हरेक क्षेत्रलाई गाली गर्ने प्रवृत्तिले मुलुक बन्दैन

21
Shares

पछिल्लो तीन वर्षयता नेपालमा घरजग्गा कारोबारमा शिथिलता आएको छ । विभिन्न समयमा भएका नीतिगत परिवर्तनले घरजग्गा कारोबारमा यस किसिमको मन्दी छाउन सुरु भएको थियो । मन्दीका बावजुद व्यवसायीहरूले आफ्नो क्षमताअनुसार लगानी गर्न छोडेका थिएनन् । घरजग्गा व्यवसायमा सरकारले अपनाएको नीतिका कारण धेरै व्यवसायीहरू उठ्न नसकेको समयमा नै गत भदौ २३ र २४ गते जेनजी प्रदर्शन भयो । प्रदर्शनका कारण घरजग्गा व्यवसायमा एक किसिमको आतंक नै फैलिएको छ ।

जेनजी प्रदर्शनमा धेरै उद्योगी तथा व्यवसायीको आर्थिक तथा भौतिक क्षति भयो । क्षति नभएका व्यवसायीको मनोबल पनि कमजोर हुन पुग्यो । अहिले व्यवसायीहरूमा लगानी गर्ने उत्साह देखिँदैन । लगानी थप गर्ने योजनामा रहेका व्यवसायीहरू पनि लगानी गर्नबाट पछि हटेको स्थिति छ । प्रदर्शनले गर्दा अहिले व्यवसायीहरूले लगानी गर्न निकै विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

यस प्रदर्शनका क्रममा मेरो व्यवसायमा कुनै भौतिक वा आर्थिक क्षति पुगेन । तर, भौतिक वा आर्थिक क्षति नपुगेपनि यसले बजारलाई प्रभावित बनाउने काम गर्‍यो । समग्र क्षेत्रमा त्यसको नकारात्मक स्थिति देखिँदा मनोवैज्ञानिक क्षतिसमेन बेहोर्नुपर्ने स्थिति बन्यो । कोरोनापछि बिस्तारै तंग्रिँदै गएको घरजग्गा कारोबारमा जेनजी प्रदर्शनले निकै प्रभाव पारेको छ । हाल बैंक तथा वित्तीय संस्थामा कर्जा असुली थप प्रभावित भएको छ । कर्जाको माग घटेको छ । नयाँ बिमालेख बिक्री घटेको छ । त्यसले गर्दा अहिलेको अवस्थाले भविष्यमा थप बढी प्रभाव पार्नसक्ने सम्भावना पनि उत्तिकै छ ।

घरजग्गा क्षेत्रमा पनि अहिले नयाँ आयोजना आउन सकेको छैन । निर्माण भइरहेको आयोजना सुस्त गतिमा छ । बजारमा घरजग्गाको माग निकै कम छ भने कर्जा लिई लगानी गरेका व्यवसायी धराशायी अवस्थामा पुगेका छन् । जेनजी प्रदर्शनले मेरो मनोबलमा पनि केही हदसम्म सामान्य असर पुर्‍याएको छ । प्रदर्शनमा आर्थिक तथा भौतिक क्षति नपुगेपनि लगानीको वातावरण कमजोर भएको छ । मनोबल कमजोर भएको अवस्थामा पनि कतिपय व्यवसायीहरूले लगानी गर्ने आँट देखाइरहेका छन् ।

म पनि आफ्नो व्यवसाय विस्तार गर्न थप लगानी गर्ने योजनामा छु । यही अवस्था सधैं रहन्छ भन्ने हुँदैन । समयसँगै अवस्था पनि परिवर्तन हुने भएकाले थप लगानी गर्न आवश्यक पनि देख्छु । जेनजी प्रदर्शनले आगजनी, तोडफोड, लुटपाट, हिंसा जस्ता भौतिक क्षति भयो नै, त्यसपछि कारोबार सुस्त भएकाले अप्रत्यक्ष आर्थिक क्षतिसमेत भइरहेको छ । प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले सदृढ हुँदै गरेको लगानी वातावरणमा गम्भीर धक्का पुगेको छ ।

