागेको बेलामा ट्रम्पको अनपेक्षित घोषणा आएको हो ।
ट्रुथ सोसलमार्फत गरिएको यो घोषणा युद्ध चौथो हप्तामा प्रवेश गरेपछिको सबैभन्दा महत्त्वपूर्ण कूटनीतिक मोड मानिएको छ । ट्रम्पले इरानलाई तत्कालका लागि दिएको राहतको उद्देश्य संसारभरि बहसको विषय बनेको छ ।
के यो आकाशिएको तेलको मूल्य र हर्मुजमा इरानको प्रभावका कारण महँगिएको ढुवानी खर्च विरुद्धको सुझबुझपूर्ण कदम थियो ? कि खाडी मुलुकहरूले द्वन्द्व वृद्धिको खुड्किलो (एस्कलेशन ल्याडर) अनियन्त्रित हुने भन्दै दिएको गम्भीर चेतावनीका कारण ट्रम्प पछि हटेका हुन् ? यिनै प्रश्नहरूको वरिपरि रहेर प्रमुख सञ्चारमाध्यमहरूमा बहस भइरहेका छन् ।
विश्वव्यापी ऊर्जा बजारमा देखिएको अस्थिरता नै ट्रम्पको अस्थायी युद्धविरामको मुख्य कारण रहेको देखिन्छ । फेब्रुअरीको अन्त्यबाट सुरु भएको युद्धका कारण विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग हर्मुज जलयोजक ठप्प भएको छ । त्यसको परिणामस्वरूप मार्चको मध्यसम्ममा ब्रेन्ट क्रुड तेलको मूल्य प्रति ब्यारल झण्डै १२० डलर पुगेको थियो । त्यसले विश्वव्यापी मुद्रास्फीतिको भयानक अवस्था सिर्जना गर्ने खतरा बढेको थियो ।
ट्रम्पले सोमबार बिहान अमेरिकी सेयर बजार खुल्नुभन्दा ठीक दुई घण्टा अगाडि अस्थायी युद्धविरामको घोषणा गरेका थिए । त्यसलाई धेरैजसो विश्लेषकहरूले योजनाबद्ध कदम मानेका छन् । ग्यास (पेट्रोल) प्रतिग्यालन ७ डलर पुगेको अवस्थामा आगामी नोभेम्बरमा हुन लागेको मध्यावधि निर्वाचन लड्न वा देश नै चलाउन ट्रम्पलाई गाह्रो हुने थियो भनी विश्लेषकहरू दाबी गर्छन् ।
हर्मुजमा आएको अवरोधका कारण एसियाली मुलुकहरूलाई जतिको नकारात्मक प्रभाव अमेरिकालाई नपरेको भए पनि पेट्रोलियम पदार्थको मूल्यमा भएको सानो वृद्धिले पनि अमेरिकीहरूलाई बहालवाला सरकारप्रति आक्रोशित बनाइहाल्छ । त्यो कुरा बुझेर ट्रम्पले पाँच दिनका लागि आक्रमण रोक्ने निर्णय लिएका हुन सक्छन् । उनको यस घोषणालगत्तै ब्रेन्ट क्रुडको मूल्य १० प्रतिशतले घटेर प्रति ब्यारल १०१ डलरमा झरेको थियो ।
त्यसो त हर्मुजमा आएको अवरोधका कारण उत्पन्न तेल संकट सन् १९७० को भन्दा पनि खराब रहेको भन्दै अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले पहिले नै चेतावनी दिइसकेको थियो । त्यसैले ट्रम्प प्रशासनका लागि इरानमाथिको आक्रमणमा लगाइएको पाँच दिने रोक बजारलाई शान्त पार्ने महत्त्वपूर्ण कदम हो । तेहरानसँग फलदायी वार्ता भइरहेको संकेत दिएर ट्रम्प प्रशासनले सफलतापूर्वक बजारको त्रस्त मनोविज्ञानलाई शान्त बनायो र उपभोक्ताहरूलाई अलिकति भए पनि राहत दियो ।
ट्रम्पको घोषणाका पछाडि इन्धनको मूल्य ठूलो कारकतत्त्व भए पनि धरातलीय भूराजनीतिक अवस्था उत्तिकै गम्भीर थियो । साउदी अरब र संयुक्त अरब अमिरात (यूएई) लगायतका अमेरिकाका खाडी साझेदारहरूले ह्वाइट हाउसलाई द्वन्द्वको खुड्किलोका विषयमा कडा चेतावनी दिएको प्रमुख सञ्चारमाध्यमहरूले लेखेका छन् ।
