प्रविधि र पूर्वाधार विस्तार गर्न एनसेलले कर्जाको सीमा १० अर्बले बढायो, वित्तीय अवस्था निकै सबल

154
Shares

काठमाडौं । एनसेल आजियाटाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले साउन–असोज अवधिमा ८ अर्ब १८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

एनसेलले गत आवमा ३२ अर्ब ५४ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा ३४ अर्ब ६ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापारको तथ्याङ्क हेर्दा हरेक वर्ष आम्दानी घट्दो क्रममा रहेको देखिन्छ । खासगरी भ्वाइस कल र अन्तराष्ट्रिय कलको मात्रा घट्दा एनसेको कुल व्यापार कम भएको हो।

दूरसञ्चार बजारमा एनसेलको आधाभन्दा बढी हिस्सा छ । जीएसएमतर्फ कम्पनीको ५१ प्रतिशत र भ्वाइस र डाटातर्फ ४८ प्रतिशत बजार हिस्सा रहेको रेटिङ एजेन्सी इक्राले गरेको रेटिङ रिपोर्टमा उल्लेख छ ।

इक्राले सार्वजनिक गरेको रेटिङ प्रतिवेदनअनुसार एनसेलको व्यावसायिक प्रदर्शनमा केही चुनौती देखिए पनि कम्पनीले बजारमा आफ्नो बलियो पकड कायम राखेको छ । दूरसञ्चार क्षेत्रको बढ्दो प्रतिस्पर्धा र ग्राहकको प्रयोग गर्ने बानीमा आएको परिवर्तनका कारण एनसेलको कुल व्यापार पनि गिरावट देखिएको इक्राले उल्लेख गरेको छ ।

यसो त प्रति ग्राहक औसत राजस्व (एआरपीयू) पनि घट्ने क्रममा छ । फलस्वरुप भ्वाइस सेवाबाट हुने आम्दानीमा संकुचन आएको देखिन्छ । यद्यपि पछिल्लो समय डेटा सेवाको प्रयोग र फोरजी विस्तारका कारण कम्पनीको आम्दानी धेरै हदसम्म स्थिर छ ।

एनसेलको वित्तीय अवस्था निकै ‘स्थिर’ देखिएको छ । कम्पनीको सञ्चालन मुनाफा अर्थात् नाफा मार्जिन सन् २०२४ को ५४% बाट घटेर २०२५ मा ५०% पुगेको छ । कुल व्यापार घटे तापनि प्रभावकारी लागत नियन्त्रणका कारण कुल व्यापारको तुलनामा नाफाको मार्जिन निकै सन्तोषजनक स्थिति छ ।

एनसेलको ऋण भार तुलनात्मक रूपमा कम देखिएको छ । इक्राका अनुसार कम्पनीको गियरिङ रेसियो ०.६ गुणा मात्र छ । कर्जा र पुँजीको यो अनुपात निकै कम हुनाले कम्पनी सहज अवस्थामा देखिएको छ । यसैगरी कुल ऋण नै कम्पनीको प्रोफिट मार्जिनको ०.७ गुणामात्र छ । यसले कम्पनीले आफ्नो कमाइबाट ऋण सजिलै तिर्न सक्छ भन्ने देखाउँछ ।

कम्पनीको डेट सर्भिस कभरेज रेसियो (डीएससीआर) २.८ गुणा छ । यसले ऋणको किस्ता तिर्ने क्षमता बलियो छ भन्ने बुझाउँछ । डीएससीआर १.२५ भन्दा बढी हुनु उपयुक्त मानिन्छ । कम्पनीसँग अक्टोबर २०२५ सम्ममा करिब १४ अर्ब रुपैयाँ नगद मौज्दात छ ।

