इजिप्टको पिरामिडमा दुई हजार वर्षअघिको ब्राह्मी लिपि फेला, भारतवर्षसँगको सम्बन्ध स्थापित


एजेन्सी । करिब २ हजार वर्षअघि इजिप्टका फारोहरूको चट्टान काटिएका चिहानहरू हेर्न गएका एक तमिल व्यापारीले इजिप्टको भ्याली अफ किंग्स (राजाहरूको उपत्यका) का ६ मध्ये ५ वटा चिहानका ८ ठाउँमा आफ्नो नाम खोपेको पाइएको छ । ती चिहानहरू ईसापूर्व १६०० का हुन् ।

स्विस विद्वान् इन्गो स्ट्राउचले हालै ती तमिलको नाम पत्ता लगाएका छन् ।

सिकै कोरान जसमा सिकै को अर्थ जुरो वा मुकुट हुन्छ भने कोरानको अर्थ नेता वा शासक हुन्छ र अन्य केही नामहरू तमिलमा प्रचलित ब्राह्मी लिपिमा लेखिएका छन् । शिलालेखहरूले पश्चिम र भारतबीचको द्विपक्षीय व्यापार तथा प्राचीन व्यापारिक मार्गमा तमिल व्यापारीहरूको भ्रमणको नयाँ प्रमाण दिन्छन् ।

एकोले फ्रान्सेइज डी एक्सट्रेम–ओरियन्ट अर्थात् फ्रेन्च स्कूल अफ एशियन स्टडीजकी शार्लोट श्मिडसँग मिलेर स्ट्राउचले ती शिलालेखहरूको अर्थ खुलाएका ह्न् । बुधबार चेन्नईमा आयोजित तमिल पुरालेख (एपिग्राफी) सम्मेलनमा एक कार्यपत्र प्रस्तुत गरेर यसको जानकारी दिएका हुन् ।

‘प्राचीन बन्दरगाह शहरहरूमा भेटिएका अन्य शिलालेखहरूबाट हामीलाई तमिलनाडुका व्यापारीहरूले इजिप्टको भ्रमण गरेका थिए भन्ने थाहा भयो । तर, अहिलेको खोजले के देखाउँछ भने उनीहरू जहाज लिएर आउने र फर्किने मात्र गर्दैनथे, बरु यहाँ लामो समयसम्म बस्थे । उनीहरूले टाढा–टाढाका ठाउँहरू घुम्नका लागि पनि समय निकालेका थिए,’ स्विट्जरल्यान्डको युनिभर्सिटी अफ लुसानेका इन्गो स्ट्राउचले टाइम्स अफ इन्डियालाई बताए ।

शार्लोटले उनलाई तमिल ब्राह्मी शिलालेखहरू बुझ्न मद्दत गरिन् । कोरान नाम राजा वा नेतासँग सम्बन्धित छ । एक ठाउँमा यो नाम सिकै कोरान भनेर पनि लेखिएको थियो, जसको अर्थ उनी आए र देखे भन्ने हुन्छ ।

यो भ्याली अफ किंग्समा भेटिएका ग्रीक शिलालेखहरूको शैलीसँग मिल्दोजुल्दो देखिन्छ । ती व्यक्तिले ग्रीक शिलालेखहरू पढेको र उनीहरूबाट प्रेरित भएको हुन सक्ने देखाउँछ भनी शार्लोटले टाइम्सलाई बताइन् ।

चिहान १ मा रहेको अर्को शिलालेखमा कोपन वरत कान्तन लेखिएको छ जसको अर्थ कोपन आए र देखे भन्ने हुन्छ । चिहान ८ मा चातन लेखिएको छ जुन प्रारम्भिक तमिल–ब्राह्मी शिलालेखहरूमा पाइने एक सामान्य दक्षिण भारतीय नाम हो । यीमध्ये केही नामहरू लाल सागरको बन्दरगाह बेरेनिकेको उत्खननमा पनि भेटिएका थिए ।

स्ट्राउच र श्मिडद्वारा भ्याली अफ किंग्समा फेला पारिएका ३० वटा शिलालेखमध्ये २० वटा तमिल भाषामा छन् । बाँकी संस्कृत, प्राकृत र गान्धारी–खरोष्ठी जस्ता अन्य भारतीय भाषाहरूमा छन् जसले रोमन कालमा गुजरात र महाराष्ट्र लगायत उत्तर–पश्चिमी र पश्चिमी भारतका व्यापारीहरूले पनि यी ठाउँहरूको भ्रमण गर्ने गरेको संकेत गर्छ ।

एउटा संस्कृत लेखमा एक क्षहरात राजाका दूत यहाँ आए भनी उल्लेख गरिएको छ । यो महत्त्वपूर्ण छ किनकि पहिलो शताब्दीमा पश्चिमी भारतमा क्षहरात वंशले शासन गरेको थियो ।

‘भ्याली अफ किंग्सका चिहानहरूमा ग्रीक भाषामा लेखिएका २ हजारभन्दा बढी ग्राफिटी र शिलालेखहरू छन् । ती भूमध्यसागरीय क्षेत्रका सबै भागहरूबाट आएका थिए । तर, भारतीय व्यापारीहरू जति टाढाबाट कोही पनि आएका थिएनन्,’ शार्लोटले भनिन् ।

यी शिलालेखहरूलाई अभिलेखीकरण गर्ने विद्वान जुल्स बेलेटले तमिल ब्राह्मी शिलालेखहरूलाई एसियाली क्षेत्रको ग्राफिटीका रूपमा उल्लेख गरेका छन् ।

‘टोलेमी र प्लिनीका लेखहरू मार्फत हामीलाई थाहा छ कि रोमनहरू व्यापारका लागि भारत आएका थिए । तर, यो एकतर्फी व्यापार थियो कि दुईतर्फी भन्ने स्पष्ट थिएन । यस नयाँ प्रमाणले रोमन कालमा दुईतर्फी व्यापार भएको पुष्टि गर्छ,’ वरिष्ठ पुरालेखविद् वाई सुब्बारायलुले टाइम्सलाई बताए ।

तान्जाभुरस्थित तमिल विश्वविद्यालयको समुद्री इतिहास र समुद्री पुरातत्त्व विभागका पुरातत्त्वविद् वी. सेलवाकुमारले नाइल नदीको उपत्यका र लाल सागर रोम र प्राचीन भारतबीचको मिलनविन्दु भएको बताए । ‘त्यसैले तमिल व्यापारी समुदायले त्यहाँ भ्रमण गरेका हुन सक्छन् । व्यापारीहरूले त्यस क्षेत्रको अन्वेषण पनि गरिरहेका थिए,’ उनले भने ।

तमिलनाडु राज्यको पुरातत्त्व विभागका शैक्षिक तथा अनुसन्धान सल्लाहकार प्रोफेसर के. राजनले भने, ‘यो एक महत्त्वपूर्ण प्रमाण हो किनकि यसले रोमन कालमा तमिल व्यापारीहरू प्राचीन इजिप्टको भित्री भागसम्म पुगेका थिए भन्ने तथ्यलाई प्रकाशमा ल्याएको छ ।’