
काठमाडौं । फागुनका लागि पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । बैंकहरूमा निक्षेप लगातार बढिरहेको छ । तर, कर्जाको मागमा सुधार हुन नसक्दा अधिक तरलताको चाप लगातार बढ्दै जाँदा बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर लगातार घटाउँदै लगेका छन् ।
२० वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत नै ४.५७ प्रतिशतमा झरेको छ । माघमा यस्तो औसत ४.६८ प्रतिशत रहेकोमा माघको तुलनामा फागुनमा ०.११ प्रतिशत बिन्दुले घटेको हो ।
२० मध्ये ९ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । बाँकीले यथावत राखेका हुन् । वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत नै ४.५७ प्रतिशतमा सीमित भएको छ ।
नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्न स्थायी निक्षेप सुविधाको लागि बचतको न्यूनतम ब्याजदर, ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरभन्दा कम दिने बैंकले उक्त सुविधा नपाउने व्यवस्था गरेको छ । सोही कारण बैंकहरूले बचतको ब्याजदर घटाउन पाएका छैनन् । सोही कारण कोषको लागत कम गर्न मुद्दती निक्षेपको ब्याजदर नै घटाउँदै लगेका हुन् ।
राष्ट्र बैंकले १ वर्ष अवधिको २ खर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ मार्फत तरलता प्रशोचन गर्दा पनि ब्याजदर निरन्तर घट्दै गएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदरबीचको अन्तर १ प्रतिशत बिन्दु कायम गर्नुपर्ने व्यवस्था खारेज गरेपछि संस्थागत निक्षेपको ब्याजदरको क्याप हटेको छ । जसले गर्दा बैंकहरूलाई व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउने बाटो खुलेको हो ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि निजी क्षेत्रको मनोबल झनै कमजोर भएको छ । जसले गर्दा ३ वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलता बिस्तारै सुधार हुने अपेक्षा गरिएकामा तत्कालका लागि मनोबल कमजोर भएकाले उत्साह नदेखिँदा बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका हुन् । गत असार–साउनतिर कर्जाको मागमा सुधार हुने अवस्था देखिए पनि जेनजी मुभमेन्टपछि फेरि कर्जाको मागमा सुस्तता देखिएको हो।
निक्षेप लगातार बढेको तर कर्जाको माग नबढेको र तत्काल बढ्ने अवस्था नदेखिएपछि बैंकहरूले माघको लागि प्रकाशन गरेको ब्याजदर थप घटाएका हुन् । बैंकहरूसँग साढे १२ खर्बभन्दा बढी लगानीयोग्य स्रोत छ भने करिब ९ खर्ब रुपैयाँ अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रशोचन गरेको अवस्था छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले अपेक्षा गरेअनुसार कर्जा विस्तार भए पनि करिब ६ खर्ब मात्रै कर्जा विस्तार हुन सक्छ । तर, त्यसभन्दा बढी तरलता केन्द्रीय बैंकले खिचेको अवस्था भएकोले कर्जाको मागमा अपेक्षित सुधार नभएसम्म ब्याजदर बढाउनुभन्दा लागत घटाउनुपर्ने अवस्था रहेको बैंकरहरू बताउँछन् ।
आर्थिक वर्षको ६ महिना सकिँदा डेढ खर्ब मात्रै कर्जा विस्तार भएको छ । आर्थिक वर्षको ६ महिना सकिँदा निजी क्षेत्रको कर्जा विस्तार ४ प्रतिशत पनि पुग्न सकेको छैन । जबकी चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै निजी क्षेत्रको कर्जा १२ प्रतिशतले विस्तार हुने अपेक्षा गरिएको थियो । तर, त्यसको आधा पनि कर्जा विस्तार गर्न गाह्रो हुने अवस्था देखिएको छ ।
२० मध्ये ५ वटा वाणिज्य बैंकहरूको मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत वा सोभन्दा माथि रहेको छ । धेरैजसो बैंकले ५ वा १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्रै अधिकतम ब्याजदर प्रस्ताव गरेका छन् । जसको औसत ब्याजदर नै ४.५७ प्रतिशतमा झरेको हो । ६ महिना वा १ वर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशतभन्दा पनि तल छ । संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने बैंकहरूले करिब ३ प्रतिशतमा झारेका छन् ।
गभर्नर डा विश्वनाथ पौडेलले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिमार्फत नीतिगत दरहरू घटाएका थिए । उनले विशेष गरी ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर ०.२५ प्रतिशत बिन्दुले घटाएर २.७५ प्रतिशत बनाएका थिए । जसले बैंकहरूलाई ब्याजदर घटाउन थप प्रोत्साहन गरेको हो । उनले नीतिगत दर र बैंकदर समेत घटाएका थिए ।
हाल सञ्चालनमा रहेका २० मध्ये नेपाल बैंकले मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.१ प्रतिशत प्रस्ताव गरेको छ । हिमालयन, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर फागुनका लागि ५ प्रतिशत प्रस्ताव गरेका छन् । माघमा पनि ५ प्रतिशत रहेका यी बैंकले फागुनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका हुन् ।
ग्लोबल आईएमई बैंकले माघमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशत रहेकोमा फागुनमा घटाएर ४.७५ प्रतिशत बनाएको छ । त्यस्तै प्रभु, नबिल र माछापुच्छ्रे बैंकले भने फागुनमा पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५५ प्रतिशत नै प्रकाशित गरेका छन् । यी तीनवटै बैंकले माघमा पनि ४.५५ प्रतिशत नै प्रकाशित गरेका थिए ।
सानिमा बैंकले भने ४.५५ प्रतिशतबाट फागुनमा ०.०५ प्रतिशत बिन्दुले घटाएर ४.५० प्रतिशत ब्याजदर दिने भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर माघमा ५ प्रतिशत दिएकोमा फागुनमा ४.५ प्रतिशतमा घटाएको छ । लक्ष्मी सन्राइज र सिटिजन्स बैंकले फागुनमा पनि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.५ प्रतिशत नै कायम राखेका छन् । दुवै बैंकले माघमा पनि ४.५ प्रतिशत नै प्रकाशित गरेका थिए । कुमारी बैंकले ४.४३ प्रतिशत नै यथावत राखेको छ ।
सिद्धार्थ बैंकले माघमा ४.५५ प्रतिशत दिएको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर फागुनमा ४.२५ प्रतिशतमा घटाएको छ । त्यस्तै एभरेष्ट बैंकले ४.४ प्रतिशतबाट ०.१५ प्रतिशत बिन्दुले घटाएर ४.२५ प्रतिशत ब्याजदर बनाएको हो । नेपाल एसबिआई, प्राइम, स्ट्यान्डर्ड चार्टर्ड र कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर फागुनमा ४.२५ प्रतिशत प्रकाशित गरेका हुन् ।
नेपाल एसबिआई बैंक र प्राइम कमर्सियल बैंकले ४.४ प्रतिशतबाट ०.१५ प्रतिशत बिन्दुले घटाउँदा, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.३६ प्रतिशतबाट ०.११ प्रतिशत बिन्दुले घटाएको हो । कृषि विकास बैंकले पनि ४.४ प्रतिशतबाट ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको हो ।
व्यक्तिगत मुद्दती निक्षेपको मात्रै नभएर संस्थागत मुद्दती निक्षेपको पनि औसत ब्याजदर घटेको छ ।









प्रतिक्रिया