निजी क्षेत्रलाई बोलीमा मात्र होइन, व्यवहारमा पनि ड्राइभिङ सिटमा राखिनुपर्छ

7
Shares

शशीकान्त अग्रवाल एमएस ग्रुपका अध्यक्ष हुन् । व्यावसायिक क्षेत्रमा उनको दशकभन्दा लामो अनुभव छ । उनी भदौ २३ र २४ को जेनजी विद्रोहका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले समग्र निजी क्षेत्रको आत्मविश्वासमा ठूलो धक्का पुर्‍याएको बताउँछन् । जेनजी विद्रोहका कारण व्यवसायीले भोग्नुपरेको आर्थिक तथा भौतिक क्षति र लगानीको खस्कँदो वातावरणबारे अग्रवालको अनुभव र विश्लेषण यहाँ प्रस्तुत गरिएको छ।

जेनजी प्रदर्शनका क्रममा तपाईंले के–कस्ता क्षति भोग्नुभयो ?

जेनजी प्रदर्शनको दौरान मैले व्यक्तिगत रुपमा क्षति बेहोर्नुपरेन ।  तर, मेरो व्यवसाय र सेवाजन्य गतिविधिमा आंशिक क्षति हुनुका साथै बजार पनि प्रभावित भएको थियो । र, आपूर्तिमा समस्या भयो।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्‍यो ?

तोडफोड र आगजनी गर्नुपर्ने अवस्था थिएन । निजी क्षेत्रले अनैतिक ढंगले काम गरेको भए राज्यले कारबाही गर्नुपर्छ । तर, तोडफोड गर्नु उपयुक्त होइन । सडकबाट प्रदर्शन गरेर तोडफोड गर्नुको साटो कारबाही गर्ने निकायलाई दबाब दिएको भए हुन्थ्यो ।

निजी सम्पत्ति पनि राष्ट्रिय सम्पत्ति हो । यो क्षतिले गर्दा अर्को वर्ष बिमा नवीकरण गर्ने समयमा शुल्क निकै बढ्ने अवस्था छ । रि–इन्स्योरेन्स गर्ने पैसा बाहिरी मुलुक जाने सम्भावना छ । सामानको लागत खर्च बढेर समग्र अर्थतन्त्रमा समेत असर पुर्‍याउने सम्भावना छ ।

तपाईंले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतले महसुस गरेको पोस्ट जेनजी स्ट्रेस (डर, असुरक्षा, अनिश्चितताजन्य तनाव) के–के छन् ?

निक्कै तनाव बढेको छ नि ! मानसिक तनाव बढेको छ, व्यापारिक र औद्योगिक प्रतिष्ठानमा काम गर्ने कर्मचारीमा तनाव बढेको छ । उच्च पदका कर्मचारीलाई कालोमोसो दलेर लखेट्ने समस्याका कारण विदेशी प्राविधिकहरू नेपालबाट फर्किएका छन् । उनीहरू नेपाल आउन चाहेका छैनन् ।

आन्दोलनपछिको व्यापार व्यवसायलाई हेर्दा तपाईं लगानी थप्न तयार हुनुहुन्छ ?

आन्दोलनबाट मेरो खासै धेरै क्षति नभए पनि सामान्य असर परेको थियो । अहिले स्थिति सुधारोन्मुख छ, अवस्थामा क्रमिक रूपमा सुधार हुँदै गएपछि फेरि लगानी थप्ने सोचमा छु ।

जेनजी आन्दोलनपछि बैंकिङ र बिमा क्षेत्रमा कस्तो असर परेको अनुभूति गर्नुभएको छ ?

आन्दोलनपछि कर्जा असुली थप प्रभावित भएको छ । कर्जाको माग घटेको छ । नयाँ बिमालेख बिक्री घट्नुका साथै दाबी भुक्तानी बढेको छ । त्यति मात्र नभएर पोलिसी सरेन्डर पनि अत्यधिक बढेको छ । यसकारण यी क्षेत्रमा जेनजी आन्दोलनको असर त परेको नै छ ।

निजी सम्पति र व्यावसायिक प्रतिष्ठानमाथि आक्रमण हुनुको कारण के हुन सक्छ ?

हेर्नुस्, हामीकहाँ व्यवसाय गर्नेलाई हेर्ने दृष्टिकोण नै नकारात्मक छ । व्यवसायीका बारेमा अफवाह तथा भ्रमपूर्ण सूचना र समाचार लेखिन्छ/छापिन्छ । व्यक्तिगत रिसइबी, कुण्ठाका कारण यस्ता घटनाहरू हुने गर्छन् । यति भनिरहँदा व्यवसायीको चाहिँ गल्ती नै हुँदैन भन्ने हैन । कतिपय कुरामा व्यवसायीको पनि गल्ती हुन सक्छ । यद्यपि, बुझेर तथ्य जाँचेर मात्र लेखिनु, छापिनुपर्छ ।

जेनजी प्रदर्शनबाट जन्मिएको अनिश्चितताले सुदृढ हुँदै गरेको लगानीको वातावरणमा गम्भीर धक्का पुगेको हो ?

