१२ अर्ब लगानी गर्न इच्छुक छु तर कर्मचारीतन्त्रबाट पीडित भइयो: व्यवसायी खरेल

770
Shares

काठमाडौं । इथानोल उत्पादनका लागि लगानी गर्न तयार भए पनि कर्मचारीतन्त्रको ढिलासुस्ती र असहयोगका कारण वर्षौंदेखि परियोजना अगाडि बढ्न नसकेको निजी क्षेत्रले तिक्तता व्यक्त गरेका छन् ।

कियान केमिकल इण्डस्ट्रिज प्राइभेट लिमिटेडका अध्यक्ष बेदप्रसाद खरेलले पेट्रोलमा इथानोल समिश्रण गर्ने विषयमा आफू विभिन्न मन्त्रालयमा धाउँदा धाउँदै धेरै जोर जुक्ता फटाइसकेको गुनासो पोखेका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘हामीले १२ अर्ब रुपैयाँ लगानी गर्ने, हजारौंलाई रोजगारी दिने र किसानलाई आत्मनिर्भर बनाउने योजनासहित काम थालेको वर्षौं भइसक्यो । तर, एउटा निर्णयका लागि सात–सात वटा आयोग बने, फाइल मन्त्रालय र विभागमा घुमेको घुम्यै भयो, समस्या राजनीतिक तहमा होइन, कर्मचारीतन्त्रको काम गर्ने शैलीमा छ ।’

उनले नीतिगत स्पष्टता र कार्यान्वयनमा तीव्रता नभए लगानीको वातावरण बन्न नसक्ने खरेलले जानकारी दिए ।

खरेलले इथानोल उत्पादनको लागत घटाउन सरकारले कच्चा पदार्थ उत्पादनमा सहुलियत, कर छुट र सस्तो ब्याजदरमा ऋण जस्ता सुविधाहरू दिनुपर्ने बताए ।

उनले भने, ‘हामी सरकारले तोकेको गुणस्तर र मूल्यमा इथानोल दिन तयार छौँ, तर यसका लागि सरकारले पनि सहयोगी वातावरण बनाउनुपर्छ ।’

उनले भारत लगायतका देशहरूले इथानोल उद्योगलाई दिएको अनुदान र सुविधाको उदाहरण दिँदै नेपाल सरकारले पनि त्यस्तै नीति लिनुपर्नेमा जोड दिए ।

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले २० वर्ष ढिलो गरी गठन आदेश आएपनि कार्यविधि नआएको भन्दै दुखेसो व्यक्त गरे ।

कार्यविधि नआउँदा अहिले पनि लगानी गरेर प्रक्रिया अघि बढाउन निजी क्षेत्र शंशयमा रहेको उनले जानकारी दिए ।

‘ढिलै भएपछि हामीले माग गर्दैआएको विषयलाई सरकारले २० वर्षपछि चासो दिएर सम्बोधन गरेको छ, तर कार्यविधि आउन सकेन । अब यो कार्यविधि ल्याउन नै फेरी कति वर्ष लाग्ने होला,’ संघका अध्यक्ष अग्रवालले भने,‘कार्यविधि नआउँदासम्म उद्योगीले इथानोल नै उत्पादन गर्न थप लगानी गर्न निजी क्षेत्र संशयमा छन् ।’

उनका अनुसार कति प्रतिशतको प्युरिटी भएको इथानोल आवश्यक पर्छ, दैनिक कति परिमाणमा राज्यलाई आवश्यक पर्छ, अफ सिजन र अन सिजनमा कुन दररेटमा राज्यले लिने हो, मूल्य निर्धारण र भुक्तानीको प्रक्रिया र मोडालिटी कस्तो हुने हो, कहाँ लिने हो, डेलिभरीको मोडालिटी कस्तो हुने, उखुको मोलासिस र खाद्यान्नको मोलासिसबाट उत्पादन हुने इथानोलको मूल्यको मोडालिटी कस्तो हुने लगायतका बिषयमा मार्ग प्रसस्त गरेको कार्यविधि तयार भएर कार्यान्वयनमा नआउँदासम्म तत्कालै उद्योगीले थप लगानी गरेर इथानोल उत्पादन गरिहाल्ने अवस्था नभएको अग्रवालले भने ।

उनका अनुसार एउटा चिनी उद्योगबाट दैनिक २० हजारदेखि ३० हजार लिटरका दरले १२ वटा उद्योगबाट दैनिक ३ लाख ६० हजार लिटरसम्म इथानोल उत्पादन गर्न सकिन्छ । तर यसका लागि मोलासिसको लागि आवश्यक पर्ने कच्चा पदार्थ आवश्यक पर्छ ।

अग्रवालका अनुसार नेपालका केहि चिनी कारखानाहरुले मोलासिसबाट अल्कोहल बनाउनको लागि आवश्यक पर्ने डिस्टिलरी ट्याँकसहितको प्लान्ट राखेका छन् । डिस्टिलरीबाट दोश्रो चरणको प्रशोधन पश्चात् इथानोल तयार हुन्छ ।

‘जुन कारखानामा डिस्टिलरी प्लान्टको सुविधा छ, त्यो कारखानालाई इथानोल उत्पादन गर्न खासै समस्या हुँदैन,’ अग्रवालले भने,‘तर जुन उद्योगसँग डिस्टिलरी प्लान्टको सुविधा छैन उसले तत्कालै इथानोल उत्पादन गर्न सक्दैन ।’

९९.५ प्रतिशत प्युरिटी भएको इथानोल उत्पादन गर्न डिस्टिलरी प्लान्टमार्फत उत्पादन गर्न २५ करोडको थप लगानी आवश्यक पर्छ ।

यस्तै चिनी कारखानामा डिस्टिलरी प्लान्ट नभएका उद्योगमा डिस्टिलरी प्लान्ट राख्न थप ५० करोड र मोलासिसबाट इथानोल उत्पादन गर्न थप २५ करोड गरी ७५ करोडको छुट्टै लगानी आवश्यक पर्छ ।