तेहरानका पूर्व मेयर र व्यावहारिक रूपमा कट्टरपन्थी मानिने गालिबाफलाई कतिपय अमेरिकी अधिकारीहरूले मिलेर काम गर्न सकिने साझेदारका रूपमा लिएका छन् । तर, अन्य उपयुक्त पात्रहरूको पनि खोजी भइरहेको बताइएको छ
द्वन्द्वको खुड्किलो भन्नाले एक पक्षले गरेको आक्रमणको बदलामा अर्को पक्षले अझ बढी क्षति पुर्याउने गरी जवाफ दिन्छ र त्यसले युद्धलाई अनियन्त्रित बनाउँछ । ट्रम्पले इरानको नागरिक प्रयोजनका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने धम्की दिएपछि तेहरानले पनि अरब प्रायद्वीपका डिसेलिनेसन प्लान्ट (नुनिलो पानीलाई पिउन योग्य बनाउने संयन्त्र) हरूलाई पूर्ण रूपमा नष्ट गरिदिने उस्तै डरलाग्दो चेतावनी दिएको थियो ।
यूएई र कतार जस्ता देशहरूका लागि यी प्लान्टहरू नै पिउने पानीका मुख्य स्रोत हुन् । इरानले यी केन्द्रहरूमा आक्रमण गरेमा अभूतपूर्व मानवीय विपत्ति आउने पक्का थियो । इरानको नागरिक पूर्वाधारमा आक्रमण गर्दा लक्ष्मणरेखा पार हुने र त्यसले गर्दा इरानले आफ्ना प्रोक्सी समूहहरू (हुती र हिजबुल्लाह) मार्फत क्षेत्रभरिका ऊर्जा र पानी प्रणालीमा आक्रमण सुरु गर्ने भनी खाडी नेताहरूले ट्रम्पलाई स्पष्ट रूपमा भनेका थिए ।
पाँच दिने राहतको घोषणाका क्रममा इरानसँग पूर्ण र सम्पूर्ण युद्धविरामका लागि वार्ता भइरहेको पनि ट्रम्पले जानकारी दिए । यसमा ओमान र पाकिस्तानले मध्यस्थता गरिरहेको बताइएको छ । इरानविरुद्ध युद्ध गर्ने विषयमा हिचकिचाहट देखाएका अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्स पाकिस्तान गएर वार्ता गर्ने सम्भावना रहेको बताइन्छ । इरानलाई ट्रम्प प्रशासनले पाकिस्तानमार्फत सम्झौताका १५ वटा बुँदाहरू प्रस्तुत गरेको सीएनएनले लेखेको छ तर इरानले तीमध्ये कुन शर्त मानेको भन्ने स्पष्ट छैन ।
उता हर्मुजका विषयमा ओमानले इरान र अमेरिकाबीचको सन्देश आदानप्रदान गराइरहेको छ । इजिप्टले पनि सक्रिय रूपमा कूटनीतिक प्रयासहरू गरिरहेको बताइएको छ ।
यसैबीच अमेरिका र इजरायलको सैन्य आक्रमणका कारण इरानको परम्परागत नेतृत्व कमजोर बन्दै जाँदा वाशिङटनले इरानसँग डील गर्नका लागि नयाँ पात्र खोजेको चर्चा चलिरहेको छ । पोलिटिको लगायतका प्रमुख सञ्चारमाध्यमहरूका अनुसार, ट्रम्प प्रशासनले इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफलाई राजनीतिक समाधानका लागि सम्भावित साझेदारको रूपमा हेरिरहेको छ ।
गालिबाफले अमेरिकाको चर्को आलोचना गर्दै ट्रम्पलाई ट्रोल गरिरहेको भए पनि त्यो आन्तरिक खपतका लागि भएको र भेनेजुएलाकी डेल्सी रोड्रिगेजझैं उनीसँग कुराकानी गर्न सहज हुने ह्वाइट हाउसको निष्कर्ष छ भनी पोलिटिकोले लेखेको छ ।