निश्चित रूपमा जेनजी प्रदर्शनका कारण लगानीको वातावरणमा धक्का पुगेको छ । यसले गर्दा स्वदेशी लगानीमा पनि फरक आएको छ भने लगानीको विषयमा विश्वभर नकारात्मक सन्देश गएको छ । निजी क्षेत्रको सम्पत्तिको क्षतिको विवरण गणना गर्न पनि अब साध्य छैन । यसले गर्दा समग्रमा विदेशी लगानी आउने क्रम रोकिने जोखिम हुन सक्छ ।

जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू के कस्ता छन् ? र, ती प्रयास कत्तिको प्रभावकारी भइरहेका छन् ?

आन्दोलनपछि निजी क्षेत्रको सवालमा सरकारको भूमिका तटस्थ देखिएको छ । सरकारले हामीलाई बोलाएर, भेटेर साथमा छौं भन्ने आश्वासन दिएको छ । तर, त्यो आश्वासन पर्याप्त छैन । क्षतिलाई पुनःस्थापना गर्न सरकारले तदारुकता देखाएको छैन । क्षति बेहोरेकाले इन्स्योरेन्सबाट क्षतिपूर्ति पाउँछन् । तर, अन्यले विभिन्न प्रकारका क्षतिपूर्ति कहाँबाट पाउँछन् ?

व्यवसायीको मनोबल बढाउन तपाईंले सरकारलाई दिने सुझाव के–के छन् ?

सरकारले राहत र पुनःस्थापना प्याकेजसम्बन्धी कार्यक्रम ल्याउनुपर्छ । र, त्यसमा सरकारी अनुदानको पनि व्यवस्था हुनुपर्छ ।

भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाहरूबाट के कस्तो पहलको आवश्यकता छ ? वा निजी क्षेत्रमाथि सर्वसाधारणको नकारात्मक मनोवृत्ति (दृष्टिकोण) कसरी बदल्न सकिन्छ ?

निजी क्षेत्रको पनि केहि त्रुटि होला, कसैले म्यानिपुलेसन सेटिङ गरेको पनि हुन सक्छ । खराब र सही को हो भन्ने मापदण्ड हुनुपर्छ । हरेक व्यक्तिले सही र गलतलाई छुट्याउन सक्नुपर्छ ।

राजस्व, रोजगारी लगायतका योगदानको सूचना ट्रान्सफर्मेशन गर्नुपर्छ । यसले गर्दा नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्न सकिन्छ । उद्योगी व्यवसायीले सीएसआर (संस्थागत सामाजिक सुरक्षा उत्तरदायित्व) पनि गरेको हुन्छ । तर, यस विषयमा कसैले जनतालाई बुझाउन सकेन । उद्योगी, व्यवसायीले गरेका राम्रा कामहरूको बारेमा समेत बुझाउन सक्नुपर्छ ।

उद्योगी व्यवसायीले खाली ठूलो नाफा मात्रै गर्‍यो भनेर बाहिर एउटा गलत भाष्य स्थापित गराइएको छ । यस्तो सोच्नु भएन । उद्योगी व्यवसायीले एक्लै प्रतिफल खाएको हुँदैन । प्रतिफलको लाभ सरकार र सर्वसाधारणले पनि पाएका हुन्छन् ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?

लगानीमैत्री वातावरण बनाउन पहिलो र महत्त्वपूर्ण भूमिका राज्यको हुन्छ । यसपछि लगानीमैत्री वातावरण तयार गर्नुपर्छ । लगानी गर्ने उद्यमीको प्रतिफलको ग्यारेन्टी गर्नुपर्छ । राज्यको नीतिले उद्योगीको लगानीलाई समस्यामा पार्दैन भनेर विश्वासको वातावरण सिर्जना गरिदिनुपर्छ । यस्तै, सम्भावना भएको क्षेत्रलाई अघि बढाउने विषयमा राज्यले योजना बनाइदिनुपर्छ । प्रतिस्पर्धी हुन नसकेको उद्योग व्यवसायलाई चलायमान बनाउन राज्यको भूमिका आवश्यक छ । साथै, उद्योगी व्यवसायीलाई राज्यले प्राथमिकतामा राखेर उद्योगलाई दीर्घकालीन रूपमा चलायमान बनाएपछि अन्य सबै क्षेत्र आफैं चलायमान हुन्छ ।

यसैगरी, आर्थिक विकासको एजेन्डा अघि बढाउन निजी क्षेत्रलाई बोलीमा मात्रै होइन, व्यवहारमा पनि ड्राइभिङ सिटमा राखिनुपर्छ । लगानीकर्ता पनि आफ्नो लक्ष्यप्राप्तिको लागि निरन्तर रूपमा अग्रसर भइरहनुपर्छ । त्यस्तै, यसमा सञ्चारमाध्यमको पनि उत्तिकै भूमिका हुन्छ । सञ्चारमाध्यमले पनि सकारात्मक सन्देश जाने समाचारहरू सम्प्रेषण गरिदिनुपर्छ ।

(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा एमएस ग्रुपका अध्यक्ष अग्रवालले दिएको जवाफका आधारमा तयार पारिएको हो।)