राष्ट्रनिर्माणका लागि बलियो, उत्तरदायी र प्रभावकारी सरकार आवश्यक

14
Shares

उज्ज्वलकुमार श्रेष्ठ पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक हुन् । बैंकिङ व्यावसायिक क्षेत्रमा उनको २ दशक लामो अनुभव छ । उनी भदौ २३ र २४ को जेनजी विद्रोहका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले समग्र निजी क्षेत्रको आत्मविश्वासमा ठूलो धक्का पुर्‍याएको बताउँछन् । जेनजी विद्रोहका कारण व्यवसायीले भोग्नुपरेको आर्थिक तथा भौतिक क्षति र लगानीको खस्कँदो वातावरणबारे श्रेष्ठको अनुभव र विश्लेषण यहाँ प्रस्तुत गरिएको छ।

जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?

जेनजी प्रदर्शनको क्रममा मेरो व्यापारिक प्रतिष्ठानमा भौतिक क्षति नै पुग्यो । प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडका कारण करिब १० करोड रुपैयाँ बराबरको सम्पत्ति गुमाउनुपर्‍यो । प्रदर्शनका कारण उत्पादनदेखि उद्योगदेखि बजारसम्ममा नकारात्मक असर पुगेको छ ।

जेनजी प्रदर्शनका कारण तपाईंको मनोबलमा कस्तो प्रभाव पर्‍यो ? तपाईं थप लगानी गर्न तयार हुनुहुन्छ ?

प्रदर्शनका क्रममा जुन किसिमको आगजनी तथा तोडफोड भयो, त्यसले व्यक्तिगत रूपमा मलाई सबैभन्दा बढी मनोवैज्ञानिक असर पुर्‍याएको छ ।

प्रदर्शनकारीले मेरो व्यापारिक प्रतिष्ठानमा क्षति पुर्‍याए पनि थप लगानी गरेर व्यवसायलाई अझै अगाडि बढाउने मेरो प्रयास रहनेछ । यद्यपि, प्रदर्शनका नाममा निजी व्यापारिक प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी हुँदा लगानीको वातावरण बिथोलिएको छ ।

उद्योगी व्यवसायीमा सन्त्रासको वातावरण छाएको छ । यसले गर्दा लगानीको वातावरणमा प्रभाव परेको छ ।

जेनजी प्रदर्शनपछि निजी क्षेत्रको आत्मविश्वास सुदृढ बनाउन सरकारले निर्वाह गरेको भूमिका कस्तो छ ?

जेनजी प्रदर्शनपछि सक्षम, इमानदार र तटस्थ व्यक्तिहरू सरकारमा जोडिनु निजी क्षेत्रका लागि सकारात्मक सन्देश हो । निर्वाचनकेन्द्रित यस समयावधिमा गरिएका साना तर सकारात्मक परिवर्तन र कार्यहरूले जनतामा आशा जगाएको छ ।

असल मानिसहरूले नै असल देश निर्माण गर्न सक्छन् भन्ने सकारात्मक सन्देश यस सरकारले दिएको छ । आन्दोलनले पुराना प्रक्रिया, पुराना नेताहरू र समग्र प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । साथै, राष्ट्रनिर्माणका लागि बलियो र उत्तरदायी सरकार आवश्यक छ भन्ने विषयमा आम नागरिकबीच चासो र जागरुकता पनि बढाएको छ ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्‍यो ?

प्रदर्शनमा जुन किसिमको गतिविधि भयो, त्यसले निजी क्षेत्रकोे उत्पादन र बिक्रीमा ठूलो परिमाणमा गिरावट आएको छ । हालको अवस्था हेर्दा यो परिवर्तनप्रति जनतामा अझ राम्रो भविष्यको आशा देखिएको छ ।

प्रदर्शनले लगानी वातावरणमा राम्रोसँग धक्का लागेको छ । तर, राम्रो र बलियो नेपाल बनाउनका लागि यो किसिमको अवस्था केही हदसम्म आउन आवश्यक पनि थियो । यसलाई सकारात्मक र परिवर्तनको लागि सानो त्यागको रुपमा बुझ्न आवश्यक छ ।

प्रदर्शनबाट अस्थायी रूपमा परिस्थितिजन्य त्रास र अन्योलको वातावरण देखिएको छ । त्यसैले थप लगानीका लागि अधिकांश व्यक्ति पर्ख र हेरको अवस्थामा छन् ।

जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू के कस्ता छन् ? र, ती प्रयास कत्तिको प्रभावकारी छन् ?

सरकारमा सक्षम, इमानदार र तटस्थ व्यक्तिहरू जोडिनु सबैभन्दा ठूलो सकारात्मक सन्देश हो । सरकारको प्रयास सन्तोषजनक नै देखिन्छ । असल मानिस सहभागी भएको सरकारले वर्तमान समय निर्वाचनकेन्द्रित भए पनि गरिएका साना तर सकारात्मक परिवर्तन र पहलहरूले जनतामा आशा जगाएको छ ।

यस आन्दोलनले पुराना प्रक्रिया, धेरै पुराना नेताहरू तथा समग्र प्रणालीमाथि प्रश्न उठाएको छ । साथै, राष्ट्रनिर्माणका लागि बलियो, उत्तरदायी र प्रभावकारी सरकार आवश्यक छ भन्ने विषयमा आम नागरिकबीच थप चासो, सहभागिता र जागरुकता बढाएको छ ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?

सरकार र राज्य पारदर्शी, न्यायपूर्ण र सशक्त हुँदा सर्वसाधारणको नकारात्मक दृष्टिकोणमा परिवर्तन आउँछ । नेपालको नीति विकसित हुँदै गरेका मुलुकहरूको जस्तै विकासमुखी हुनुपर्छ । तर, कर्मचारीतन्त्रबाट नियन्त्रणमुखी नीति आउनुहुँदैन ।

डिजिटल र फेसलेस प्रणाली लागू गरिएमा लगानी प्रोत्साहित हुन्छ । नीतिगत स्पष्टता कायम गर्दै गएमा लगानीकर्ता–केन्द्रित नीतिहरूले अर्थतन्त्रलाई गति दिनुका साथै जनविश्वास बढाउँछन् ।

(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठले दिएको जवाफका आधारमा तयार पारिएको हो।)