यसरी ह्वाइट हाउसको रणनीति अब इरानको सैन्य विनाशबाट आफूअनुकूलको मान्छे ल्याउने सत्ता परिवर्तनतर्फ मोडिएको देखिन्छ । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेई कोमामा रहेको विश्वास अमेरिकाले गरेको छ । उनका बुवा अली खामेनेईको मृत्युसँगै तेहरानमा विभाजित नेतृत्वको स्थिति रहेको अमेरिकाको आकलन छ । यस रिक्ततामा तेहरानका पूर्व मेयर र व्यावहारिक रूपमा कट्टरपन्थी मानिने गालिबाफलाई कतिपय अमेरिकी अधिकारीहरूले मिलेर काम गर्न सकिने साझेदारका रूपमा लिएका छन् । तर, अन्य उपयुक्त पात्रहरूको पनि खोजी भइरहेको बताइएको छ ।
इरानी तेलको विषयमा सम्झौता गर्ने र निःशस्त्रीकरणमा सहमत हुने नेता स्थापित गर्नु ट्रम्प प्रशासनको उद्देश्य देखिन्छ । पुरानो प्रणालीकै हिस्साका रूपमा रहेका नेतासँग डिल गर्न सहज हुने ट्रम्प प्रशासनको सोचका कारण पूर्व राजाका छोरा रेजा पहलवीलाई इरानको शासक बनाउने सम्भावनालाई प्रशासनले नकारिदिएको छ ।
सार्वजनिक रूपमा भने गालिबाफ निकै आक्रामक देखिएका छन् । ट्रम्पले गरेको फलदायी वार्ताको दाबीलाई जवाफ दिँदै सभामुख गालिबाफले यसलाई बजारलाई शान्त बनाउने उद्देश्यले फैलाइएको फेक न्युज भनेका छन् । अमेरिका र इजरायलले सिर्जना गरेको दलदलबाट उम्किन ट्रम्पले यस्तो दाबी गरेको पनि उनले बताए ।
तर, अमेरिकी अधिकारीहरूले गालिबाफको यस अस्वीकारोक्तिलाई आन्तरिक राजनीतिक बाध्यता मात्र मानेका छन् । हुन पनि इरानी राजनीतिमा महान सैतान (अमेरिका) सँग कुरा गरेको देखिँदा ज्यानकै जोखिम हुन सक्छ । त्यसैले गर्दा गालिबाफले सार्वजनिक रूपमा अस्वीकार गरे पनि पाकिस्तान वा ओमान मार्फत भित्री रूपमा वार्ता गरिरहेको हुन सक्ने अनुमान गरिएको छ ।
इरानमा उत्तराधिकारको संकट यो सबै घटनाक्रमको पृष्ठभूमिमा छ । अली खामेनेईबाट मोज्तबामा शक्तिको हस्तान्तरण भए पनि सख्त घाइते अवस्थामा रहेका उनलाई युद्धको चपेटामा परेको देश सम्हाल्न कठिन भइरहेको छ ।
इरानको पुरानो नेतृत्वका सबैजना मारिएको भनी ट्रम्पले दाबी गरेका छन् । यसले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) को कमान्ड संरचनामा अमेरिकी र इजरायली आक्रमणले पुर्याएको क्षतिको गम्भीरतालाई झल्काउँछ । मोज्तबाको नेतृत्वले ढिलो–चाँडो पूर्ण विनाश वा गालिबाफ जस्ता व्यक्तिमार्फत गरिने सम्झौतामध्ये एकलाई रोज्नुपर्ने अमेरिकाले दाउ लगाएको छ ।
इरानमाथि पाँच दिनसम्म आक्रमणमा रोक लगाएर ट्रम्पले बाजी खेलेका हुन् । ट्रम्पका लागि यो दुवै हातमा लड्डु जस्तै हो । वार्ता सफल भएमा उनले आफूलाई विश्वयुद्ध रोक्ने महान सम्झौताकार साबित गर्नेछन् । वार्ता असफल भएमा उनले इरानलाई मौका दिएको तर इरान नमानेकाले थप कडा सैन्य कारबाही गर्नुपरेको भनी अमेरिकी जनतालाई बताउन पाउनेछन् ।
