रिलायन्स स्पिनिङ मिल्सद्वारा ६ करोड रुपैयाँ बोनस वितरण, नाफामा उल्लेख्य वृद्धि

567
Shares

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना कर्मचारीहरूलाई ६ करोड २ लाख ४७ हजार ९६३ रुपैयाँ बोनस वितरण गरेको छ । कम्पनीको खुद नाफामा भएको वृद्धिसँगै बोनस रकम पनि अघिल्लो वर्षको तुलनामा करिब ५०० प्रतिशतले बढेको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा १ करोड १ लाख ८ हजार रुपैयाँ बोनस वितरण गरिएको थियो। यस पटक कर्मचारीहरूले करिब ६९ दिन बराबरको बोनस प्राप्त गरेका छन् ।

कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको रिलायन्सले गत आर्थिक वर्ष २०८१/८२ मा ८ सय ४५ प्रतिशतको वृद्धिसहित ४७ करोड ५८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, कम्पनीको कुल नाफा पनि अघिल्लो वर्षको ८६ करोड ५० लाखबाट बढेर १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरणअनुसार कम्पनीले १३ करोड ७४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने प्रतिशेयर नेटवर्थ ४९० रुपैयाँ ५४ पैसा रहेको छ । हालै मात्र बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको यो कम्पनी धितोपत्र बजारमा समेत सूचीकृत भइसकेको छ ।

सुनसरीको खनार र दुहबीमा सञ्चालित यस उद्योगमा ४ हजार जनशक्ति कार्यरत छन्, जसमा १ हजार ३ सय महिला छन् । उद्योग परिसरमा कर्मचारीका लागि आवास (लेवर कोलोनी), बाल हेरचाह केन्द्र (डे केयर), स्तनपान कक्ष, खेल मैदान र स्वास्थ्य सुविधाका साथै कर्मचारीका सन्तानका लागि कक्षा १२ सम्मको शिक्षाको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

२०५४ सालमा गोल्यान समूहद्वारा स्थापित यस उद्योगले हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डल क्षमतामा उत्पादन गरिरहेको छ । उद्योगले कपास, पोलिस्टर र एक्रेलिक धागो उत्पादन गरी नेपालका साथै भारत र टर्कीलगायतका देशमा वार्षिक करिब ५ करोड अमेरिकी डलर बराबरको निर्यात गर्दै आएको छ । हाल कम्पनीको नेतृत्व गोल्यान ग्रुपको अध्यक्षसमेत रहेका अक्षय गोल्यानले गरिरहेका छन् ।

Skip This