
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुईतिहाइ बहुमतका लागि २ सिट नपुग्ने भएको छ । समानुपातिकतर्फको मतगणना सकिँदा रास्वपाले समानुपातिकबाट ५७ सिट प्राप्त गर्न सक्ने देखिएको छ।
समानुपातिकतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । कुल १ करोड ७ लाख ८५ हजार ८७६ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ५७ हजार १३० मत पाएको निर्वाचन आयोगको पछिल्लो विवरणले देखाउँछ ।समानुपातिकतर्फको मतगणना सकिएसँगै आयोगले सिट बाँडफाँटको प्रक्रिया अगाडि बढाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५७ सिट प्राप्त गर्ने देखिएको छ । समानुपातिकमा ५७ सिट प्राप्त गर्दा रास्वपालाई दुईतिहाइ बहुमतका लागि २ सिट नपुग हुने देखिएको छ । प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी रास्वपाको १८२ सिट मात्रै पुग्ने देखिन्छ। कुल २७५ सदस्य रहेको प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट र दुईतिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ।
रास्वपाले १८२ सिट मात्रै पुर्याउने देखिएको निर्वाचन आयोगले सार्वजनिक गरेको प्रत्यक्षतर्फको मतगणना परिणाम र समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मतले देखाउँछ।
रास्वपा दुईतिहाइ नजिक पुग्दा नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउने देखिएको छ। प्रत्यक्षमा १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउँदा कुल ३८ सिटसम्म पुग्नेछ। कांग्रेसले समानुपातिकमा १७ लाख ५५ हजार ८७२ मत पाएको छ ।
यस्तै नेकपा एमालेले समानुपातिकमा १६ सिट पाउनेछ । प्रत्यक्षमा ९ सिट जितेको एमालेको समानुपातिकसहित कुल २५ सिट पुग्नेछ । एमालेले समानुपातिकमा १४ लाख ५२ हजार ७५८ मत पाएको छ। यस्तै प्रत्यक्षमा ८ सिट जितेको नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ९ सिटसहित १७ सिट पुग्ने देखिएको छ । नेकपाले समानुपातिकमा ८ लाख ९ हजार ५७७ मत प्राप्त गरेको छ । निर्वाचन आयोगले धनुषा १ मा मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिए पनि निर्वाचनको २ दिनअघि आयोगले उम्मेदवारी खारेज गरेका रास्वपा उम्मेदवार अदालत गएका छन् । उनको पक्षमा अदालतको आदेश आएमा रास्वपाको प्रत्यक्षमा १ सिट थप हुँदा नेकपाको १ सिट घट्नेछ ।
यस्तै प्रत्यक्षमा ३ सिट जितेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सिट पाउने देखिएको छ । श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ८५ हजार ७४१ मत पाएको छ। यस आधारमा श्रम संस्कृति पार्टी ७ सिटसहित संसद्मा प्रतिनिधित्व गर्ने भएको छ । यस्तै प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि समानुपातिकमा ४ सिट पाउने भएको छ । यस आधारमा राप्रपा ५ सिटसहित संसद्मा प्रतिनिधित्व गर्नेछ । राप्रपाले समानुपातिकमा ३ लाख ३० हजार २६८ मत प्राप्त गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक मत अनुसार रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले मात्रै थ्रेसहोल्ड कटाउँदा समानुपातिक सिट यिनै ६ दलमा बाँडफाँट हुनेछ।
कसरी निकालिन्छ समानुपातिक सिट ?
निर्वाचन आयोगले दलहरुले प्राप्त गरेको सदर मतलाई सिटमा रुपान्तरण गर्न अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको ‘सेन्ट लग’ विधिको प्रयोग गर्ने जनाएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक गरी दुईवटा निर्वाचन प्रणालीको प्रयोग भएको छ ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानेर दलहरुले बन्द सूचीमार्फत उम्मेदवारी दिने गर्दछन् । यस प्रणालीमा दलले प्राप्त गरेको कुल सदर मतको आधारमा सिट संख्या निर्धारण गरिन्छ ।
घिमिरेकाअनुसार दलहरुले पाएको सदर मतलाई बिजोर नम्बरहरु (१, ३, ५, ७, ९, ११, १३ आदि) ले निरन्तर भाग गरिन्छ । यसरी भाग गर्दा आउने भागफलहरुलाई ठूलोबाट सानो क्रममा मिलाएर राखिन्छ । समानुपातिकतर्फ जम्मा १ सय १० सिट हुने भएकाले माथिबाट गन्दै जाँदा सबैभन्दा ठूला १ सय १० वटा भागफल छानिन्छन् । ति १ सय १० वटा ठूला भागफल कुन–कुन दलको भागमा पर्छन्, त्यही आधारमा उनीहरुले सिट प्राप्त गर्छन् । बढी मत ल्याउने दलको भागमा धेरै ठूला भागफल पर्ने भएकाले उनीहरुले धेरै सिट पाउँछन् भने कम मत ल्याउनेले थोरै सिट पाउँछन् । यसै विधिलाई प्राविधिक रुपमा ‘सेन्ट लग मेथड’ भनिन्छ ।
सिट पाएपछि के हुन्छ प्रक्रिया ?
सिट संख्या यकिन भइसकेपछि दलहरुले कानूनले तोकेको समावेशी सिद्धान्त (आदिवासी जनजाति, मधेसी, खस आर्य, थारु, दलित आदि) बमोजिमको क्लस्टर मिलाएर ३ दिनभित्र आयोगमा नाम सिफारिस गर्नुपर्ने हुन्छ । दलहरुले पठाएको नाम बन्द सूचीको क्रम र समावेशी कानून बमोजिम छ वा छैन भनेर निर्वाचन आयोगले छानविन (भेरिफिकेसन) गर्छ । कानूनसम्मत देखिएपछि मात्र अन्तिम नामलाई निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र वितरण गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिए ।







प्रतिक्रिया