गगनको ‘मटन वर्ल्ड’पछि आयो रवि जोडिएको ‘सहकारी डट मनि’, सहकारी ठगीको प्रमाण एकैठाउँ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८१ बैशाखमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री (हाल सभापति) गगन कुमार थापा लाई चुनौती दिँदै भनेका थिए, ‘सहकारीबाट ठगी गरेको प्रमाण दिए राजनीति छाड्छु ।’ संसद भवन अगाडि सञ्चारकर्मीसँग कुराकानीका क्रममा लामिछानेले यो गरेको यो उद्घोष गगन–रवि तिक्तताको एक बाछिटा थियो । अघिल्लो दिनमात्र गगनले रवि सहकारी ठग भएको प्रमाण पेश गर्ने र प्रमाणित गर्न नसके आफूले राजनीति नै छाड्ने उद्घोष गरेका थिए ।

रवि सहकारी ठग हुन् वा होइनन् भन्ने सर्वसाधारणले निर्क्योल गर्न नसक्दै उच्च राजनीतिक व्यक्तित्वबीचको द्वण्द्व चर्किएको थियो । सो वादविवाद लामो समय चर्कियो ।

सार्वजनिक गर्छु गर्छु भने पनि गगनले रवि सहकारी ठग हुन् भन्ने प्रमाण सार्वजनिक गरेनन् । तर, अहिले भने गगनकै शैलीमा रवि सहकारी ठग हुन् भन्ने प्रमाण छताछुल्ल भएको छ । ‘सहकारी डट मनि’ नाम गरेको डोमेनबाट। मिडियामा आइसकेका अधिकांश जानकारीलाई कलेक्सन सेन्टर जस्तो बनाएर रविलाई सहकारी ठगका रूपमा स्थापित गराउने उद्देश्य यो वेबसाइटको देखिन्छ ।

यो डोमेन कसले चलाउँछ र यो प्रमाण कसले राखेको हो भन्ने ठ्याक्कै भन्न नसकिए पनि डोमेनमा राखिएका सामाग्री गगनको डिजिटल चुनावी अभियानका लागि तयार पारिएको ‘मटन डट वर्ल्ड’ डोमेनसँग मिल्दोजुल्दो देखिन्छ । यद्यपि, रविलाई सहकारी ठग प्रमााणित गर्ने डोमेन गगनकै टिमले बनाएको हो भन्ने पर्याप्त आधार भने छैन ।

बाख्रा वा मटनकाजी उपनाम भिराइएका गगनले बाख्रालाई नै सिर्जनात्मक शैलीमा प्रयोग गरेर कमजोरीलाई सामर्थ्य बनाएको धेरै भएको छैन । मटन डट वर्ल्ड नामक डोमेनमा गगन बाख्रा काण्डमा चोखो रहेको प्रमाण दिइएको छ । घोषणापत्रलाई अंग्रेजीमा मेनिफेस्टो भनिनेमा मटनफेस्टो भनेर प्रचार गरिएको छ । यतिसम्म कि साइटको अन्त्यमा अभियानलाई ‘समर्थन जनाउनुहोस्’ भन्ने बटनमा क्लिक गर्दा बाख्राको आवाज ‘म्या…’ सुनिन्छ ।  अहिलेसम्म १० करोड ८९ लाख पटक थापाको अभियानमा समर्थन जनाइसकिएको छ ।

हो, मटन डट वर्ल्डको सफलतापछि ठ्याक्कै यही शैलीमा बनेको छ, सहकारी डट मनि । जहाँ रविले सहकारीबाट ऋण लिएर कसरी बचतकर्ता ठगे भन्ने यथेष्ट प्रमाण छन् । रविको ठगी श्रृंखला टाइमलाइन नै बनाएर राखिएको छ । वेबसाइट खुल्नै वित्तिकै ‘पैसा’ बोलको गीत बज्छ ।

एउटा लिंकमा त झन् रविको हस्ताक्षरसमेत रहेको कागजातहरुसहित सम्पूर्ण प्रमाण राखिएको छ जसले रवि सहकारी ठग नै रहेको पुष्टि गर्दछन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनको मुखैमा सार्वजनिक भएको सहकारी डट मनिमार्फत् रविको सहकारी काण्ड सार्वजनिक गरिएको हो ।

लामिछाने यतिबेला आगामि फागुन २१ गते हुन लागेको निर्वाचनलाई लिएर देश दौडाहामा छन् । रवि चितवन क्षेत्र नं. २ बाट चुनाव लड्दैछन् । लामिछाने हाल चुनावलक्षित कार्यकर्ता भेटघाट र घरदैलो कार्यक्रम मार्फत चुनावी अभियान चलाइरहेका छन् ।