एनसेलका लागि लाइसेन्स नवीकरणको अनिश्चितता एक चुनौति बनेको छ । एनसेलको २५ वर्षे अनुमतिपत्र (लाइसेन्स) सन् २०२९ सेप्टेम्बरमा समाप्त हुँदैछ । विदेशी स्वामित्व बढी भएका कम्पनीको हकमा सरकारले नवीकरणको प्रक्रिया र सर्तहरू कस्तो राख्छ भन्नेमा अझै केही अन्योल छ । यसो त दूरसञ्चार क्षेत्रमा भइरहने द्रुत प्राविधिक परिवर्तनका कारण कम्पनीले निरन्तर ठूलो पुँजी लगानी गरिरहनुपर्ने दबाब कम्पनीमा छ ।

सन् २००१ मा स्थापना भई सन् २००५ देखि सञ्चालनमा रहेको एनसेल नेपालको पहिलो निजी क्षेत्रको दूरसञ्चार प्रदायक हो । सुरुमा मेरो मोबाइल ब्रान्डमा सेवा सुरु गरेको कम्पनीले सन् २००८ मा युरोपियन टेलिकम जायन्ट टेलियासोनेराले स्वामित्व खरिद गरेसँगै सन् २०१० देखि निरन्तर एनसेल ब्रान्डमा टेलिकम सेवा दिँदै आएको छ । एनसेलको ८० प्रतिशत स्वामित्व रेनल्डस् होल्डिङ र २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चर्ससँग छ ।

टेलियासोनेराले रेनल्डस् होल्डिङ खरिद गरेपछि कम्पनीले सन् २०१० मा नै कम्पनीको नाम परिवर्तन गरी एनसेल प्रालि भएको थियो । पछि सन् २०१६ मा कम्पनी आजियाटा ग्रुप बेर्हडको हिस्सा बनेको थियो । ग्रुपले टेलियासोनेराबाट रेनल्डसको सतप्रतिशत स्वामित्व खरिद गरेको थियो ।

सन् २०२० मा एनसेल पब्लिक कम्पनीमा परिणत भयो । सन् २०२३ डिसेम्बरमा आजियाटाले यूकेको स्पेक्ट्रलाइट युके लिमिटेडलाई रेनल्डस् होल्डिङ बिक्री गरिरहेको छ । यद्यपी सेयर खरिदबिक्री प्रक्रियालाई नेपाल दूरसञ्चार प्राधिकरणले नियामकीय स्वीकृति दिइसकेको छैन । स्पेक्ट्रलाइट यूकेमा नेपाली मुलका सिंगापुरे नागरिक सतीशलाल आचार्यको सतप्रतिशत स्वामित्व छ ।

एनसेलले हालै ३२ अर्ब रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २० अर्ब रुपैयाँ र अल्पकालीन कर्जाका लागि १२ अर्ब रुपैयाँको रेटिङ गराएको हो । यसअघि २२ अर्ब ६० करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको एनसेलले करिब १० अर्ब थप लिमिट लागि रेटिङ गराएको हो ।

खासगरी पुँजीगत खर्चका लागि एनसेलले थप ऋण लिन लागेको हो । कम्पनीले दूरसञ्चार पूर्वाधार विस्तार, प्रविधि स्तरोन्नति र सेवा सुधारका लागि ठूलो लगानी गरिरहेको छ, जसका लागि थप ऋणको आवश्यकता परेको देखिन्छ ।

किस्ता र नाफा मार्जिनको अनुपात ०.७ र गियरिङ रेसियो ०.६ मात्र हुनुले एनसेल सहज अवस्थामा देखिन्छ । एनसेलको मजबुत वित्तीय अवस्थाले थप ऋण सजिलै धान्न सक्ने देखिन्छ

यसो त, बैंकहरु पनि एनसेल जस्तो सबल वित्तीय स्थिति रहेको कम्पनीमा थप कर्जा प्रवाह गर्न तयार रहेको परिस्थितिमा एनसेलको क्रेडिट रेटिङ गराउँदा दीर्घकालीन कर्जाका लागि एलए र अल्पकालीन कर्जाका दागि एवान रेटिङ पाएको छ ।