
एजेन्सी । दक्षिण अमेरिकी मुलुक कोलम्बियाको सशस्त्र बलका प्रमुखका अनुसार, सोमबार कोलम्बियाको प्वेर्तो लेगिजामोमा उडान भरेको केही बेरमै १२८ जना (जसमा धेरैजसो सैनिक थिए) सवार एउटा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
जनरल ह्युगो अलेहान्द्रो लोपेज ब्यारेटोले चारजना सैनिक अझै बेपत्ता रहेको बताए ।
‘दुःखद कुरा, यस दर्दनाक दुर्घटनाको परिणामस्वरूप हाम्रा ६६ जना सैनिकहरूको मृत्यु भयो,’ उनले भने ।
ब्यारेटोले थपे, ‘अहिलेको अवस्थामा यो कुनै अवैध सशस्त्र समूहले गरेको आक्रमण हो भन्ने हामीसँग कुनै जानकारी वा संकेत छैन ।’
सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा उपमेयर कार्लोस क्लारोसले पीडितहरूका शवहरूलाई उक्त सानो शहरको शवगृहमा लगिएको र घाइतेहरूलाई ठूला शहरहरूमा उडाउनुअघि शहरमा रहेका दुईवटा मात्र क्लिनिकमा उपचार गरिएको बताए । प्वेर्तो लेगिजामो इक्वेडर र पेरुसँग सीमा जोडिएको अमेजन प्रान्त पुटुमायोमा अवस्थित छ ।
क्लारोसले कोलम्बियाली टेलिभिजन स्टेसन आरसीएनलाई भने, ‘यस दुर्घटनाका पीडितहरूलाई सहयोग गर्नका लागि अघि सर्नुभएका प्वेर्तो लेगिजामोका जनतालाई म धन्यवाद दिन चाहन्छु ।’
रक्षामन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल एक्समा सोमबार दुर्घटनाग्रस्त भएको उक्त विमानले सैनिकहरूलाई पुटुमायोको अर्को शहरमा लगिरहेको बताए ।
कोलम्बियाली सञ्चारमाध्यमहरूले अनलाइन सेयर गरेका तस्बिरहरूमा विमान दुर्घटना भएको मैदानबाट कालो धूवाँको मुस्लो उडिरहेको र सैनिकहरू सहितको एउटा ट्रक घटनास्थलतर्फ हुइँकिरहेको देखाइएको छ ।
उक्त विमानमा १२८ जना सवार थिए जसमा सेनाका ११५ जना, चालक दलका ११ सदस्य र राष्ट्रिय प्रहरीका २ जना थिए । ब्यारेटोले ५७ जनालाई उद्धार गरिएको बताए ।
स्थानीय बासिन्दाहरूले चलाएको मोटरसाइकलमा सैनिकहरूलाई घटनास्थलबाट हतार–हतार लगिँदै गरेको भिडियोहरू सञ्चारमाध्यमहरूले सेयर गरेका छन् जबकि बासिन्दाहरूको अर्को समूहले बाक्लो रुख–बिरुवाले घेरिएको मैदानमा विमान दुर्घटनाले निम्त्याएको आगो निभाउने प्रयास गरिरहेका थिए ।
कोलम्बियाको वायुसेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाले दुर्घटनाको विस्तृत विवरण अझै थाहा नभएको बताए । विमानमा समस्या आएको थियो र विमानस्थलबाट करिब दुई किलोमिटर पर खसेको थियो जानकारी उनले दिए ।
वायुसेनाका कमान्डरले घाइतेहरूलाई राजधानी बोगोटा र अन्य ठाउँका अस्पतालहरूमा फर्काउन ७४ शय्या भएका दुईवटा विमानहरू उक्त क्षेत्रमा पठाइएको थपे ।
राष्ट्रपति पेट्रोले यस दुर्घटनालाई आफ्नो देशको सेनाले प्रयोग गर्ने विमान र अन्य उपकरणहरू आधुनिकीकरण गर्ने आफ्नो लामो समयदेखिको अभियानलाई प्रवर्धन गर्ने अवसरको रूपमा लिए । ती प्रयासहरूलाई कर्मचारीतन्त्रका कठिनाइहरूले रोकेको बताउँदै केही अधिकारीहरूलाई जवाफदेही बनाउनुपर्ने सुझाव पनि उनले दिए ।
‘नागरिक वा सैन्य प्रशासनिक अधिकारीहरू चुनौतीको सामना गर्न सक्षम छैनन् भने उनीहरूलाई हटाइनुपर्छ,’ पेट्रोले भने ।
राष्ट्रपतिका आलोचकहरूले बजेट कटौतीका कारण पेट्रो प्रशासनमा सैन्य विमानहरूलाई कम उडान घण्टा दिइएको औंल्याएका छन् जसले गर्दा चालक दलको अनुभव कम हुन जान्छ ।
कोलम्बियाली उड्डयन विशेषज्ञ तथा सैन्य विश्लेषक एरिच सौमेथले सोमबार दुर्घटनाग्रस्त भएको हर्कुलिस सी–१३० सन् २०२० मा अमेरिकाले कोलम्बियालाई दान दिएको बताए । तीन वर्षपछि यसले ओभरहल भनेर चिनिने विस्तृत मर्मतसम्भार प्रक्रिया पार गर्याे जसमा यसका इन्जिनहरू निरीक्षण गरियो र प्रमुख पाटपुर्जाहरू परिवर्तन गरियो ।
‘मलाई लाग्दैन, राम्रो पाटपुर्जाहरूको अभावका कारण यो विमान दुर्घटनाग्रस्त भएको हो,’ सौमेथले भने । उनले चारवटा पंखा भएको हर्कुलिसका इन्जिनहरू उडान भरेको यति छिट्टै किन फेल भए भन्ने कुरा अनुसन्धानले पत्ता लगाउनुपर्ने बताए ।
सोमबार एक्समा एक सन्देश लेख्दै रक्षामन्त्री सान्चेजले प्वेर्तो लेगिजामो नजिकै सक्रिय विद्रोही समूहहरूले विमानमा आक्रमण गरेको संकेत गर्ने कुनै आधार हालसम्म फेला नपरेको बताए ।
यो दुर्घटना देशको लागि अत्यन्तै पीडादायी थियो, सान्चेजले लेखेका छन् । उनले थपे, ‘हामी आशा गर्छौं, हाम्रा प्रार्थनाहरूले केही पीडा कम गर्न मद्दत गर्नेछ ।’








प्रतिक्रिया