तर, चुनावी सरगर्मी चुलिँदै गर्दा सहकारी ठगी प्रकरणले लामिछानेको राजनीतिक यात्रालाई निरन्तर पछ्याइरहेको छ ।

केही दिन अगाडि मात्र रवि लामिछाने लक्षित सार्वजनिक भएको वेवसाइट हो ‘सहकारी डट मनि ।’

यो वेबसाइटमा रवि सहकारी ठग भएको प्रमाण दिनै सबै कागजपत्र सामेल गरिएको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचार र प्रहरीले गरेको अनुसन्धानका क्रममा पाइएको प्रमाणहरुको संगालोको रुपमा सहकारी डट मनि बनाइएको हो । कसैलाई रविविरुद्ध केही प्रमाण चाहिए सोझै यही वेबसाइटमा गएर आफूलाई आवश्यक जानकारी लिन सकिन्छ ।

रविले हस्ताक्षर गरेको चेकदेखि सब कागजात यहीँ छन् ।

विभिन्न सहकारी ठगी सम्बन्धी मुद्दामा मुछिएका लामिछाने झण्डै एक वर्षदेखि प्रहरी हिरासतमा थिए । पुस ४ गते उच्च अदालत तुलसीपुर को बुटवल इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी बाहिर आएका हुन् । यसअघि सुप्रिम सहकारी ठगी प्रकरणमा भदौ ९ गते जिल्ला अदालतले उनलाई थुनामै राख्न आदेश दिएको थियो । तर पछि तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् । रिहा भएसँगै उनि अहिले चुनावी अभियानमा लागेका छन् ।

रिहाइपछि लामिछाने आफू निर्दोष रहेको दाबी गर्दै सहकारीको रकम दुरुपयोगमा आफ्नो प्रत्यक्ष संलग्नता नभएको जिकिर गर्दै आएका छन् ।

सो वेबसाइटमा उजुरीकर्ता र सरोकारवालाहरूले पठाएका विस्तृत विवरणहरू राखिएको छ । जसले रवि लामिछानेले कसरी विभिन्न सहकारी संस्थाबाट संकलित रकम प्रयोग गरे भन्ने कागजात सहितको प्रमाण पेस गरिएको छ ।

रवि लामिछान गोर्खा मिडिया नेटवर्क प्रा.लि. का प्रबन्ध निर्देशक थिए । उनी गोर्खा मिडियामा हुँदा विभिन्न ५ सहकारी संस्थाबाट करिब ८० करोड भन्दा बढी रुपैयाँ रकम गोर्खा मिडियातर्फको कारोबारमा प्रयोग भएको तथ्य सहितका प्रमाणहरु उक्त डोमेनमा राखिएको छ  । तर रबिले भने म एक कर्मचारी मात्रै हो भनेर आफूलाई बचाउ गर्न खोजेको पनि त्यहाँ उल्लेख गरिएको छ ।

‘टेलिभिजन प्रस्तोताबाट राजनीतिज्ञ बनेका रवि लामिछाने नेपालको सबैभन्दा ठूलो सहकारी ठगी प्रकरणको केन्द्रमा छन्। गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा, साधारण नेपाली नागरिकहरूको बचत खाताबाट अनुमानित ८० करोड ३१ लाख रुपैयाँ योजनाबद्ध रूपमा अपचलन गरियो । उनको बचाउ – म केवल एक कर्मचारी थिएँ ।’ डोमेनको सुरुमा लेखिएको छ ।

कुन सहकारीबाट रकम संकलित भएको थियो भन्ने पनि खुलाइएको छ ।

पाँच वटासहकारीबाट गोर्खा मिडिया नेटवर्कमा करोडौं रुपैयाँ गैरकानुनी रूपमा सारिएको गरिएको विवरणमा उल्लेख छ ।

वेबसाइटमा उल्लेखित विवरण अनुसार पोखराको सूर्यदर्शन सहकारीबाट  ३० करोड रकम सिधै गोर्खा मिडिया नेटवर्कमा पठाइएको छ । बुटवलको सुप्रिम सहकारीबाट १५ करोडभन्दा बढी रकम गार्खा मिडियामा गएको उल्लेख छ । जसमा लामिछानेको व्यक्तिगत नाममा २० लाख रुपैयाँ ऋण समेत देखाइएको छ । चितवनको सहारा चितवन सहकारी सहकारीबाट ५२ करोड गोर्खा मिडियामा सारिएको त्यहाँ उल्लेख छ  । साथै लामिछानेको एकल हस्ताक्षरमा ८१४ वटा चेक काटिएको विवरण पनि राखिएको छ ।