प्रदर्शनपछि पनि व्यावसायिक जगतले डर, असुरक्षा र अनिश्चितताजन्य तनाव बेहोरिरहेका छन् । व्यवसायीहरूमा पुनः यस्ता घटना दोहोरिन सक्छन् भन्ने आकलन पनि भइरहेका छन् । अहिले पनि कर्मचारी वा व्यवसायीहरूलाई भविष्य अन्धकार देखेर काम गर्ने उत्साह छैन । यस्तै अवस्था रहे विदेश पलायन बढ्ने अवस्था छ । विभिन्न समयमा भएको प्रदर्शनले नयाँ उद्योग व्यवसाय नखुल्ने अवस्था आएको छ । त्यसले गर्दा बेरोजगार बढ्न समेत सक्छ ।

जेनजी प्रदर्शनपछि नयाँ सरकार गठन भएको छ । सरकारले उद्योगी व्यवसायीहरूको मनोबल बढाउन नीतिगत सुधार गर्नुपर्ने अवस्था छ  । तर, सरकारबाट व्यवसायीहरूलाई अझ आतंक मच्चाउने काम भइरहेको छ । सरकारले विद्युतको प्रिमियमको विषयलाई लिएर लाइन काट्ने, ठेक्का तोड्ने जस्ता काम गरिदिँदा व्यावसायिक वातावरण अझ बिग्रेको छ । सरकारले उद्योग तथा व्यवसायीलाई विभिन्न चरणमा मनोबल बढाउनका लागि प्रतिबद्धता तथा आश्वासन दिएका छन् । तर, व्यवहार र कार्यान्वयन भने निकै फितलो छ ।

सरकारले व्यवसायीहरूलाई प्रतिबद्धता जनाएर मात्रै हुँदैन । नीतिगत सुधार गरी व्यवसायीलाई सहज बाटो बनाइदिन सक्नुपर्छ । सरकारले उद्योगी तथा व्यवसायीलाई नीतिगत सुधार गरिदिने हो भने बिस्तारै अर्थतन्त्रले लय समात्नेछ । साथै, सरकारले अबका दिनमा क्रेडिट ग्रोथ बढ्ने कार्यक्रम ल्याउन उपयुक्त हुन्छ । भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन र प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट विभिन्न पहलको आवश्यकता छ । 

अब जुनसुकै तहका नागरिकले पनि नकारात्मक कुरा गर्न छोडेर सकारात्मक कुरालाई अघि बढाउनुपर्छ । जेनजी प्रदर्शन एउटा नकारात्मक विस्फोट थियो । अब पनि सरकारलाई तथा हरेक क्षेत्रको नेतृत्वलाई गालीगलौज गर्ने प्रवृत्तिले निजी क्षेत्र मात्र नभएर समग्र मुलुकलाई नै ठूलो दुर्घटनामा लैजान्छ ।

साथै, सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई अनुशासित नबनाएमा र नबनेमा त्यसले थप समस्या नल्याउला भन्न सकिन्न । त्यसैले अब निजी क्षेत्रको मनोबल उकास्नका लागि पनि लगानीमैत्री वातावरण बनाउन सरकारले लगानीमैत्री कानून बनाउनुपर्छ । नागरिक स्तरमा कुरै नबुझी आलोचना फैलाउने काम गर्नुहुँदैन । साथै, व्यवसायीले कानुनको परिपालना गरी नागरिकको विश्वास जित्ने काम गर्नुपर्छ ।

(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सोधिएका प्रश्नहरुमा ग्रीन हिल सिटीका अध्यक्ष लोहनीले दिएको जवाफका आधारमा तयार पारिएको हो।)