सम्पूर्ण अपडेट

रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा-१ मा मतगणना अनिश्चितकालका लागि स्थगित

371
Shares

धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य तत्कालका लागि स्थगित गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि मतगणना रोकिएको जानकारी दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको उम्मेदवारी रद्द भएको विषयलाई लिएर उत्पन्न विवाद र अन्य प्राविधिक कारणले गर्दा मतगणना प्रक्रिया अघि बढ्न नसकेको हो ।

निर्वाचन अधिकृत मनोज बरालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘मतगणना सम्बन्धमा स्पष्ट निर्देशन पाउँ भनी श्री निर्वाचन आयोग नेपाललाई च.नं. १९८ मिति २०८२/११/२२ को पत्रद्वारा पत्राचार भइसकेको छ। तर निर्वाचन आयोगबाट अहिलेसम्म निर्देशन प्राप्त भइनसकेकाले आयोगबाट निर्देशन प्राप्त भएपश्चात मात्र मतगणना कार्य प्रारम्भ गरिनेछ ।’

मतगणना कहिलेबाट सुरु हुने भन्नेबारे आयोगको जवाफ आएपछि अर्को सूचनामार्फत जानकारी दिइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँबाट रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी रद्द भएको थियो ।