सम्पूर्ण अपडेट

समानुपातिक अपडेट: पाँच दल ‘राष्ट्रिय दल’ बन्ने दौडमा, माटो निकै पछाडि

1.8k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको मतगणना जारी रहँदा हालसम्म पाँचवटा राजनीतिक दलहरू मात्र ‘राष्ट्रिय दल’ बन्ने दिशामा अग्रसर देखिएका छन् । देशभरि करिब २५ प्रतिशत (२९ लाख १० हजार ६७७ मत) गणना सकिँदाको प्रारम्भिक नतिजाले यस्तो संकेत गरेको हो।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (तारा चिह्न) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मात्र हालसम्मको कुल सदर मतको ३ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् । एक सिट जितिसके पनि श्रम संस्कृति पार्टीलाई भने थ्रेसहोल्ड कटाउन मुस्किल देखिएको छ ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउनका लागि कुनै पनि राजनीतिक दलले प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने र समानुपातिकतर्फ कुल सदर मतको न्यूनतम ३ प्रतिशत (थ्रेसहोल्ड) कटाउनुपर्ने कानुनी व्यवस्था छ ।

रास्वपा, नेपाली कांग्रेस र नेकपा (एमाले) अहिलेकै अवस्थामा राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ । यी दलहरूले प्रत्यक्षतर्फ सिट जितिसकेका छन् भने समानुपातिकमा कुल खसेको मतको अनुपातमा ३ प्रतिशतभन्दा धेरै मत प्राप्त गरिसकेका छन् ।

हालसम्मको मतअनुसार रास्वपाले १४ लाख ६१ हजार ३८१ मत ल्याएको छ । यो कुल सदर मतको करिब ५० प्रतिशत हो ।
नेपाली कांग्रेसले ४ लाख ९४ हजार २५१ मत (करिब १७ प्रतिशत) र नेकपा (एमाले)ले ४ लाख ०३ हजार ८९९ मत (करिब १४ प्रतिशत) ल्याएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (तारा चिह्न) ले अहिले करिब साढे ६ प्रतिशत (१ लाख ९३ हजार ५५०) मत पाएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब एक करोड १० लाख मत खसेको आधारमा ३ लाख ३० हजारभन्दा बढी मत आवश्यक पर्छ । नेकपालाई यो थ्रेसहोल्ड कटाउन सजिलो देखिन्छ ।

त्यसैगरी, राप्रपाले हालसम्म ३.६६ प्रतिशत अर्थात् १ लाख ६ हजार ३९६ मत पाएको छ । उसले राष्ट्रिय दलको मान्यता पाउन अहिलेको यो अनुपातलाई अन्तिमसम्म कायम राख्नुपर्ने चुनौती छ ।

राष्ट्रिय दलको मान्यता पाउने दौडमा रहेको अर्को शक्ति ‘श्रम संस्कृति पार्टी’ का लागि समानुपातिकको थ्रेसहोल्ड चुनौतीपूर्ण देखिएको छ । प्रत्यक्षतर्फ खोटाङ जितेको श्रम संस्कृति पार्टीका सुनसरी–१ बाट पार्टी अध्यक्ष हर्क साङ्पाङले जित सुनिश्चित गर्ने देखिए पनि समानुपातिकमा भने यो पार्टी अहिले २ प्रतिशत (४९ हजार २४१ मत) मा सीमित छ । राष्ट्रिय दल बन्न उसलाई अहिलेको भन्दा बढी अनुपातमा मत आवश्यक पर्ने देखिन्छ ।

अन्य दलहरू जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय परिवर्तन पार्टीहरू पनि हालसम्म थ्रेसहोल्डभन्दा निकै तल रहेका छन् । उनीहरू प्रत्यक्षतर्फ एक सिट पनि जितेका छैनन् ।