त्यसैगरी पर्साको सानो पाइला सहकारीबाट ११ करोड ५० लाख पठाइएको र लामिछानेले सहकारीको सदस्य बनेकै दिन १.५ करोड ऋण लिएको तथ्य समेत राखिएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा पनि गोर्खा मिडियामार्फत हिनामिना गरिएको भनेर देखाइए तापनि यसको यकिन रकम भने अझै नखुलाइएको वेबसाइटमा उल्लेख छ ।

यी सबै विवरणहरू प्रयोगकर्ताले प्रत्यक्ष हेर्न सक्ने गरी सार्वजनिक गरिएको छ ।

क्रमशः अर्को खण्डमा लामिछानेले गोर्खा मिडियामा आबद्ध हुँदादेखि गृहमन्त्री बन्दा र सहकारी प्रकरणमा पक्राउ पर्दादेखि आगामी निर्वाचनको तयारी गर्दासम्मका कहिले के भयो ? कस्ता घटना घटेलगायतका विवरणहरु राखिएको छ ।

लामिछानेले दिएको ‘मलाई थाह थिएन’ भन्ने अभिव्यक्ति, भदौ २३ र २४ भएको जेनजी आन्दोलन र आन्दोलनपछि अदालतले लामिछानेलाई दिएको न्यायीक मोडका बारे पनि त्यहाँ व्याख्या गरिएको छ ।

यो वेबसाइटमागोर्खा मिडियादेखि आगामी निर्वाचनको तयारीसम्म लामिछानेको यात्रालाई यसरी प्रस्तुत गरिएको छः

फेब्रुअरी २०२१ मा रवि लामिछाने जीबी राईसँग मिलेर गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक बने ।

त्यसपछि सन् २०२१ देखि २०२२ सम्ममा सहकारीको रु. ८० करोड ३१ लाख गोर्खा मिडियामा सारियो ।

२०२२ जुलाईमा  सहकारीको अनुसन्धान सुरु हुनु अगाडि नै लामिछानेले एमडी पद छाडे । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत उनको राजनितिक यात्राको उदय भयो । प्रतिनिधसमाको निर्वाचनमा चुनाव जित्दै उपप्रधान तथा गृहमन्त्री समेत बने ।

अक्टोबर २०२४ मा उनी सूर्यदर्शन सहकारीको ८५ करोड अपचलनको आरोपमा पक्राउ परे ।

फेब्रुअरी २०२५मा चितवनको सहारा सहकारी ठगी अभियोग पत्र दायर गरियो, जहाँ ८१४ चेकमा उनको हस्ताक्षर भेटिएको उल्लेख गरिएको छ ।

त्यसैगरी २०२५ सेप्टेम्बर ९ मा जेन–जी आन्दोलन हुँदा लामिछाने सहित १५ सय कैदीहरूको सामूहिक जेलब्रेक भयो । जेलबाट लामिछाने पनि बाहिर आए ।

२०२६ जनवरीमा राजनीतिक दबाबका कारण महान्यायाधिवक्ताद्वारा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइयो ।

त्यसयता लामिछाने फागुन २१ गते हुने आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित ७४ लाख पीडितहरूको न्यायका लागि जनमत संग्रहको तयारीमा लागेको उल्लेख गरिएको छ ।

उक्त डोमेनमा गोप्य अभिलेख शिर्षकमा केहि ठोस प्रमाणहरु पनि सार्वजनिक गरिएको छ ।

जहाँ  दायित्व, बैंक ट्रान्सफर र अदालती आदेशहरूको विस्तृत विश्लेषण गरिएको फरेन्सिक रिपोर्ट राखिएको छ ।

सहकारीको पैसाले कसरी मिडिया साम्राज्य बनाइयो भन्ने भिडियो रिपोर्ट,  प्रहरी प्रतिवेदन र चेकहरूको ओरिजिनल स्क्यान कपीलाई ‘मूल प्रमाण’ मान्दै हराएको मिसिल सार्वजनिक गरिएको छ जसमा लामिछानेको हस्ताक्षर सहित काटिएको चेक प्रस्तुत गरिएको छ ।

साथै ठगी, सङ्गठित अपराध र पक्राउ पुर्जी सम्बन्धी अदालती आदेश र वारेन्ट कानुनी दस्ताबेजहरू पनि प्रस्तुत गरिएको छ ।

उक्त वेवसाइटको अझ रोचक विषय के छ भने उक्त डोमेनमा कुसल पोख्रेलको ‘पैसा’ बोलको गीत सेट गरिएको छ जुन डोमेन खोल्ने बित्तिकै बज्न सुरु हुन्छ ।

