निर्वाचन पर्यवेक्षक एन्फरेलको प्रतिवेदनः यसपालीको चुनाव औसतभन्दा थोरै राम्रो

147
Shares

काठमाडौं । एसियन नेटवर्क फर फ्री इलेक्सन (एन्फरेल) ले नेपालमा सम्पन्न सन् २०२६ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाएको छ । निर्वाचन पर्यवेक्षणका क्रममा एन्फरेलले मतदाताको सक्रिय सहभागिता र सुरक्षा व्यवस्थाको प्रशंसा गरे पनि अपाङ्गता भएका व्यक्तिको पहुँच र पर्यवेक्षकहरूको अवरोधका विषयमा भने चासो व्यक्त गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै एन्फरेलले नागरिक आन्दोलन र राजनीतिक जवाफदेहिताको मागका बीच नेपाली मतदाताहरूले लोकतन्त्रप्रतिको आफ्नो प्रतिबद्धता पुनः प्रमाणित गरेको उल्लेख गरेको छ ।

एन्फरेलले नेपालका ३०३ वटा मतदान केन्द्रहरूको अनुगमन गरेको थियो, जसमा ५९ प्रतिशत सहरी र ४१ प्रतिशत ग्रामीण क्षेत्र समावेश थिए । पर्यवेक्षण गरिएका ९४ प्रतिशत मतदान केन्द्रहरूमा मतपत्र, मतपेटिका र अमिट मसी (नङमा लगाइने मसी) लगायतका निर्वाचन सामग्रीहरू समयमै उपलब्ध भएको पाइएको छ । यद्यपि, ५६ प्रतिशत केन्द्रमा मात्रै तोकिएको समयमा मतदान सुरु भएको र बाँकीमा केही ढिलाइ भएको प्रतिवेदनमा उल्लेख छ ।

मतदान प्रक्रिया प्रभावकारी रहेको र करिब ७२ प्रतिशत मतदाताले ५ मिनेटभित्रै मतदान सम्पन्न गरेको पाइएको छ । तर, केही स्थानमा मतदानको गोपनीयता कायम राख्न प्रयोग गरिएका बुथहरूको व्यवस्थापनमा कमजोरी देखिएको र कतिपय ठाउँमा प्रयोग गरिएको ‘अमिट मसी’ सजिलै मेटिने खालको रहेको भन्दै गुणस्तरमा प्रश्न उठाइएको छ ।

निर्वाचनका क्रममा सुरक्षाकर्मीको उपस्थिति बाक्लो र दृश्यमान रहेको एन्फरेलले जनाएको छ । ७२ प्रतिशत केन्द्रहरूमा सशस्त्र सुरक्षाकर्मीको उपस्थिति थियो, जसले शान्ति कायम गर्न सहयोग पुर्‍याए पनि मतदान क्षेत्रभित्रै हतियारधारी प्रहरीको उपस्थितिले मतदातामा केही मनोवैज्ञानिक त्रास वा प्रभाव पार्न सक्ने तर्फ सचेत गराइएको छ ।

विशेष गरी सुरक्षाकर्मीहरूमा पर्यवेक्षकको भूमिका र अधिकारबारे स्पष्ट जानकारी नहुँदा केही स्थानमा अन्तर्राष्ट्रिय र स्वदेशी पर्यवेक्षकहरूलाई मतदान केन्द्रमा प्रवेश गर्न वा लामो समय बस्न रोक लगाइएको घटनाहरू पनि सार्वजनिक भएका छन् ।

एन्फरेलले नेपालका मतदान केन्द्रहरू अपाङ्गतामैत्री नभएकोमा चिन्ता व्यक्त गरेको छ । पर्यवेक्षण गरिएकामध्ये मात्र ३९ प्रतिशत केन्द्रमा र्‍याम्पको सुविधा थियो । धेरैजसो मतदान केन्द्रहरू विद्यालय वा सार्वजनिक भवनका माथिल्लो तल्ला वा असहज ठाउँमा रहेकाले ज्येष्ठ नागरिक र शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई मतदान गर्न कठिनाइ भएको प्रतिवेदनमा उल्लेख छ ।

एन्फरेलका पर्यवेक्षकहरूको रिपोर्ट अनुसार २२ प्रतिशतले प्रक्रियालाई ‘धेरै राम्रो’, ३३ प्रतिशतले ‘राम्रो’, ३९ प्रतिशतले ‘औसत’ (केही साना त्रुटि सहित) र ६ प्रतिशतले प्रक्रियालाई ‘कमजोर’ भनेका छन् ।

एन्फरेलले आगामी निर्वाचनहरूमा पहुँचयोग्यता, पर्यवेक्षकहरूको निर्बाध पहुँच र सुरक्षाकर्मीहरूको अभिमुखीकरणमा सुधार गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । संस्थाले निर्वाचनको विस्तृत अन्तरिम प्रतिवेदन आगामी मार्च ८ (फागुन २४) मा सार्वजनिक गर्ने जानकारी दिएको छ ।