
रौतहट । पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्रीसम्मका प्रभावशाली नेताहरू प्रतिस्पर्धामा रहेको प्रतिनिधि सभा निर्वाचन अन्तर्गतको रौतहट निर्वाचन क्षेत्र नं. १ को पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेपाली कांग्रेसबाट पूर्वमन्त्री अनिल कुमार झा, जसपा नेपालबाट प्रदेश सरकारका पूर्वराज्यमन्त्री योगेन्द्र राय यादव तथा एमालेका अजय कुमार गुप्ता लगायतका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको रौतहट १ मा रास्वपाका राजेश कुमार चौधरीले फराकिलो अग्रता लिदै आफ्नो वियजी तर्फ अग्रसर हुँदै गएको देखिएको छ ।
शुक्रबार विहानै देखि जारी रहेको मतगणनामा राजेश कुमार चौधरीले सुरुदेखि नै अग्रता कायम गर्दै आएका छन् । यो समाचार तयार पार्दासम्म ५२ हजार ५३५ मतगणना हुदा चौधरीले २१ हजार ५८८ मत प्राप्त गरि अग्रता बनाइरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमाले ८ हजार ११० मत प्राप्त गरि दोस्रो भएका छन् ।
त्यसैगरी कांग्रेस उम्मेदवार अनिल कुमार झाले ६ हजार ४९ मत ल्याएर तेस्रो बन्दा नेकपाका उम्मेदवार माधव कुमार नेपाल ५ हजार ४७२ मतसहित चौथो स्थानमा छन् । उनी पहिलो स्थानका चौधरी भन्दा १६ हजार ११६ मतले पछि परेका छन् ।
यस्तै जसपाका योगेन्द्र राय यादवले ५ हजार ३२४ मत प्राप्त गरेका छन् ।
रौतहट क्षेत्र नं. १ मा कुल खसेको मत ७१ हजार २०३ मत मध्ये ५२ हजार ५३५ मतगणना भएको हो ।








प्रतिक्रिया