‘हराएको मिसिल’ शिर्षकमा ६ वटा प्रमाण क्रमागत रुपमा राखिएको छ ।

ती प्रमाणले सहकारी काण्डमा लामिछानेको प्रत्यक्ष संलग्नता देखाउँछन् ।

पहिलो प्रमाणस्वरूप सानो पाइला सहकारीको सदस्यता राखिएकौ छ । सो सहकारीको ग्राहक नं. ००१–०१५४६१ का सदस्य रहेका लामिछानेले १ करोड ४७, लाख ४८ हजार रुपैयाँ ऋण लिएर सिधै गोर्खा मिडियामा सारेका थिए । जसको हकवालामा निकिता पौडेललाई राखिएको छ । उनी रवि लामिछानेकी श्रीमती हुन् ।

दोस्रो र तेस्रो प्रमाणस्वरूप काठमाडौं जिल्ला अदालतको आदेशको अंशलाई राखिएको छ । जहाँ गितेन्द्र बाबु राई र रवि लामिछाने मध्ये कुनै एकको दस्तखतबाट खाता सञ्चालन हुने व्यवस्था रहेको उल्लेख छ । यसैगरी मनि ट्रेलपनि राखिएको छ । जसअनुसार सहकारीबाट गितेन्द्र बाबु राईको खातामा र त्यसपछि रवि लामिछाने हुँदै गोर्खा मिडियामा पैसा पुगेको दाबी गरिएको छ ।

कुल दायित्व विवरणलाई चौथो प्रमाणस्वरूप राखिएको छ । जसअनुसार लामिछानेको नाममा २ करोड ६२ लाख ६५ हजार, जीबी राईको नाममा २ करोड ५० लाख ३३ हजार ३३३ रुपैयाँ, छबिलाल जोशीको नाममा ९२ लाख ६५ हजार र कुमार रम्तेलको नाममा २७ लाख ६८ हजार ३३३ रुपैयाँ रहेको उल्लेख गरिएको छ ।

पाँचौं र छैठौं प्रमाणस्वरूप लामिछानेको व्यक्तिगत पहिचान विवरण केवाईसी र चेकको विवरण राखिएको छ । जसअनुसार बुबाको नामा लालचन्द्र, ठेगानाः बागमती, काठमाडौं र हकवालामा निकिता पौडेललाई देखाइएको छ । त्यस्तै रवि लामिछानेले ग्लोबल आईएमई बैंक र नबिल बैंकको चेकमा हस्ताक्षर गरेको प्रमाण पनि राखिएको छ ।

यो वेबसाइटमा सम्पालकीय विश्लेषण भन्दै ‘यो सहकारी संकट केवल एक व्यक्तिको बारेमा होइन, तर रवि लामिछानेले शक्ति र पहुँचको दुरुपयोगको प्रतिनिधित्व गर्छन् । ‘सहकारी ठग’ को आरोप केवल आरोप मात्र होइन; यो गरिबको जीवनभरको कमाइमाथि खेलवाड गर्न दिने प्रणालीको प्रतिविम्ब हो ।’

नेपालको सहकारी क्षेत्र एक पवित्र वाचामा निर्माण गरिएको थियो, सामूहिक आर्थिक सशक्तिकरण, जुन औपचारिक बैंकिङ क्षेत्रले समेट्न सकेको थिएन । दशकौंसम्म, सहकारीहरू ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा रहे ।

रवि लामिछानेको नेतृत्वमा गोर्खा मिडिया नेटवर्कमा जे भयो, त्यो उक्त वाचाको योजनाबद्ध धोका रहेको वेबसाइटमा बताइएको छ । हजारौं परिवारको आर्थिक भविष्य सुरक्षित गर्नुपर्ने रकम उत्पादनशील उद्यममा होइन, एक निजी मिडिया साम्राज्यमा सारिएको भन्दै यसको परिमाण कहालीलाग्दो भएको उल्लेख गरिएको छ । ‘नेपाल सरकारले पुष्टि गरेको छ कि ४० सहकारीले बचतकर्ताहरूको ८७ अर्ब रुपैयाँ ठगी गरेका छन्, यस संकटको केन्द्रमा गोर्खा मिडिया नेटवर्क छ, जसले ८० करोड ३१ लाख रुपैयाँ प्राप्त गर्यो,’ सहकारी डट मनिमा उल्लेख गरिएको छ ।

सो वेबसाइटका अनुसार सबैभन्दा महत्त्वपूर्ण प्रमाण  कागजी बाटो हो । ‘गोर्खा मिडियाको खाताबाट काटिएका ८१४ चेकमा रवि लामिछानेको एकल हस्ताक्षर छ,’ वेबसाइटमा भनिएको छ, ‘उनी प्रबन्ध निर्देशक मात्र नभई बैंक खाता सञ्चालक पनि भएकाले ‘मलाई थाहा थिएन’ भन्ने तर्क आधारहीन छ ।’

Skip This