१ अर्ब १० करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, बैंकहरूसँग माग्यो प्रस्ताव

28
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न प्रस्ताव माग गरेको छ । सोमबार राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब १० करोड रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा राख्न लागेको हो ।

१ अर्ब १० करोड रुपैयाँमध्ये ८८ करोड रुपैयाँ वाणिज्य बैंक, १६ करोड ५० लाख रुपैयाँ विकास बैंकहरू र ५ करोड ५० लाख रुपैयाँ फाइनान्स कम्पनीहरूमा राख्ने केन्द्रीय बैंकले जनाएको छ । बैंकहरूले आफूले प्रस्ताव गरेको ब्याजदर र लिन चाहेको रकमसहित फागुन १३ गते साँझ ७ बजेभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।

न्यूनतम पूँजीकोष पुगेको, कुल निष्क्रिय कर्जा ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ३ प्रतिशत ननाघेको बैंकहरूले मात्र प्रस्ताव पेश गर्न सक्नेछन् । कर्जा–निक्षेप अनुपात राष्ट्र बैंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको तथा शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको बैंकले मात्र प्रस्ताव पेश गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८को दफा ८६(ख) बमोजिम कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्नेछ । समस्याग्रस्त घोषणा भएको अवस्थामा सो फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको बैंकहरूले मात्र प्रस्ताव पेश गर्न सक्नेछन् ।