भक्तपुर–२: महेश बस्नेतको कमब्याक होला कि अरुले मार्लान् बाजी?

91
Shares

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि सर्वाधिक चर्चामा रहेका राजनीतिक व्यक्ति मध्येका एक हुन् महेश बस्नेत । पार्टीका टर्फबाट समर्थन र अन्य सबैजसो पक्षबाट आलोचना खेपेका बस्नेत हाल भक्तपुर–२ मा निर्वाचन प्रचारप्रसारमा व्यापक रुपमा खटिरहेका छन् ।

२०७४ मा भक्तपुर–२ बाट निर्वाचित भएका बस्नेतले २०७९ को निर्वाचनमा भने पराजय बेहोर्नुपरेको थियो । त्यतिबेला नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीसँग पराजित भएका बस्नेतलाई जेनजी आन्दोलनपछि नागरिकले कसरी मूल्यांकन गरिरहेका छन् भन्ने विषयको छिनोफोनो सम्भवतः यहि फागुन २१ मा हुने निर्वाचनबाट हुनेछ ।

२०७९ को निर्वाचनमा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले २५ हजार २३९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले ७ हजार १२७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४ हजार ९८ मत पाएका थिए ।

यस समयमा समानुपातिकतर्फ एमालेले १७ हजार ८७६ मत, कांग्रेसले १४ हजार ८९५ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ८९६ मत र नेपाल मजदुर किसान पार्टीले ७ हजार ८६३ मत प्राप्त गरेका थिए । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार ४८९ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले २ हजार ७३१ र नेपाल एकीकृत समाजवादीले १ हजार ६७९ मत पाएको थियो ।

हाल भक्तपुर २ मा एमालेका तर्फबाट महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट राजीव खत्री, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रामप्रसाद सापकोटा, राप्रपाका तर्फबाट बिक्रम थापा र नेपाली कांग्रेसका तर्फबाट कविर राणा उम्मेदवार छन् । विगतको आँकडा हेर्दा यस क्षेत्रमा एमाले, रास्वपा र कांग्रेस उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने सम्भावना बढी देखिन्छ ।

Skip This