
कलैया । बारा जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साह भारी मतान्तरका साथ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछाडि पार्दै सानदार जित हासिल गरेका हुन् ।
प्रविधि उद्यमी साहले ४० हजार ६९७ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले मात्र १० हजार ०५२ मत प्राप्त गरेका छन् । साह र मंसुरबीचको मतान्तर ३० हजार ६४५ रहेको छ।
सो क्षत्रेमा नेकपा एमालेकी उम्मेदवार ज्वाला कुमारी साह ५ हजार २७१ मतमा सीमित भइन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का रामबाबु कुमार यादवले ६ हजार ८८४ मत प्राप्त गरे भने जनमत पार्टीका प्रमोद प्रसाद गुप्ताले ३ हजार ८१९ मत पाए ।
अरविन्द साह भुक्तानी सेवा प्रदायक खल्तीका सह–संस्थापक हुन् । साहले उम्मेदवारी दर्ता गराउँदै परिणाममुखी राजनीति, ग्रामीण विकास र डिजिटल रूपान्तरणप्रति आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गरेका थिए ।









प्रतिक्रिया