ट्रम्पको यो पछिल्लो दाउका बारेमा सचेत रहेको इरानले अमेरिकी भूलभुलैयाको प्रयासमा नफस्ने मन बनाएको देखिन्छ । अमेरिकाले इरानमा स्थल सैन्य परिचालनका लागि बहाना बनाइरहेको इरानीहरूको बुझाइ रहेकाले सतर्कता अपनाइरहेका छन् । सर्वोच्च नेता मोज्तबा खामेनेईका प्रमुख सैन्य सल्लाहकार मोहसेन रेजाईले युद्धका क्रममा इरानले बेहोरेका क्षतिको पूर्ति, सबै आर्थिक प्रतिबन्ध फुकुवा र इरानको मामिलामा अमेरिकाले हस्तक्षेप नगर्ने प्रत्याभूति नआउन्जेल युद्ध जारी रहने स्पष्ट पारेका छन् ।
टर्कीका विदेशमन्त्री हाकान फिदान र अमेरिकाका विशेषदूत स्टिभ विट्कफ बीच १५ बुँदे सम्झौताको मस्यौदाबारे छलफल भइरहेको बुझिएको छ । त्यसले दुवै पक्षलाई आफ्नो प्रतिष्ठा बचाउँदै युद्ध रोक्न मद्दत गर्नेछ
यसैबीच इरान र इजरायलले आक्रमण प्रत्याक्रमणको सिलसिला जारी राखेका छन् । कैयौं इरानी क्षेप्यास्त्रहरू इजरायलको दक्षिणी भागमा प्रतिरक्षा प्रणालीलाई छेडेर शहरमा बज्रिएको बताइएको छ । राजधानी तेल अभिभमा आइपुगेका इरानी क्षेप्यास्त्रका कारण ६ जनालाई सामान्य चोटपटक लागेको द टाइम्स अफ इजरायलले खबर प्रकाशन गरेको छ । इजरायल सरकारले नागरिकहरूलाई बम शेल्टरमा बसिरहन आग्रह गरेको छ ।
उता इरानका इशफाहान र खोर्रमशहरमा रहेका ऊर्जा पूर्वाधार केन्द्रहरूमा आक्रमण भएको खबर छ । राजधानी तेहरानमा आफूले आक्रमण गरिरहेको पनि इजरायलले दाबी गरेको छ । साउदी अरब र कुवेतले पनि आफ्ना पूर्वाधारहरूमा ड्रोन आक्रमण भएको जानकारी दिएका छन् ।
हुन त ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सम्झौतामार्फत युद्धका लक्ष्यहरू पूरा हुने आश्वासन दिएका छन् । तर, इजरायललाई पृथ्वीबाटै नामेट बनाइदिने इरानको नीतिमा १८० कोणको परिवर्तन आउला भनेर पत्याउन सकिँदैन । इजरायललाई सताइरहनका लागि इरानले बनाएको प्रतिरोधको अक्ष (एक्सिस अफ रेजिस्टेन्स) पनि भंग गर्ने अपेक्षा गर्न सकिँदैन ।
इजरायलको अस्तित्वलाई इरानले स्वीकार नगरेसम्म र इजरायलले प्यालेस्टाइन समस्यालाई द्विराज्यीय समाधानमार्फत सुल्झाउन सहमति नजनाएसम्म दुई देशबीचको तनाव कायम रहिरहनेछ ।
तत्कालको युद्धविराम कायम गराउन टर्की र पाकिस्तान जस्ता क्षेत्रीय मध्यस्थकर्ताहरूको भूमिका निर्णायक हुनेछ । टर्कीका विदेशमन्त्री हाकान फिदान र अमेरिकाका विशेषदूत स्टिभ विट्कफ बीच १५ बुँदे सम्झौताको मस्यौदाबारे छलफल भइरहेको बुझिएको छ । त्यसले दुवै पक्षलाई आफ्नो प्रतिष्ठा बचाउँदै युद्ध रोक्न मद्दत गर्नेछ । तर, इरानले नागरिक प्रयोजनका लागि युरेनियम संवर्धन गरिरहने अड्डी परित्याग गर्ने सम्भावना न्यून छ।
ट्रम्पले दिएको अस्थायी युद्धविरामको १२० घण्टाको समय बिस्तारै घर्किंदै जाँदा विश्वको नजर पर्सियाली खाडीमा अडिएको छ । त्यस अवधिभित्र सम्झौता भएन भने द्वन्द्वको खुड्किलो अझै उचाइमा जानेछ । तत्कालका लागि भने विश्व अर्थतन्त्रले राहतको सास फेरेको छ यद्यपि विरोधाभासी कुराहरू आइरहँदा संसारभरिका बजारहरू अझै पनि आशंकित छन् ।








प्रतिक्रिया