अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

280
Shares

काठमाडौं । आम निर्वाचनको आसपासमा करिब एक साता बिदा परेको थियो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दिएको थियो । त्यसअघि फागुन १८ गते सोमबार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको बिदा परेको थियो । यस्तै २३ गते शनिबार परेको थियो । यस आधारमा एक साता सार्वजनिक बिदा भएको थियो । अझ महिलाहरूका लागि फागुन २४ गते नारी दिवसको बिदा छ ।

करिब ८० दिनभन्दा बढी २०८२ मा बिदा दिने निर्णय गरेको सरकारले आगामी २०८३ सालमा शनिबार र विभिन्न चाडपर्व, जयन्तीलगायत गरी १०९ दिन सार्वजनिक बिदा दिने भएको छ । कतिपय दिन देशभर र कतिपय दिन सम्बन्धित क्षेत्र र समुदायका लागि बिदा तोकिएको छ । सरकारले आठ प्रकारका बिदा निर्धारण गरेको छ । जसअनुसार २०८२ मा शनिबार ५२ दिन सार्वजनिक बिदा तय गरिएको छ । त्यस्तै, पर्व बिदा सबैले पाउँछन् ।

महिला कर्मचारी, शिक्षण संस्था, जात्रा, दिवस, अपाङ्गता भएका कर्मचारी, जयन्ती तथा दिवसका अवसरमा कतिपय बिदा देशभर र कतिपय सम्बन्धित क्षेत्र तथा समुदायका व्यक्तिका लागि निर्धारण गरिएको छ ।

यससँगै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको बिदालाई ध्यानमा राखेर १८ दिनसम्म सार्वजनिक बिदा आफैं व्यवस्थापन र समायोजन गर्न पाउने व्यवस्था छ । प्रदेश र स्थानीय सरकारले पनि आफ्ना क्षेत्रको धर्म र संस्कृतिका आधारमा थप ६ दिन सार्वजनिक बिदा दिन पाउनेछन् ।

यसरी अत्यधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित बन्न थालेको छ । सार्वजनिक बिदाका कारण मजदुरहरू काममा नआउने र सरकारी कामसमेत प्रभावित हुँदा समस्या पर्न थालेको निजी क्षेत्रका अगुवाहरूले बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक बिदा अत्यधिक हुँदा काममा असर पर्न थालेको बताए ।

उनका अनुसार भूगोल र जनसंख्याको हिसाबले नेपाल सानो भए पनि सार्वजनिक बिदा दिने प्रचलन धेरै हुँदा यसको असर काममा पर्न थालेको छ । ‘भूगोल र जनसंख्याको हिसाबले नेपाल धेरै नै सानो छ । भारत र चीनभन्दा ३०/३५ गुणा जनसंख्याका आधारमा नेपाल सानो छ । सानो देशमा धेरै विविधता छ, त्यो विविधताको सम्मान गर्नुपर्छ । तर सम्मान गर्ने क्रममा मुलुकको अर्थतन्त्र संकुचनमा लैजाने, जीडीपी र आर्थिक वृद्धिदर घटाउने तथा प्रगतिमा बाधा पुर्‍याउने गरी धेरै सार्वजनिक बिदा हुने गरेको छ’ उनले भने ।

उनले थपे, ‘जुन समुदायलाई बिदा दिनुपर्ने हो, अब त्यही समुदायलाई मात्रै बिदा दिनुपर्छ । हरेक समुदायका सबैले बिदा प्राप्त गर्दा नेपालमा काम गर्ने दिनभन्दा सार्वजनिक बिदा धेरै हुन थालेको छ । धेरै भाषाभाषी र संस्कृति भएकै कारण बिदा दिएर मात्रै मनाउनुपर्छ भन्ने होइन । शहीद दिवसका दिन पनि बिदा दिइन्छ, तर बिदा दिन जरुरी छैन । काम गर्दै कार्यक्रम पनि गर्न सकिन्छ । बिदाका कारण मुलुकको विकाससँगै अर्थतन्त्रलाई पछाडि धकेलिरहेका छौँ ।’

उनले बिदाका कारण सरकारी कर्मचारी घरमै बस्दा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको बताए । निर्माण क्षेत्रमा सार्वजनिक बिदाले काम गर्न निकै कठिन भइरहेको उनको भनाइ छ । उनका अनुसार केही काम सार्वजनिक बिदामा भए पनि धेरै मजदुरले चाडपर्व मनाउनुपर्ने भन्दै काममा नआउँदा समस्या हुने गरेको छ ।